अर्जुनधारा।

झापाको अर्जुनधारा–१ सिस्नेमा जारी प्रथम शहीद टेक–मान प्रदेशस्तरिय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न भएको पहिलो सेमिफाइलन खेलमा आयोजक सयपत्री युवा समूह विजयी भएको छ ।
स्थानीय टेकमान रंगशालामा चन्द्रगढी फुटबल एकाडेमीलाई १–० गोलले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको हो । खेलको १३औँ मिनेटमा आयोजकका कप्तान सरोज कार्कीले निर्णायक गोल गरेका थिए ।
चन्द्रगढीका खेलाडीले धेरै अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा फाइनल प्रवेशबाट बञ्चित हुनु परेको थियो । त्यस्तै, आयोजकका खेलाडीले पनि पाएको अवसर खेल फाल्दा अग्रता दोब्बर बनाउन सकेनन् ।

खेलको म्यान अफ दी म्याच आयोजकका सनम राई घोषित भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, सौजन्यकर्ता डिकेश भट्टराईले नगद ३ हजार पुरस्कारस्वरुप प्रदान गरे । त्यस्तै, स्थानीय खेलप्रेमी नारायण सुब्बाले पनि एक हजार एक सय रुपैयाँ म्यान अफ दी म्याच सनम राईलाई प्रदान गरेका थिए ।
बुधबारको अन्तिम सेमिफाइनल खेल शिवसताक्षी युवा क्लब झिलझिले र सैनिक युथ क्लबबीच हुने प्रचार प्रसार उपसमितिका संयोजक डिबी दर्नालले बताए ।


























