‘न्याय सम्पादनमा कसैसँग सम्झौता हुँदैन’

0
334

अर्जुनधारा।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले समृद्ध नगर बनाउनका लागि सुशासन अत्यावश्यक भएको भन्दै न्याय सम्पादनमा कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा भएको समुदायमा सरकारी वकिल तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले सो कुरा बताएका हुन् । गत वर्ष प्रदेशले निकालेको नगरपालिकाको सुशासनमा अर्जुनधारामा कमजोरी भएकै कारण प्रदेश सरकारबाट आउने भनिएको पाँच करोड आउन नसकेको उनले बताए ।

नगरको सुशासनमा कमी आएपछि नगरपालिकाले नौ वटा मावि र ११ वटै वडामा कानूनी साक्षरता अभियान सञ्चालन गरेको उनको भनाइ छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम आएपछि नगरमा प्रभावकारी भएको भन्दै उनले समुदायमा सरकारी वकिल कार्यक्रमले दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन जनप्रतिनिधिले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दिनेशराज मैनालीले खबर पाएको सातदेखि १० मिनेटमा प्रहरी घटनास्थलमा पठाउने कोशिस गर्ने बताए । प्रहरीसँग हातेमालो गरेको खण्डमा समाजमा हुने आपराधिक गतिविधि कमी हुने दाबी गरेका उनले प्रहरीलाई जनमैत्री बनाउन स्थानीयको पहल जरुरी रहेको बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख मोहन थापाले घटनाको मुचुल्का उठाउन स्थानीय जनप्रतिनिधिबाट असहयोग भएको गुनासो गरे । उनले मुचुल्कामा साक्षी बस्न कसैलाई कानुनले नरोकेकाले सहयोग गर्दा अपराध नहुने बताए ।

बुधबारबाटै नेपालका ७७ वटै जिल्लामा समुदायमा सरकारी वकिल कार्यक्रम शुभारम्भ भएको जानकारी दिँदै उनले सरकारी वकिल, समुदाय प्रहरी अब स्थानीय तहमा जोडिने बताए । पीडितलाई न्याय, दोषीलाई कारबाही र समाजलाई कानूनी राज्यको आभाष दिलाउने मुख्य उद्देश्य रहेको पनि थापाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नगरकी उपप्रमुख एवम् न्यायिक समितिकी संयोजक कमला खतिवडा आचार्यले पीडितलाई न्याय दिलाउन र पीडकलाई कारबाहीको दायरामा ल्याउन स्थानीय नागरिक इमान्दार बन्नुपर्नेमा जोड दिइन् । लक्ष्य प्राप्तिका लागि वकिल र प्रहरीबाट मात्र सम्भव नहुने भएकाले घटनाको सत्य, तथ्य नागरिकले इमान्दारीपूर्वक जानकारी गराएको खण्डमा दोषीले उन्मुक्ति पाउन नसक्ने उनले बताइन् ।

न्यायिक समितिमा हरेक प्रकारका मुद्दा आउने गरेको र आफ्नो कार्य क्षेत्रभन्दा बाहिरको मुद्दा पनि बाध्यतावश मिलाउनु परेको बताउँदै उनले अहिले १३ किसिमका मुद्दा न्यायिक समितिले हेर्दै आएको जानकारी दिइन् ।

कार्यक्रममा वडाध्यक्ष लोकनाथ गौतम, कार्यपालिका सदस्यद्वय दिलमाया दास र शारदा भट्टराई, मेलमिलापकर्ता भानु मिश्र, चन्द्रकला निरौला, मोहनकुमार योगी, शेखर वन, इन्दिरा दाहाल, एकदेव खनाल, खेम काफ्लेलगायतले जिज्ञासा राखेका थिए ।

जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य, वडाध्यक्ष, नगरमा गठित मेलमिलाप समितिका प्रतिनिधि, जनप्रतिनिधि लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here