बिर्तामोड।
अर्जुनधारा नगरपालिकामा रहेको शंकराचार्यपीठ बेद बेदाङ्ग संस्कृत पाठशाला साधुटारका बिद्यार्थीले घर–घरमा पुगेर रक्षाबन्धन बाँधेका छन् ।
धर्म, संस्कार र संस्कृतिको संरक्षण गरिनुपर्ने सन्देशसहित विद्यार्थीले घर–घरमा पुगेर रक्षाबन्धन बाँधेका हुन् । श्रावण शुक्ल पूर्णिमाका दिन संस्कृत बिद्यालयका विद्यार्थीले हरेक वर्ष यसरी रक्षाबन्धन बाँध्ने गरेका छन् ।
१२५ जना विद्यार्थी अध्ययनरत् सो पीठका बिद्यार्थीले अर्जुनधारा नगरपालिका, वुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिकाका बजार तथा घर–घरमा गएर रक्षा बन्धन बाँधेका हुन् । श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व विहीवार पवित्र नदीमा स्नान गरी नयाँ यज्ञोपवित(जनै) धारण र डोरो बाँध्ने प्रचलन छ । सोही अनुसार बिद्यार्थीले रक्षा बन्धन बाँधेको बताइएको छ ।
रक्षाबन्धन बाँध्दै हिँडेका पीठका बिद्यार्थी उमेश रिजालले आफूले अहिले सो पीठमा वेदाचार्यको शिक्षा लिइरहेको र पछिल्लो समय युवामा जनै लगाउने प्रचलन हराउँदै गएकाले जनै लगाउन र रक्षाबन्धन गर्दाको फाइदा बताउन यसरी घर–घरमै गएर रक्षाबन्धन गरेको बताए । उनले भने– मसहित अहिले तीन जना अतिथि सदन लाइनमा रक्षाबन्धन गरिरहेका छौं । बाँकी अरु साथीहरु पनि यसरी नै संस्कार, संस्कृतिको महत्व दर्शाउँदै रक्षा बन्धनमा निस्कनु भएको छ ।
लक्ष्मीनारायण मावि धरमपुरमा कक्षा सातमा अध्ययन गर्दागर्दै संस्कृत शिक्षा लिन साधुटार आएका उनले साधुटारमा तीन वर्षसम्म संस्कृत शिक्षा लिएको र अहिले वेद पाठ गरिरहेको बताए । उनीसंगै रक्षावन्धनका लागि आएका इटहरी–४ सुनसरी घर भएका निश्चल भट्टराईले आफू पनि एक वर्षदेखि शंकराचार्य पीठमा संस्कृत शिक्षा लिएको बताए ।
गुरुहरुको आज्ञा अनुसार आफूहरुले संस्कार र संस्कृति संरक्षणका लागि घर–घरमा रक्षाबन्धन गरेको बताएका छन् । उनी पनि चामुण्डा भगवती इङ्लिस स्कूलमा कक्षा ५मा अध्ययन गर्दागर्दै संस्कृत श्क्षिा लिन साधुटार आएका हुन् ।
विराटनगर–१ घर भएका रेवन रेग्मी पनि विहीवार गुरु पूर्णिमाका दिन डोरा बाँध्न घर–घरमा गए । उनले पनि पनि समता एकाडेमी स्कूलमा कक्षा ६मा पढ्दा पढ्दै संस्कृत शिक्षा लिन थालेको बताएका छन् । उनले अहिले रुद्रीको शिक्षा लिइरहेको बताए ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा बिधान तयार गरी जेले जसले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन शुरु गरिएको हो ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षामा चलमा चल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने बैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो आज वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिएका छन् । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिएको छ । आजको दिन सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।
वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रुपमा मानिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा लिइन्छ ।
आजका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाने गरिन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकालीभित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन मनाइएको छ । यसबाट दिदी बहिनी र दाजुभाइकाबीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
यस अवसरमा काठमाडाँैको पशुपतिलगायत शिवालय, उपत्यकाको उत्तर पूर्वी भेगस्थित मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डहरुमा मेला लागेको छ ।
नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुन्हु पुन्ही भनी मनाएका छन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्नेतर्क पनि एकथरी संस्कृतिविद्को छ । आजका दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गरेका छन् ।
बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्माबलम्वीले भने आजको दिनलाई भगवान् गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन् । बौद्ध धर्मग्रन्थ ललितबिस्तरमा यससम्बन्धी विस्तृतरुपमा ब्याख्या गरिएको छ । यसैका कारण स्वयम्भूमा पनि विशेष मेला लागेको छ ।