दृढइच्छा भए गर्न सकिन्छ

0
581

सम्पादकीय

‘ढुङ्गा फोरेर पीपल उम्रिन्छ’ भनिन्छ । सृजना जहाँ पनि हुन्छ, गर्न सकिन्छ यसको आशय हुनसक्छ । हामी आफूभित्रको ‘बिना’ नचिनेर बाहिर अन्तै कतै सुवास खोज्न भौंतारिरहेका छौं । यस्तो प्रवृत्तिले आफूसँग भएका ऐश्वर्य गुमाएर अरुको दास बनाइरहेको छ हामीलाई ।

त्यसैले आफूभित्रको सामथ्र्य र ऐश्वर्य पहिचान गरी यथोचित उपयोग गर्नुपर्छ जसले केवल भौतिक सुख मात्र दिँदैन आत्मिक शान्ति पनि प्रदान गर्छ । ढुङ्गाको काप–कापबाट सृजना फैलिए जस्तै आफूसँग भएको अथाह सम्भावनाको पहिचान गर्न र त्यसलाई सद्उपयोग गर्दै सिङ्गै समाजको समृद्धिमा आफूलाई समर्पित गर्नु सायद यही हुनसक्छ परसेवा वा संस्कृतिले सिकाएको पुण्य प्राप्त गर्ने बाटो परोपकार ।

सुख, समृद्धि ऐश्वर्यसँग तौलिइन्छ हिजोआज । जति ऐश्वर्य जम्मा ग¥यो त्यति नै सुखभोग गर्न पाइन्छ भन्ने मान्यता बनाएको छ समाजको मानसिकताले । तर, झापाको उत्तरी र इलामको दक्षिणी एउटा पालिका जसले पालिकाभित्रको वडा नं. ६ को नाम पाएको छ, त्यहाँ समूहको समृद्धि खोजिँदैछ । गरे हुन्छ मिलेर गरे अझ सामथ्र्य पनि प्राप्त हुन्छ ।

त्यसमाथि सरकारका तर्फबाट ‘हैसे’ गरिने हो भने ढुङ्गाको कापबाट, माटोको कण–कणबाट सृजनाको सुन्दर पुष्प पल्लवित् हुनसक्छ । यही भावनालाई आत्मसात गरेर त्यहाँका निर्वाचित जनप्रतिनिधि मणिकुमार स्याङ्वो सुवास वडा नं. ६ मार्फत रोङ गाउँपालिकाको मुहार बदल्न अग्रसर भएका छन् । गोल्डेन भ्यालीको उपनाम पाएको रोङ अन्तर्गतको साविकको जिर्मले गाविस अहिले रोङ–६ भएको छ । त्यहाँबाट वडाध्यक्षमा निर्वाचित सुवासले कृषि क्रान्तिको माध्यमबाट सिङ्गो गाउँपालिकाको परिचय र पहिचान स्थापित गर्न लागेका छन् ।

राम्रा कुराको अनुशरण गर्नुपर्छ । त्यही भएर परम्परादेखि भन्दै आइएको छ– देखासिकी गरिखा ! यसले अरुबाट भइरहेका राम्रा, हितकारी कार्यहरु आफूले समेत व्यवहारमा लगाउनु पर्छ । सुवासले निर्वाचन पछिको पहिलो बर्ष पूर्वाधार निर्माणमा खर्च गरे । सृजनशील उमेर, उत्साह र ऊर्जाले समेत उनलाई फरक प्रकृतिको काम गर्न प्रेरित गरेको हुनसक्छ ।

हुनसक्छ उनमा राजनीति सेवा हो, पेशा व्यवसाय होइन भन्ने आदर्श सञ्चार भएको छ । त्यहीकारण पदभार ग्रहण गरेको पहिलो वर्ष विकासको पहिलो आधार यातायात सेवाको विकासमा सक्रिय भए । स्तरोन्नति गरिएका सडकहरुको संरक्षण गर्दै कृषि कार्यक्रम मार्फत आफ्नो वडाका बासिन्दाको आर्थिक विकासमा लाग्ने उनको सोच, योजना र अभियानले आत्मनिर्भरता, समृद्धि र सुखी नेपालीको मूल मर्मलाई आत्मसात गर्न सक्यो भने उत्प्रेरक पनि हुनेछ ।

बहुसंख्यक बासिन्दाको जीवन निर्वाहको आधार कृषि कर्म नै भएका कारण त्यसबाटै समृद्धि खोज्नु सकारात्मकता हो । उनी अलैंची, सुन्तला, मह, कफी, एवाकाडो, कुखुरा पालन र पर्यटन प्रवद्र्धनको माध्यमबाट पदीय दायित्व निर्वाह गर्ने क्रान्तिमा छन् । त्यसका लागि सहकारी मार्फत सामुहिक कृषि कर्म गर्न प्रेरित गर्दै रहेका सुवासले वडामा कृषि क्षेत्रको प्रवद्र्धनका लागि साढे सत्र लाख रुपैयाँ बजेट विनियोजन समेत गराएका पनि छन् ।

एघार सय एक घरधुरी रहेको रोङ–६ का वडाध्यक्ष सुवासको योजना उनको इच्छा र कर्मठतामा स्थानीयबासीको सहकार्यसँग मिल्नु पर्दछ । त्यसो भयो भने कृषि क्रान्तिबाट मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउन सकिने निश्चित छ । युवा, साहसी र समाजसेवामा कटिबद्ध उनको जोश, साहस अझ ऊर्जावान होस् । गाउँको मुहार फेर्न र आत्मनिर्भरताको यात्रामा अघि बढ्न सफलता मिलोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here