बिर्तामोड।
बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्वरको संयुक्त वडा कार्यालयमा बम बिष्फोट गराएको आशंकामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार अर्जुनधारा नगरपालिका–३ निवासी ५० वर्षीय प्रेम चापागाँई विष्फोटको आरोपमा पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीको विशेष टोलीले पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेका चापागाँई नेपाल कम्युनिष्ट पार्टी नेत्रबिक्रम चन्द विप्लव समूहका भएको बताइएको छ । वडा कार्यालयमा अज्ञात समूहले गत साउन २७ गते राति बम बिष्फोट गराएको थियो ।
बिप्लव समूहले भारतीयलाई नागरिकता बेचेको आरोप लगाउँदै वडाध्यक्ष लगायतका जनप्रतिनिधिलाई कार्वाही स्वरुप बम विस्फोट गरेको दावी गरेको थियो ।
योसँगै जिल्ला प्रहरी कार्यालय झापाले विप्लव समूहका हालसम्म १८ जना नेता तथा कार्यकता पक्राउ गरेको प्रहरी नायव उपरीक्षक श्रेठले बताए ।































