वीपीको राष्ट्रिय मेलमिलाप नीतिको सार्थकता

0
616

सन्दर्भ :राष्ट्रिय मेलमिलाप दिवस

तीर्थराज खरेल,
आज पुस १६ गते अर्थात् राष्ट्रिय मेलमिलाप दिवस । राष्ट्रिय मेलमिलापको अर्थ मुलुकमा रहेका राजनीतिक शक्तिहरु बीचमा मुलुकको बृहत्तर हितका लागि मिलेका विषयहरुमा एकताबद्ध रुपमा अगाडि जाने परिवेश निर्माण गर्नु भन्ने बुझिन्छ । वैदेशिक शक्ति केन्द्रको मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गरी आफ्नो स्वार्थ सिद्ध गर्ने र मुलुकलाई आफ्नो प्रभाव क्षेत्रमा पारिरहने दीर्घकालीन सोच अनुरुप चलखेल गर्ने सदियौंदेखिको प्रचलन रहेकै छ । अहिले नेपालले खोजेको अतिवाद होइन, राष्ट्रिय आत्मसमर्पणवाद पनि होइन, विखण्डनवाद पनि होइन, अलिकति सन्तुलित र मध्यमार्गी नेतृत्व देशले खोजिरहेको छ । पहाडे अहंकारवादसहितको राष्ट्रवाद र भारतको दलाली गर्ने पराश्रित मानसिकता दुबैबाट मुलुकको समृद्धि र स्थायित्व सम्भव छैन ।

नेपाली राजनीतिक र साहित्यिक आकाशका उज्ज्वल नक्षत्र वीपी कोइराला आफ्नो सिद्धान्तमा सगरमाथा झैं सदैव अडिग र अटल रहने क्रान्तिद्रष्टा र राष्ट्रवादी थिए । उनले जीवनभर संघर्ष, आन्दोलन र द्वन्द्वबाट गुज्रिनुप¥यो । आजीवन प्रजातन्त्र र राष्ट्रियताका लागि लडेका कोइराला राजनीतिमा समाजवादी र व्यवहारवादी थिए । उनी राणा शासक र पञ्चायती शासकहरुबाट जतिसुकै उत्पीडन र कठोर यातना पाउँदा पनि कहिल्यै झुकेनन्, राष्ट्रियता र प्रजातन्त्रप्रति निरन्तर आस्थावान रहे । उनले जीवनभर देश र जनताकै लागि संघर्ष गरिरहे । उनी निरंकुश शासकका सामु लत्रेनन्, बरु अटुट रुपमा सत्ताको विपरित धारमा उभिइरहे । नदीको प्रवाहको विपरीत धारमा टिक्न अत्यन्तै अप्ठेरो हुन्छ, तर उनी राज्यसत्ताको विरोधमा उभिरहे । वीपी साम्यवादी र पुँजीवादी दुबै प्रकारका राज्यव्यवस्थाका कडा आलोचक थिए । आज वीपीका अनुयायीहरु उनको आदर्शलाई पछ्याइरहेका छन् ? अनैतिक, अदूरदर्शी, क्रुर र शोषणमा आधारित सामन्तवाद र पूँजीवाद नेपालीका लागि सुहाउँदैन र एकदलीय तानाशाही साम्यवादको नेपाली कांग्रेसले कुनै पनि शर्तमा पक्षपोषण गर्न सक्दैन र गर्न हुँदैन भन्ने उनको स्पष्ट धारणा थियो । उनको विचारमा नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादबाट निर्देशित हुने राजनीतिक शक्ति हो ।

२०१५ साल फागुन ७ गते सम्पन्न नेपालको पहिलो आमनिर्वाचनबाट २०१६ साल जेठमा उनको नेतृत्वमा सरकार बन्यो । सरकार बनेपछि ग्रामीण अर्थतन्त्रमुखी विकासका कार्यक्रमहरु सहित क्रान्तिकारी बाटोमा अघि बढेपछि राजा महेन्द्रसँग उनको वैचारिक तथा सैद्धान्तिक मतभेद गहिरिँदै गयो । आफ्नो आरामदायक बहुमत भएकाले संसदबाट जनपक्षीय भूमिसुधार कानुन पारित गरेपछि तत्कालीन नेपाली सेनामाथि द¥हो पकड भएको सम्भ्रान्त जमिनदार वर्गले वीपी कोइरालालाई शत्रु देख्यो र उनी सत्तामा बसिरहनुलाई खतरा देख्यो । राजा महेन्द्र परम्परावादी शक्तिको नेतृत्व गर्थे । दुई पक्षमा द्वन्द्व शुरु भयो– यो वास्तवमा बहुदलीय लोकतन्त्र र एकदलीय निरंकुशताबीचको टक्कर थियो ।

२०१७ साल पौष १ गते २००७ सालमा जनताको बलिदानबाट प्राप्त गरेको बहुदलीय प्रजातन्त्र राजा महेन्द्रको फौजी शासनको बुटमुनि थिल्थिलो भयो । संविधान निलम्बन गरियो, मन्त्रीपरिषद् र संसद भंग गरी राजाको प्रत्यक्ष शासन शुरु भयो । प्रजातन्त्रका लागि वीपी राजासँग झुकेनन्, बरु उनले प्रधानमन्त्रीको पद र आफ्नो जीवनलाई महत्व दिएनन् । उनलाई तरुणहरुको एउटा कार्यक्रममा भाग लिइरहेको अवस्थामा गिरफ्तार गरियो र कुनै मुद्धा नचलाई जेल हालियो । प्रजातन्त्रवादी एक महान नेतालाई बिना कानूनी उपचार एकान्त जेलमा सारा दुनियाँका आँखाबाट पुरै अलग गरेर राखे राजा महेन्द्रले र रोपे पञ्चायतको नाममा एकदलीय अप्रजातान्त्रिक व्यवस्था । लोकतन्त्रको खरानीमाथि अधिनायकवादको स्तम्भ खडा भो । वीपीका समर्थक शुभचिन्तकहरुलाई जेलमा कोचियो । कम्युनिष्टहरुले पनि राजाको समर्थन गरे । जस्तासुकै बिघ्नबाधा आए पनि कोइराला लोकतन्त्रको पक्षमा सतिसाल झैं ठिङ्ग उभिइरहे ।

जननायक, लोकनायक र नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्रीको रुपमा मानिने वीपी ८ वर्षसम्म जेलजीवन बिताए पछि उदार पञ्चको रुपमा त्यतिबेला चिनिने सूर्यबहादुर थापाको अनुरोधमा राजा महेन्द्रबाट उनलाई रिहा गरियो र उनी भारत प्रवासमा गए । त्यतिबेला निरंकुशताको उत्थानको बेला थियो । विपक्षीको अस्तित्व हुन्छ भन्ने कुरा पञ्चायतका कट्टर हिमायतीहरु सुन्न पनि चाहँदैनथे । महेन्द्रको स्वर्गारोहणपछि राजा बनेका वीरेन्द्रबाट पनि सोचे जस्तो भएन, त्यसैले २०३१ सालमा भारतमा बसेर पञ्चायतविरुद्ध उनले सशस्त्र विद्रोह शुरु गरेका थिए, जसलाई पञ्चायती शासकहरुले निर्ममतापूर्वक दबाएका थिए । इन्दिरा गान्धीले भारतमा बसेर नेपाल सरकारविरुद्ध कामकार्वाही गर्न नदिएपछि आफू र आफ्ना साथीहरु पुराणमा वर्णित दैत्य र गहिरो समुद्रको बीचमा परेको जस्तै महशुस गरी राक्षसको मुखमा परेर मर्नुभन्दा गहिरो सागररुपी आफ्नै मातृभूमिमा अधिनायकवादी शासकहरुको पञ्जामा परेर मर्नु निको सम्झेर २०३३ साल पुष १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर वीपी स्वदेश फर्के । उनको साथमा गणेशमान सिंह, शैलजा आचार्य लगायत थिए । स्वदेश फर्कंदा उनले भनेका थिए– हाम्रो देश संकटमा छ । संकट चर्किदै गएर राष्ट्रिय अस्तित्व खतरामा परेको छ, राष्ट्रियताको अभावबाट सबै समस्या सृजना भएका हुन् । विदेशीतत्वहरु कुचक्र चलाएर नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा बनाउन चाहन्छन् ।

देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलबाला भएको उनको विचार थियो । राष्ट्रियता र प्रजातन्त्र दुबैलाई सँगै लिएर मात्र नेपालको साँचो अर्थमा रक्षा गर्न सकिने उनको निष्कर्ष थियो, जो आज पनि उत्तिकै सान्दर्भिक छ । पुस १६ गते निर्वासन परित्याग गरी नेपाल आएको दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष राष्ट्रिय पर्वका रूपमा ‘राष्ट्रिय मेलमिलाप’ दिवस मनाउने गरेको छ । तर, अहिले राष्ट्रिय मेलमिलापको मर्म र भावना अनुसार काम भइरहेको छैन । वीपीले यो नारा दिएर नेपाल फर्किदा नेपाल अत्यन्त कठिन परिस्थितिमा थियो । नेपाली कांग्रेसका मान्छेहरू आज मारिने हुन् कि भोलि मारिने हुन् भन्ने अवस्थामा थिए । त्यतिबेलाको कानून अनुसार वीपीमाथि फाँसीको सजाय हुनेखालका आठवटा मुद्दा थिए । आठवटै ज्यानमुद्दालाई ‘सामना’ गरेर उनी नेपाल आए । राष्ट्रिय मेलमिलाप नीतिका सम्बन्धमा वीपीले भनेका थिए, ‘म जनताको प्रतिनिधि हुँ, त्यसकारण जनतासँग राष्ट्रिय मेलमिलाप गर्न जाने शक्ति या व्यक्तिसँग दुईवटा गुण हुनुपर्छ, एउटा राष्ट्रवादी र अर्को प्रजातन्त्रवादी । जो प्रजातन्त्रवादी छैन, जो राष्ट्रवादी छैन, त्योसँग मेरो मेलमिलाप हुन सक्दैन, म भनेको जनता हुँ ।’ उनको राष्ट्रिय मेलमिलापको नीति अनुसार राजा पनि राष्ट्रवादी र प्रजातन्त्रवादी हुनुपथ्र्यो । उनले देशको माया गर्दै भनेका थिए– यदि तिमीहरूलाई कुनै कुराको निर्णय गर्न द्विविधा हुन्छ भने नेपालको एकमुठी माटो लिएर सोध, त्यसले जे जवाफ दिन्छ, त्यही गर । बाहिरी मुलुकमा बसेर नेपालको बारेमा निर्णय ग¥यो भने बाहिरी मुलुककै हितमा हुन्छ भन्ने कुरा उनले आठ वर्षको भारत निर्वासनका क्रममा महसुस गरेका थिए ।

प्रजातन्त्रवादी र राष्ट्रवादी दुबै हुनुपर्ने राष्ट्रिय मेलमिलापको नीति र मर्मलाई नेपाली कांग्रेसले छाडेको हुनाले एउटा आडम्बरका रूपमा बाहिर देखाउन र लाज ढाक्न नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाइरहेको देखिएको छ । वीपीको विचारमा राजासँग मेलमिलाप हुन राजा प्रजातन्त्रवादी हुनुपर्छ । यदि राजा प्रजातन्त्रवादी भएनन् भने राजतन्त्र सकिन्छ भनेर वीपीले भनेका थिए । मुलुकमा अधिनायकवादको उदय हुने सम्भावना देखाउँदै उनले भनेका थिए–त्यसबेला म पनि सकिन्छु, म सकिएँ भने विराटनगरमा खेतीपाती गर्न जान्छु, राजा जाने कहाँ ? अहिलेको स्थितिमा न राजा राष्ट्रवादी भए, न प्रजातन्त्रवादी भए । त्यसैले राजतन्त्र पनि सकियो ।

वीपी कति दूरदर्शी थिए भन्ने यसबाट पुष्टि हुन्छ । वीपीको आदर्शबाट च्युत हुँदै विदेशीको चलखेलमा रमाउँदै जाने हो र आफ्ना गुटगत र व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुब्दै जाने हो भने अब सकिने पालो नेपाली कांग्रेसको आएको छ । अहिले नेपाली कांग्रेसको नेतृत्व एकदम कमजोर मानसिकताको छ । भनिन्छ, वीपीको नीति छोडी गलत नीति लिएका कारण नेपालको राजनीतिमा पार्टीकोे हैसियत कमजोर भएको छ । सधैं मुलुकको अग्रणी भूमिका खेल्ने नेपाली कांग्रेस अहिले प्रयोग हुँदै आएको छ । नेपाली कांग्रेस प्रयोग हुँदा आफूलाई मात्र होइन राष्ट्रलाई पनि नोक्सान भएको छ । पार्टीले अहिले राष्ट्रिय मेलमिलापको नीतिलाई पूर्णतया छाडेको छ । अहिलेको प्राथमिकता सत्ता भएको हुनाले जोसँग पनि सम्झौता गर्ने र जेमा पनि सम्झौता गर्ने पार्टीको रूपमा नेपाली जनताले कांग्रेसलाई बुझ्न थालेका छन् । तीतो र टर्रो सत्य के हो भने नेपालमा २०४७ सालपछिका देखा परेका धेरैजसो समस्याका पछि नेपाली कांग्रेसकै भूमिका छ ।

वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति वास्तवमा तत्कालीन अवस्थामा राजतन्त्र र नेपाली कांग्रेस मिलेर जाने कुरासँग सम्बन्धित थियो र कम्युनिष्ट तथा अन्य शक्तिलाई अलग्याएर राजा– कांग्रेस गठबन्धनबाट मुलुकलाई हाँक्ने अभिप्रायबाट आएको यथार्थ हो । जे होस् ठूलो चुनौतिको सामना गर्न तयार भएर नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री भएर, राजाको तानाशाही निरंकुशताको शिकार बनेर १० वर्ष कारावासमा बिताएका र जेलबाट मुक्ति पाएपछि एकदलीयताका हिमायती पञ्चहरुको कोपभाजनमा परी भारत निर्वासनमा रहेका बीपीले राष्ट्रिय मेलमिलापको नीति लिनु आफैंमा महत्वपूर्ण र ऐतिहासिक थियो र यसको महत्व अझ बढेर गएको छ । जीवनको अन्तिम समयमा मुलुकको महत्वपूर्ण राजनीतिक शक्ति नेपाली कम्युनिष्टहरुलाई बेवास्ता गरी दक्षिणपन्थी र राजावादी शक्तिसँग मात्र गठजोड गर्ने नीति लिएका कारण र नेकपाका नेता पुष्पलाल श्रेष्ठको संयुक्त भई पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्नुपर्ने प्रस्तावलाई नमाने पछि मुलुकमा प्रजातन्त्र पुनस्र्थापना हुन सकेन र पछि नेपाली कांग्रेसका वरिष्ठ नेता गणेशमान सिंहको दूरदर्शिताका कारण कांग्रेस र कम्युनिष्टबीच सहकार्य भई प्रजातन्त्रको पुनस्र्थापना सम्भव भएको यथार्थलाई नकार्न सकिन्न ।

जे भए पनि, यतिबेला लोकतन्त्र, राष्ट्रियता र समाजवादप्रति प्रतिबद्ध हुन राष्ट्रिय मेलमिलाप दिवसले प्रेरणा दिनेछ सबै नेपालीलाई भनी विश्वास गर्न सकिन्छ । राष्ट्रप्रति समर्पित रहेर लोकतान्त्रिक व्यवस्थाका पक्षमा चट्टानी दृढतासहित उभिने वीपीका असल र अनुशरणीय गुणबाट सिक्न सके आजको हाम्रो समाज, मुलुक र हरेक नागरिकको जीवनमा निश्चय नै सकारात्मक परिवर्तन आउने थियो भनी विश्वास गर्न सकिन्छ । उनको गरिमा र उनका विचारको महत्ता घटेको छैन । उनी मरेर गए पनि आज पनि हजारौं मात्र होइन, लाखौं–करोडौं नेपाली जनताको मनमस्तिष्कमा बाँचिरहेका छन् र पथप्रदर्शन गरिरहेछन् । भौतिक रुपमा आज उनी नभए पनि उनले छोडेर गएका लोकतन्त्रप्रतिको निष्ठा र स्वतन्त्रताप्रतिको उनको अविचलित आस्थाले सबै लोकतन्त्र पक्षधरलाई प्रेरणा दिइरहेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here