अनुगमन फलदायी बनाऊ

0
467

सम्पादकीय

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले खाद्य स्वच्छताको आधारमा इलाम र झापाका केही होटल र रेष्टुरेन्टहरुको स्तरीकरण गरेको छ । सरकारले अंग्रेजी वर्ष २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरे अनुसार पर्यटकहरुले स्वच्छ, गुणस्तरीय र स्वस्थ खानेकुरा खान सकुन् भन्दै खाद्य स्वच्छताको मापदण्डका आधारमा अनुगमन गरिएको कार्याले जनाएको छ ।

खाद्य वस्तुको स्वच्छता, गुणस्तरीयता, भण्डारण गर्ने ठाउँ र कर्मचारीले गर्ने व्यवहारले पर्यटकहरुलाई खुसी राख्न सकिए मात्रै सरकारको बीस लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन सक्छ । पाहुना देवता नै हुन्, देवतालाई खुशी राख्न सकिए तिनको माध्यमबाट राम्रो सन्देश प्रवाह हुने र त्यही सन्देशले अरुहरुलाई समेत आकर्षित गर्ने भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्धारण गरेको स्वच्छताको मापदण्ड अनुसार स्वच्छताको स्टीकर प्रदान गरिएको हो ।

गुणस्तरको स्तरीकरण कामदारको व्यक्तिगत सरसफाई, भान्छा, बस्ने ठाउँ, खाद्य वस्तु राख्ने भण्डार, कामदार लगायतको व्यवहार, खाद्यवस्तुको छनौट, तेल, मसला लगायतका खाद्यवस्तुको गुणस्तरलाई समेत मापदण्डको आधार बनाइएको छ । त्यसका आधारमा स्तरीकरण तथा मूल्याङ्कनका लागि चेकलिस्ट बनाएर अनुगमन गरिएका होटल र रेष्टुरेन्टहरुलाई अति उत्तम, उत्तम, मध्यम र सामान्य गरी चार श्रेणीमा छन् । त्यस्तो श्रेणीका व्यवसायीहरुले आफ्नो होटल र रेष्टुरेन्टहरुको स्तर बढाउन प्रयत्न गर्नुपर्नेछ । स्तरका आधारमा प्राप्त भएको स्टीकरसहितको प्रमाणपत्रको सीमा समय एक वर्षको हुनेछ ।

बजारमा खाद्यवस्तुमा अत्यधिक मिसावट भइरहेको र त्यसमा पनि होटलहरुले उपभोक्ताको स्वास्थ्यप्रति खेलबाड गरेको गुनासो बढेपछि स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति र गुण नियन्त्रण विभागको टोलीले बजारको अनुगमन गर्न थालेको हो । पछिल्लो पटक मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने खाद्यवस्तुका विक्रेताहरुका पसल र व्यवसायको अनुगमन तथा निरीक्षण गर्दै गुणस्तरीयताको प्रमाणपत्र दिन थालिएको हो । यसरी प्रमाणपत्र प्राप्त गर्ने व्यवसायीहरुले स्तर घट्न नदिने र कमजोर देखिएकाहरुले तत्काल सुधार गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । त्यसका लागि विभागले निरीक्षण र अनुगमनलाई निरन्तरता दिनुपर्दछ ।

नेपाल भ्रमण वर्षको प्रारम्भमा भएको अनुगमन र स्तरीकरण प्रमाणपत्र वितरण कार्यले अतिथिहरुलाई विश्वास दिलाउन सक्नु पर्दछ । यसो भए पर्यटकहरुको भ्रमण क्षेत्रको बसाइ लम्बिन सक्छ । अतिथिहरुको बसाइले व्यवसायीहरुले प्रत्यक्ष लाभ लिन सक्नेछन् भने सरकारको अभियानले पनि सफलता प्राप्त गर्नेछ । यो अनुगमनका क्रममा झापाका पाँचवटा होटलले मात्र अति उत्तमको प्रमाणपत्र पाएका छन् ।

त्यस्तै इलामका तेइस वटामध्ये दुईवटाले मात्र अति उत्तमको लोगो प्राप्त गरेका छन् । यसले खाद्यवस्तुको स्वच्छताप्रति व्यवसायी गम्भीर छैनन् भन्ने देखाएको छ । यस बाहेक बट्टाबन्द र तयारी खानेकुराहरुको गुणस्तरमा पनि उत्तिकै ध्यान दिनु पर्दछ । त्यस्ता खाद्यवस्तुमा प्रयो गरिएका सामग्री, समयसीमा लगायतको गुण र स्तर परीक्षण गर्दै दोषी देखिए प्रचलित कानून अनुसार कार्वाही गर्ने दृढता विभागले व्यवहारमै देखाउनु पर्दछ । अन्यथा ‘हिँडदैछ पाइला मेट्दैछ’ अथवा ‘काग कराइ रहन्छ, पिना सुकिरहन्छ’ को नियतिले उपभोक्ता मारमा परिरहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here