मानव बेचबिखन नियन्त्रण भएन: यौनदासी बनाउन बेचबिखन, वेश्याबृत्तिका लागि मोवाइल एप्स !

0
881

झापा,

जघन्य सामाजिक अपराधका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकार र विभिन्न गैरसरकारी संघ–संस्थाले सक्रियता बढाए पनि नियन्त्रण हुन भने सकेको छैन ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ लगायत ऐन÷कानून भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको सरोकारवालाहरुले बताएका हुन् । सरकारले विभिन्न खाडी मुलुकमा महिलालाई घरेलु कामदारका रुपमा पठाउन रोक लगाए पनि भारतको बाटो हुँदै मानव तस्करीको क्रम झन् बढ्दै गएको छ ।

यसरी गैरकानूनी रुपमा बैदेशिक रोजगारीमा गएका धेरै नेपाली महिला बिचल्लीमा परेका छन् । पछिल्लो समय गैरकानूनी रुपमा विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई विदेशमा लगी बिचल्ली बनाउने गिरोहको सक्रियता पनि बढ्दै गएको छ । । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारेर झुक्याई तथा त्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरीत जबरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचबिखन भनिएको छ ।

महिला मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५÷०७६मा भारत, म्यान्मा, कुबेत, साउदी अरब, कायरो, कोलम्बो, थाइल्याण्डलगायत नेपालस्थित राजदूतावास र महावाणिज्य दूतावासबाट एक हजार ९९८ नेपालीलाई स्वदेश फर्काइएको थियो । त्यसैगरी पुनःस्थापना केन्द्रबाट एक हजार छ सय ३४ पीडितले सेवा प्राप्त गरेका थिए । सोे अवधिमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध प्रहरीमा ३०५ मुद्दा दर्ता भएको उक्त मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । महिला तथा बालबालिका बेचबिखनविरुद्धको अभियानमा काम गर्ने विभिन्न संघ–संस्थाका अध्ययन प्रतिवेदन अवलोकन गर्दा भारत हुँदै विभिन्न बहानामा तेस्रो मुलुकमा नेपाली श्रमिक बेचबिखन तथा ओसारपसार हुने क्रम बढ्दै गएको पाइन्छ ।

अध्ययन अनुसार भारत हुँदै तेस्रो मुलुक वैदेशिक रोजगारीका लागि जाने पुरुषभन्दा पनि महिला श्रमिकको सङ्ख्या बढी छ । श्रमको बढ्दो मागसँगै विश्वमा मानव बेचबिखन तथा ओसारपसार पनि झन्–झन् बढ्दै गएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले विश्वभरि दुई करोड ९० लाख मानिस दासका रुपमा रहेको अनुमान गरेको छ । तीमध्ये ९५ लाख पुरुष र बालक तथा एक करोड १४ लाख महिला र बालिका रहेको बताइएको छ । मन्त्रालयका अनुसार आर्थिक र सामाजिक रुपमा बहिष्कृत, विद्यालयबाट बाहिर रहेका, अशिक्षित, अन्य व्यक्तिको साथ नपाएका (एकल), बसाइ स्थानान्तरण गरेका १८ वर्ष पुगेका किशोरी तथा महिला सबैभन्दा बढी बेचबिखनको जोखिममा छन् ।

मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै जानाको कारण हेर्दा गरिबी, महिला हिंसा, पारिवारिक बेमेल, देशमा रहेको बेरोजगारी समस्या र चेतनाको अभाव हो । एटविनको एक अध्ययन अनुसार ६० प्रतिशत महिला तथा पुरुष बेरोजगारका कारण र २८ प्रतिशत गरीबीको रेखामुनि रहेका महिला तथा पुरुष मानव तस्करी तथा श्रम शोषणमा परेका छन् । ऐन र नियमावलीले यौन शोषण, श्रम शोषण तथा मानव अङ्ग तस्करी समेतलाई जघन्य सामाजिक अपराधका रुपमा परिभाषित गरेको छ । वर्तमान समयमा बाध्यात्मक तथा बालविवाहदेखि बाल श्रम, बाल दासत्व, धर्मपुत्रपुत्रीका रुपमा शोषण, प्रक्रिया पूरा नगरी गैरकानूनी आप्रवासन, बँधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण आदि विभिन्न उद्देश्यका लागि मानव बेचबिखन गरिन्छ ।

वर्तमान समयमा मानव बेचबिखन तथा ओसारपसारको कार्य हातहतियार लागूऔषधको अवैध कारोवार सरह अन्तरदेशीय सङ्गठित अपराधका रुपमा पनि फैलिँदै गएको पाउन सकिन्छ । नेपालको संविधानको भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३८ मा महिलाको हक र धारा २९मा शोषणविरुद्धको हकलाई सुनिश्चित गर्दै मानिसलाई बेचबिखन गर्न, दास तथा बाँधा बनाउन पाइने छैन भनी मानव बेचबिखनविरुद्धको कार्यलाई मौलिक हकका रुपमा समावेश गरिएको छ ।

यसैबीच भदौ २० गते सरकार र सरोकार भएका संघ–संस्थाले मानव बेचबिखन तथा ओसारप्रसारबिरुद्धको १३औंँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । ‘सरकारको प्रतिबद्धताः मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ देशैभरि विभिन्न कार्यक्रम गरी सो दिवस मनाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा सन् २००२मा सम्पन्न सार्कको ११औँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि २००२ भदौ २० गते तत्कालीन व्यवस्थापिका– संसद्बाट अनुमोदन भएको थियो । सोही दिनको स्मरणमा प्रत्येक वर्ष भदौ २० गते मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउने कार्यको शुभारम्भ भएको हो ।

झापामा सचेतना

मित्रराष्ट्रको भौगोलिक अवस्था, त्यहाँका मानिसहरुको रहनसहन, बोलीचाली, अनुहार, भेषभुषा नेपालीको भन्दा फरक नपरेका कारण पूर्वी नाका काँकरभिट्टा मानव बेचविचन तथा ओसारका लागि गिरोहले रोजेको हुन सक्ने १ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आशंका गरेका छन् ।

विहीबार मानव बेचबिखन तथा ओसारप्रसारविरुद्घको १३औँ राष्ट्रिय दिवसका अवसरमा काँकरभिट्टामा आयोजित विशेष कार्यक्रममा बोल्दैं प्रहरी नायव महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताएका हुन् । पूर्वी नाका अन्तर्राष्ट्रिय सीमाना भएका कारण निक्कै संवेदनशील भएकाले यस्ता नाकाहरुबाट मानव बेचबिखन तथा ओसार पसारका घटना अत्यधिक हुने भएकाले काँकरभिट्टामा कार्यक्रम आयोजना गर्नुको कारण खुलाए ।

मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले बैदेशिक रोजगारको नाममा आन्तरिक तथा बाह्य रुपमा बेचबिखन, आश्वासन, प्रलोभनमा परेर झुठो विवाहको बहानामा समेत चेलीबेटी बेचबिखन हुने गरेकाले सवैजना त्यसतर्फ चनाखो हुनुपर्ने बताइन् ।

माइती नेपालक पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बेचबिखनका प्रमुख कारणहरु अशिक्षा र जनचेतनाको कमी, बेरोजगारी, दलालहरुको आर्थिक प्रलोभन, असुरक्षा र हिंसाको स्थिति, बढ्दो शहरीकरण र बसाइँ–सराइँ, छोरा–छोरीबीचको बिभेद, गरिवी, आर्थिक बिपन्नता र चाँडो धनी बन्ने वा सुखी जीवन बिताउने महत्वकांक्षा, पश्चिमी खुल्ला छाडा संस्कृतिको प्रभाव, अरुको देखासेखीका कारण कामको खोजीमा महिला बिदेशिने गरेको बताए ।

कार्यक्रममा झापा जिल्लाका न्यायाधिवक्ता केशव पन्त, मेचीनगर–६का वडाध्यक्ष ललितबहादुर तामाङ, झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौला, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्कीलगायतले बोलेका थिए । इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा भेला शुरु भएको र्याली काँकरभिट्टा बजार परिक्रमा गरी पुनः सोही स्थानमा आएर सभामा परिणत भएको थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने मेची सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेलले स्वागत गरेका थिए ।

यता इलाका प्रहरी कार्यालय अनारमनी र आदर्श सामुदायिक प्रहरी केन्द्र बिर्तामोडको आयोजनामा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । मानव बेचविखन तथा ओसारपसार बिरुद्वको १३ राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा ‘सरकारको प्रतिबद्वताः मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यवद्वता’ भन्ने नारासहित साताव्यापी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा इप्रका अनारमनीका डीएसपी मोहन थापाले मानव बेचबिखन, ओसारपसार तथा बालश्रमका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । यौनदासी, श्रमशोषण, व्यवसायिक यौन शोषण र मानव अङ्ग झिक्नका लागि मानव बेचबिखन हुने डीएसपी थापाले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ । बिश्वमा ६ लाखदेखि ८ लाखसम्म मानव बेचबिखनको शिकार हुने गरेको कार्यपत्रमा उल्लेख छ ।

बेचबिखनमा पर्नेमा नेपालमा ८० प्रतिशत महिला र बालबालिका रहेको तथा ८ सय ११ जना अशिक्षित महिला १ हजार २ सय ९ मध्ये ३ सय ८५ जना १९ देखि २५ बर्षका रहेको बताइएको छ । आर्थिक बिपन्नता, अशिक्षा र बेरोजगारी, बसार्इँ सराइ, बढी नाफाको व्यापार, खुल्ला सीमाना, विश्वव्यापीकरण, छिटो पैसा कमाउने माध्यम, अवैध बैदेशिक रोजगार र चेतनाको कमीका कारण मानव बेचबिखन हुने उनको कार्यपत्रमा उल्लेख छ ।

झापामा समेत होटल, रेष्टुरेन्ट, गेष्टहाउस, निजी कोठा, फ्ल्याटमा महिला तथा बालबालिका यौनव्यबसायमा संलग्न रहेको तथा मुख्य ग्राहक भारतीय रहने गरेको पाइएको डीएसपी थापाले बताए । प्रविधिको बिस्तारसँगै झापामा बेश्यावृत्तिको लागि मोवाइल एप्स प्रयोग भइरहेको उनले बताए ।

आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष डा. प्रल्हाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष भैरव खड्का, सल्लाहकार हर्कलाल गिरी, जनप्रतिनिधि लक्ष्मी राई, बसपार्क व्यवस्थापन समितिका अध्यक्ष धनराज योङ्हाङ, भोला उप्रेती, पर्शुराम सिटौला लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here