पार्थ मण्डल/ भद्रपुर।
भद्रपुरको पशु हाट निर्माणाधीन ज्येष्ठ नागरिक स्वास्थ्य भवनभित्र लाग्दै आइरहेको पाइएको छ । ठेक्कामार्फत कर मात्रै सङ्कलन गर्ने भद्रपुर नगरपालिका कार्यालयले पशु हाटलाई व्यवस्थित गर्न नसक्दा पशु बजार निर्माणाधीन स्वास्थ्य भवन र त्यस आसपासका स्थानीयको खेतीयोग्य जमिनमा लाग्दै आइरहेको हो ।
भद्रपुर–६ भानुनगरस्थित नगरपालिकाकै स्वामित्वमा रहेको जमिनमा बर्षौदेखि लाग्दै आइरहेको पशु हाटलाई त्यहाँबाट नगरपालिकाले आर्थिक वर्ष २०७१÷०७२मा सारेको हो । नगरपालिकाको नयाँ कार्यालय भवन बन्न लागेपछि पशु हाटलाई त्यहाँबाट सारेर नेपाल टेलिकम कार्यालय भद्रपुरको पूर्वपट्टि निर्माणाधीन स्वास्थ्य चौकी नजिकको खाली जमिनमा ल्याइएको थियो ।
जनप्रतिनिधि आउनु अघि नै सारिएको पशु हाट अहिलेसम्म व्यवस्थित हुन सकेको छैन । पशु हाट व्यवस्थित नहुँदा गाइबस्तु निर्माणाधीन स्वास्थ्य चौकीभित्र वा व्यक्तिको निजी जमिनमा राखेर बिक्री वितरण गर्नुपर्ने ठेकेदार व्यवसायीको बाध्यता छ । विगत चार वर्षदेखि खेतीयोग्य जमिन र कालोपत्रे सडक नै ओगट्ने गरी लाग्दै आएको पशु हाट बजार व्यवस्थित नहुँदा समस्या भइरहेको ठेकेदार सञ्जीव पौडेलले बताए । ‘हिउँदमा त पशु बजार लगाउन समस्या छैन, तर बर्खाको बेला गाईबस्तु राख्नै समस्या हुन्छ’– पौडेलले भने– ‘गाईबस्तु राख्ने ठाउँमा खेतभरि पानी जम्छ, दलदलमा गाडी फस्छ, अनि गाईबस्तुलाई सडक वा निर्माणाधीन स्वास्थ्य भवनभित्र राख्नुपर्ने हुन्छ ।’
यस्तो समस्याकाबीच पनि नगरपालिकाले पशु हाट बजारको ठेक्का लिँदै आइरहेको उनले गुनासो गरे । ‘पशु हाट बजारलाई अन्यत्र सारेर व्यवस्थित बनाउन नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई भन्दै आइरहेका छौ, अहिलेसम्म सुनवाई भएन’– उनले थपे । गाईबस्तु राख्न समस्या भएको जानकारी गराएपछि नगरपालिकाले दुई÷चार ट्याक्टर गिट्टी बालुवा ल्याएर हालिदिने गरेको उनको भनाइ छ ।
अहिले बजार लाग्दै आइरहेको केही जमिन मात्र नगरपालिकाको पर्छ । पशु हाट बजारलाई फराकिलो जमिन चाहिन्छ । साँघुरो जमिनमा गाईबस्तु खुल्ला छाड्दा खेतीयोग्य जमिनको अन्नबाली खाइदिने समस्याका कारण तीन जनाको खेतीयोग्य जमिन भाडा लिएर बजार लगाइरहेको अर्का व्यवसायी विकास गुप्ताले बताए । ‘स्थानीय महेश कामती, सुरज कामती र स्व. हनुमान कामतीको जमिन भाडा लिएर बजार लगाउनुपर्ने बाध्यता छ’– उनले भने ।’
चालू आर्थिक वर्षमा नगरपालिकाले चौपाया हाट बजार सेवा शुल्कको ठेक्का २९ लाख १२ हजार १२५ रुपैयाँमा लगाएको छ । सो ठेक्का जीविका सप्लायर्सले लिएको नगरपालिका राजश्व शाखाका प्रमुख सुशील कर्णले जानकारी दिए । आर्थिक वर्ष २०७५÷०७६मा जीविका सप्लायर्सले नै २९ लाख ५ हजार १२५ रुपैयाँमा ठेक्का लिएको थियो ।
आर्थिक वर्ष २०७४÷०७५मा लक्ष्मी देवी डाँगीले चौपाया हाट बजार सेवा शुल्कको ठेक्का १५ लाख २८ हजार ५०५ सय रुपैयाँमा लिएका थिए । नगरपालिकाले वार्षिक रूपमा चौपाया हाट बजारबाट लाखौँ कर संकलन गर्दै आए पनि यसको व्यवस्थापनमा अहिलेसम्म कुनै चासो देखाएको छैन ।
पशु हाट बजार सार्न नगरपालिकाले रकम छुट्यायो
नगरपालिकाले चालू आर्थिक २०७६÷०७७को बजेट, नीति तथा कार्यक्रममा पशु हाट बजारलाई व्यवस्थापन गर्न २० लाख रुपैयाँ बजेट भौतिक पूर्वाधार शीर्षकको योजनामा राखेको पाइएको छ । योजनामा राखेको पशु हाट बजार कहिले व्यवस्थापन हुने त्यस विषयमा अझै अनिश्चित छ ।
नगरपालिकाले मंंसीरभित्र पशु हाट बजारलाई भद्रपुर– ६ स्थित जगदम्बा टी इस्टेट नजिकै रहेको आफ्नो नम्बरी जमिनमा सार्ने कुरा आएको पशु हाट बजारका ठेकेदार व्यवसायी सञ्जीव पौडेलले जानकारी दिए । ‘नगरपालिकाले पशु बजारलाई त्यहाँ सारेर मात्र हुँदैन’– उनले भने– ‘त्यसका लागि गाईबस्तु राख्ने संरचना बनाउनु पर्छ, त्यहाँ अरूको पनि खेतीयोग्य जमिन छ, गाईबस्तुले त्यहाँ गएर अन्नबाली खाइदिए भने कसले जिम्मेवारी लिन्छ ?’
यता नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले अहिले भएको पशु हाट बजार अस्थायी रूपमा रहेको बताए । नगरपालिकाले जमिन खोज्ने काम गरिरहेको बताउँदै उनले भने– ‘भद्रपुर ६ मै राष्ट्रिय आवास कम्पनीको जमिन रहेकोले त्यस ठाउँमा अहिलेका पशु हाट बजार सार्ने योजनामा छांै ।’
‘आवास कम्पनीलाई नगरपालिकाले पत्राचार गरिसकेको र नगरपालिकाको स्वामित्वमा जमिन आउनासाथ पशु हाट बजारको व्यवस्थापन हुन्छ’– उनले भने । उनका अनुसार यसबर्ष पशु हाट बजारका लागि नगरपालिकाले बजेट समेत छुट्याइसकेको छ । ‘जमिन प्राप्त भए लगत्तै आवश्यक पूर्वाधार निर्माण गरी व्यवस्थित पशु बजार बनाउँछौ’– उनले थपे । राष्ट्रिय आवास कम्पनीले जमिन दिने कि नदिने भन्नेमा अहिलेसम्म टुङ्गो नलागी सकेको उनको भनाइ छ ।
अधुरो स्वास्थ्य भवन निर्माणको ठेक्का लाग्यो
पशु हाट बजार लाग्दै आइरहेको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा भवन बल्ल बन्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६को बजे, नीति, योजना तथा कार्यक्रममै विगत ५ वर्षदेखि अधुरो रहेको ज्येष्ठ नागरिक भवन निर्माणका लागि अनुमानित २० लाख रुपैयाँ बजेट छुट्याएको थियो । नगरपालिकाले आर्थिक वर्ष सकिन लाग्दा २०७६ असार ३ गते ठेक्का लगाएको हो ।
दोस्रो चरणको भवन निर्माणका लागि नगरपालिकाले भ्याटसहित ४५ लाख रुपैयाँ तोकेको ठेक्का रकममा गोपी दुर्गा कन्स्ट्रक्सन प्रालि काठमाडौँले ३७ प्रतिशत बिलोमा ठेक्का पारेको नगरपालिका इञ्जिनियर योगेन्द्र रञ्जितकारले बताए ।