बडीबिल्डरलाई सम्मान, एसपीको स्वागत, डीएसपीको विदाइ

२० पुष २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड।

झापाको बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच वडीविल्डर रामबहादुर दाहाललाई सम्मान, झापा जिल्ला प्रहरी कार्यालयमा नवागन्तुक प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालालाई स्वागत र इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनकुमार थापालाई बिदाइ गरिएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा बिर्तामोडका विभिन्न २४ वटा संघसंस्थाहरुले उक्त कार्यक्रम गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीले स्वागत गरेका थिए ।

कार्यक्रममा भारतमा भएको आइएफबीबी डायमण्ड कप इन्टरनेशनल बडीबिल्डिङ च्याम्पीयनसीप प्रतियोगीतामा २३ राष्ट्रलाई पछि पार्दै नेपालको तर्फबाट गोल्डमेडल प्राप्त गरि देशको नाम उच्च राख्न सफल भएको भन्दै गोल्डमेडलिष्ट वडीविल्डर दाहाललाई कदरपत्रले सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा झापा जिल्ला प्रहरी कार्यालयमा नवागन्तुक प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालालाई स्वागत गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी प्रमुखको रुपमा कार्यरत कोइराला यसअघि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक समेत थिए ।

त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनकुमार थापालाई सम्मानसहित विदाइ गरिएको थियो । इलाका प्रहरी कार्यालय अनारमनीबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौं जान लागेका डीएसपी थापालाई इलाका प्रहरी कार्यालय अनारमनीमा रहँदा कुशल नेतृत्व प्रदान गरेको भन्दै सम्मानसहित विदाइ गरिएको बताइएको छ ।

कार्यक्रममा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष जलकुमार गुरुङ, वाणिज्य विभागका निर्देशक सागर मिश्र, पत्रकार उमाकान्त खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै झापा जिल्ला प्रहरी कार्यालयमा नवागन्तुक प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले झापाबासीको साथ र सहयोग आफूलाई सधैँभरि मिलिरहने र झापामा रहँदा शान्ति सुरक्षा अमनचयन कायम गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसैगरी बिदा भएर जान लागेका इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनकुमार थापाले बिर्तामोडमा रहँदा आफूले बेश्यावृत्ति, चोरी, डकैती लगायतका आपराधिक घटनामा समेत धेरै कमी ल्याएको बताए । उनले बिर्तामोडबासीले गरेको माया र सहयोगलाई कहिल्यै नबिर्सने समेत बताए । कार्यक्रमको सञ्चालन बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई संस्थाका सचिव मेघराज बास्तोलाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here