ज्यो. मधुसूदन रिजाल,
भोलि १० गते बिहीबार एका बिहानैदेखि सुतक लाग्ने छ । बिहीबार खण्डग्रास सूर्यग्रहण लाग्दैछ । भोलि लाग्ने सूर्यग्रहणलाई एसिया, अफ्रिका र अष्ट्रेलियाका विभिन्न भागबाट अवलोकन गर्न सकिने छ । बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहण यो वर्षको अन्तिम सूर्य ग्रहण समेत हो । बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहण बिहान ८ः४२ बजे शुरु भएर ११ः३१ बजे समाप्त हुनेछ । यसको अवधि २ घण्टा ४९ मिनेको रहने छ । सूर्यग्रहण लाग्नुभन्दा चार प्रहर र चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर अगाडिदेखि बालक, वृद्ध वा अशक्त बाहेकलाई भोजन नगर्ने निर्देश दिइएको हुन्छ । यो मान्यता अनुसार सूर्य ग्रहण लाग्नुभन्दा १२ घण्टा अगाडि नै सुतक लागि सकेको हुन्छ ।
धार्मिक शास्त्र अनुसार मानिसले भोजन गर्नु हानिकारक मात्र होइन, स्वास्थ्य प्रति प्रतिकूल समेत हुने बताइएको छ । यस्तोमा सूर्यग्रहणमा पर्ने असरको सिंधा रुप अन्नमा पर्ने भएकाले अन्न ग्रहण नगर्नु जायज मानिँदै आएको छ । यतिमात्र होइन ग्रहणको बेला जप, हवन, देवपूजन तर्पण आदि गर्नाले मनोवाञ्छित फल पाइने बताइएको छ । ज्योतिष शास्त्रमा ग्रहण लागेको राशि र नक्षत्रलाई दोषयुक्त मान्दै ती राशि र नक्षत्रमा जन्मेकाहरूका व्यक्तिहरूलाई पीडा हुने बताइएको छ । ग्रहणका कार्य यसैगरी ग्रहणको प्रकृति हेरी ग्रहण भएको दिनदेखि अघिल्ला र पछिल्ला केही दिनलाई शुभकार्यको लागि त्यागिन्छ ।
ग्रहणको समयमा भोजनादि त्यागेर मनलाई एकत्रित गरी शुभकार्य मात्र गर्नु धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक दृष्टिले पनि उपयुक्त मान्न सकिन्छ । पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन । यही असमानता नै ग्रहण हुने कारण मानिन्छ । गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन् । फलस्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ । यसरी छायाँ परेको अवस्था नै ग्रहणको अवस्था हो । पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहणको स्थिति सिर्जना हुन्छ ।
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ । यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ । छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो । चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ । चन्द्रग्रहण पूर्णिमा तिथीका दिन लाग्दछ भने सूर्यग्रहण औंशीका दिन लाग्दछ प्रत्येक औंशी र पूर्णिमामा ग्रहण नलाग्नुको कारण बुझ्नु पनि सान्दर्भिक नै होला । सूर्यग्रहण हुन सूर्य र पृथ्वीको बीचमा चन्द्रमा परी तीनै पिण्डहरू एकै सीधा रेखामा परेको हुनुपर्छ । तर, त्यतिले मात्र ग्रहण हुन सक्तैन । पृथ्वी र चन्द्र कक्षहरू एउटा सतहमा नपरी ५ दशमलव १५ डिग्रीको कोण बनाएर ढल्किएका छन् । वर्षमा दुईवटा यस्ता अवसर आउँछन् जतिबेला चन्द्र कक्षका दुई आमने सामनेका छेउहरू पृथ्वीको कक्षसित मेल खान्छन् । अर्थात् सूर्य र पृथ्वी सित एकै सरल रेखामा पर्छन् । यी मेल खाएका स्थानहरू सूर्य र पृथ्वीबीचमा पर्न आउँछन् । त्यसबेला ग्रहण हुन्छ ।
कुन राशिलाई कस्तो प्रभाव ?
बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको प्रभाव सबै राशिमा पर्नेछ । झण्डै १४४ वर्षपछि पहिलो पटक सूर्यग्रहणसँगै महासंयोग समेत बन्दैछ । यो ग्रहण धनु राशिमा लाग्नेछ । धनु राशिमा बृहस्पति, शनि, केतु र चन्द्रमा पहिलादेखि नै उपस्थित छन् । सूर्य ग्रहण कुन राशिका लागि कष्टकारी र कुन राशिका लागि फलदायी छ भन्ने विषयमा सवै राशिको फल यस प्रकार रहेको छ ।
मेषःआज लाग्ने सूर्यग्रहणबाट मेश राशि भएकाहरु माथि दुष्प्रभाव देखिने छ । मेष राशिवालालाई ग्रहणका कारण काममा रोकावट आउने छ भने सन्तानलाई कष्ट हुने योग छ । साथै धन हानी हुने सम्भावना समेत छ । तर, रातो आसनमा बसेर बिहानपख आदित्य हृदय स्तोत्र पाठ गर्ने हो र गुडदान गर्ने हो भने सूर्यग्रहणको दुष्प्रभाव कम गर्न सकिन्छ ।
वृषः सूर्यग्रहणको प्रभावले वृष राशि भएका व्यक्तिलाई अचानट चोट लाग्ने सम्भावना छ भने आँखाको समस्या देखिन सक्छ । स्वास्थ्यमा सामान्य हेलचेक्र्याइ गर्दा निकै ठूलो कष्ट आइपर्ने योग छ । तर ॐ घृणि सूर्याय नमः मन्त्रलाई १०८ पटक जप गर्दा ग्रहणको दुष्प्रभाव कम हुन सक्छ ।
मिथुनः खण्डग्रास सूर्यग्रहणका कारण मिथुन राशि भएका व्यक्तिको दाम्पत्य जीवनमा खटपट आउन सक्छ । साथै व्यापार र व्यवसायमा समेत नकरात्मक असर पर्ने योग छ । सूर्यग्रहणले मिथुन राशिवालाहरुलाई आर्थिक रुपमा कमजोर बनाउने सम्भावना पनि देखिन्छ । गरीब र असहाय व्यक्तिलाई गहुँ र गुडदान गर्ने र सूर्यलाई नमस्कार गर्ने हो भने ग्रहणको प्रभाव कम होला ।
कर्कटः राशि भएका व्यक्तिहरुका लागि बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहण निकै लाभदायक हुनेछ । ग्रहणको सकरात्मक प्रभावले गर्दा यो राशि भएका व्यक्तिले कार्यमा सफलता हात पार्नेछन् भने धन वृद्धि हुने योग छ । साथै नयाँ लगानी गर्ने योग छ भने रोकिएर बसेको धन समेत प्राप्त होला । भगवान सूर्य नारायणको सूर्याष्टक पाठ गर्ने र गरीब तथा असहाय व्यक्तिहरुलाई मिष्ठान भोजन दान गर्नुभयो भने सूर्य ग्रहणको सकारात्मक प्रभाव थप वृद्धि होला ।
सिंहः राशि भएका व्यक्तिलाई सूर्यग्रहणका कारण स्वास्थ्यमा समस्या देखिन सक्छ । पेट सम्बन्धी समस्या देखिन सक्ने योग छ । तर, ग्रहणको सकरात्मक प्रभावले धन लाभ हुन सक्ला । सूर्य ग्रहणका बेला आफ्नो मनको कुरा अरुलाई भन्दा हानी हुने योग समेत छ । तर, बिहान सूर्य भगवानलाई नमस्कार गर्दा ग्रहणको नकरात्मक प्रभाव कम हुनेछ । साथै सुस्वास्थ्यका लागि ॐ आदित्याय नमः का जप गर्नुहोस् ।
कन्याः सूर्यग्रहणका कारण कन्या राशि भएका व्यक्तिले पारिवारिक समस्या सामना गर्नुपर्ने देखिन्छ । साथै जागिरमा समेत समस्या उत्पन्न हुनेछ । सूर्यग्रहणका बेला व्यापार र व्यवसायमा समेत हानि हुने योग छ । ग्रहणको दुष्प्रभाव कम गर्न भगवान र सूर्य स्तोत्र पाठ गर्नुहोस् । त्यस्तै गरीब तथा असहाय मानिसलाई मिष्ठान खाना दिनुहोस् ।
तुलाः राशिलाई समेत बिहीबार लाग्ने सूर्य ग्रहणले केही कष्ट निम्त्याउने योग छ । ग्रहणले गर्दा तुला राशि भएका व्यक्तिले आफ्नै मित्रले केही न केही समस्या खडा गर्ने वा धोका दिनेछ्न् ।
साथै पिताको स्वास्थ्यमा समेत समस्या देखिने योग छ । भाइबहिनीसँग झगडा हुन सक्छ । ग्रहणको सकरात्मक प्रभावले नयाँ घर किन्ने संभावना पनि उत्तिकै छ । दुष्प्रभाव कम गर्न ॐ नमः शिवाय मन्त्रलाई १०८ पटक जप गर्नुहोला र गुड दान गर्नुहोस् ।
वृश्चिकः राशि भएका व्यक्तिलाई समेत सूर्यग्रहणले राम्रो प्रभाव पार्ने देखिँदैन । यो राशि भएका व्यक्तिका लागि आफन्तसँग झगडा हुने सम्भावना छ । पारिवारिक खटपट हुने र धन हानि हुने योग छ । रिसले निकै नोक्सान गर्न सक्छ । त्यसैले क्रोशलाई काबुमा राख्नुहोला । ग्रहणको दुष्प्रभावबाट बँच्न बिहान हनुमान चालीसाको पाठ गर्नुहोस् । गरीब तथा असहायलाई रातो कपडा र गुडदान गर्नुहोला ।
धनुः सूर्यग्रहणका कारण धनु राशि भएका व्यक्तिको स्वास्थ्यमा खराबी देखिने छ । साथै शरीरमा चोटपटक लाग्ने योग छ । आम्दानीमा वृद्धि भए पनि खर्च दोब्बर हुनेछ । ग्रहणको दुष्प्रभाव कम गर्न सूर्य भवगानको नाम जप गर्नुहोस् । साथै विष्णु चालीसाका पाठ गर्नुहोस् ।
मकरः राशि भएका व्यक्तिको खर्च बढ्ने योग छ । साथै आँखाको समस्या समेत देखिन सक्छ । साथीभाइ, सहकर्मी तथा आफन्तसँग विवाद बढ्न सक्छ । सूर्यग्रहणको बेला परिवारका सदस्यको विशेष ख्याल गर्नुहोस् । भगवान सूर्यनारायणका १०८ वटा नामको जप गर्नुभयो असहायलाई भोजन दान गर्नुभयो भने ग्रहणको दुष्प्रभाव कम होला ।
कुम्भः राशि भएका व्यक्तिलाई बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहण शुभ मानिएको छ । यो राशि भएका व्यक्तिले धन लाभ गर्ने योग छ । साथै सन्तानको समस्या समेत हल हुने देखिन्छ । पढाइ वा जागिरको खोजीमा रहेका व्यक्तिका ग्रहण निकै शुभ मानिएको छ । यदि आफ्नो तौल बराबरको खाद्यान्न दान गर्नुभयो र गरीबलाई भोजन दान गर्नुभयो भने थप लाभदायक हुनेछ ।
मीनः राशि भएका व्यक्तिका लागि कार्यस्थलमा केही न केही परिवर्तन हुने देखिन्छ । त्यस्तै मानसिक समस्या आउने योग छ । सहकर्मीसँग विवाद बढ्दा हानी हुन सक्छ । तर, सूर्यग्रहण सकिएपछि केही शुभ समाचार प्राप्त हुन सक्छ । दुष्प्रभावबाट बँच्न बिहान रातो आसनमा बसेर सूर्य स्तोत्र पाठ गर्नुहोस् । र, रातो फूल भगवान गणेशलाई चढाउनु होला ।