ठगी गर्ने समूहदेखि होशियार हुन पञ्चाङ्ग निर्णायक समितिको आह्वान

0
539

काठमाडौँ,

नेपाल पञ्चाङ्ग निर्णायक समितिले शास्त्रानुसार अशुद्ध समयमा ठूला यज्ञ गर्ने नाममा सर्वसाधारण जनताबाट पैसा उठाएर धर्मका नाममा ठगी गर्ने व्यक्ति वा समूहदेखि होशियार हुन सार्वजनिक आह्वान गरेको छ ।

भदौ २८ गतेदेखि असोज ११ गतेसम्म पितृपक्षमा काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर, गुल्मीको रिडी, लमजुङलगायतका स्थानमा गर्न लागिएको भागवत महायज्ञ शास्त्रविरुद्ध रहेकाले त्यसका नाममा यजमान बन भन्दै पैसा उठाइरहेकाले सचेत बन्न समितिले सबैमा अनुरोध गरेको हो ।

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले विज्ञप्ति जारी गरी आश्विन कृष्णपक्ष अर्थात् पितृपक्षमा पितृ कर्मबाहेक देवकर्म गर्नै नहुने शास्त्रीय वचनको बेवास्ता गरी केही नजान्ने साधारण जनतालई तान्ने उद्देश्यले ठूला विज्ञापन गरी भ्रम फैल्याउन खोजिएको उल्लेख छ । पितृसूक्तबाहेक पुराण आदि पाठ गर्नु नहुने पितृपक्षको समयमा गोकर्णमा २१६ आवृत्ति भागवत पाठ गरिने र २१ करोड बत्ती बालेर देवतालाई समर्पण गरिने भनी सञ्चारमाध्यममार्फत प्रचारप्रसार भइरहेको छ ।

शास्त्र निषिद्ध समयमा गर्न लागिएको यो कार्यक्रममा सहभागी भए २१ कुलका पितृ उद्धार हुने भनी झूटको खेती भइरहेको समितिले जनाएको छ । कुनै कामना राखेर गरिने कर्म शास्त्रले निषेध गरेका महीना, पक्ष, तिथि, बार, नक्षत्र, आश्विन कृष्ण (पितृ) पक्ष, मलमास र विश्वघस्र (१३ दिनको) पक्ष, गुरु एवं शुक्र अस्ताएको र यी दुवै ग्रह बालक वा वृद्ध भएको अवस्थामा पनि कुनै कामना राखेर गरिने (काम्य) कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो बेलामा दैनिक गर्नुपर्ने नित्य र अकस्मात पर्न आउने बच्चा जन्मिएको, मानिस मरेको, मृतकको काजक्रिया, जात कर्म, नामकरण, अन्नप्राशन, ग्रहण स्नान आदि नैमित्तिक कर्ममात्र गर्नुहुन्छ । प्रत्येक वर्ष मनाइने चाडबाड, व्रत पनि नित्य कर्ममै पर्ने भएकाले गर्न भने हुने विज्ञप्तिमा उल्लेख छ ।

“वैदिक संस्कृति एवं राष्ट्रिय चरित्र ध्वस्त पार्ने कुत्सित उद्देश्य बोकेका धर्मध्वज लिङ्ग वृत्ति लिएका अर्थ लोलुप केही व्यक्तिले आयोजना गर्न लागेको उक्त कार्यक्रम सर्वथा शास्त्रविरुद्ध छ”, समिति अध्यक्ष गौतमले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ । यस्ता कार्यक्रमले सनातन धर्म, कर्म, संस्कार, संस्कृतिमा विकृति ल्याउने, राष्ट्र, राष्ट्रियता र एकताको विशुद्ध भावनामा कमी ल्याउने भएकाले पनि सचेत रहन समितिले सबैलाई आह्वान गरेको छ ।

वेद धर्म शास्त्रादि ग्रन्थको उपेक्षा गरी अशुद्ध समयमा गरे गराएको कर्मले कामना गरेबमोजिमको फल नदिने भएकाले सबै यजमानलाई सचेत हुन पनि समितिले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । यजमानलाई फल प्राप्त नहुने निन्दनीय कर्म गराएर दान लिने एवं द्रव्य आर्जन गर्ने व्यक्ति शास्त्रअनुसार पतित हुन्छ । त्यस्ता व्यक्तिको गति नारकीय हुन्छ भन्ने शास्त्र प्रवर्तकहरुको ठोस निर्णय छ ।

अशुद्ध समयमा कर्म गराउने पण्डित, पुरोहित भनाउँदाहरुलाई सचेत गराउँदै समितिले शास्त्रमा उल्लेख गरिएको शुद्ध समयमा मात्र कामनाले गर्ने कर्म गराउन पनि सचेत गराएको छ । समिति शास्त्रअनुसारका कर्म गर्ने समय निर्धारण एवं पञ्चाङ्ग (पात्रो) प्रकाशनका लागि स्वीकृति दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको आधिकारिक निकाय हो । समितिमा वेद, ज्योतिष, धर्मशास्त्र, इतिहास पुराणलगायत शास्त्रीय विषयका विद्वान्हरुलाई सरकारले नियुक्त गर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here