भेनियर संघको नेतृत्व चयन

२० पुष २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड।

नेपाल भेनियर उत्पादक संघ केन्द्रीय समितिको अध्यक्षमा दीपक पाण्डे निर्वाचित भएका छन् । झापाको चारपानेमा शनिबार भएको छैठौं अधिवेशनबाट सर्वसम्मत रुपमा पाण्डे अध्यक्षमा निर्वाचित भएको हुन् ।

त्यसैगरी कार्यसमिति पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष श्याम न्यौपाने, महासचिव दिनेश शाक्य, सचिव लक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष सुरेश अग्रवाल निर्वाचित भएका छन् । सदस्यहरुमा पूर्णध्वज आङ्देम्वे, मनोज अग्रवाल, लीलाकुमार न्यौपाने, अमित अग्रवाल, मोहन मुरारका, हेमराज थापा र लालशेर कुरुम्वाङ निर्वाचित भएका छन् भने उपाध्यक्ष पदमा पछि मनोनयन गरिने अध्यक्ष पाण्डेले जानकारी दिए ।

भेनियरले प्लाई उद्योगको लागि कच्चापदार्थ उत्पादन गर्ने र नेपालको निजी वनलाई व्यवसायिक बनाउन टेवा पुर्याउँदै आएको छ । भेनियर व्यवसाय सरकारलाई धेरै राजश्व बुझाउने र धेरैलाई रोजगारी प्रदान गर्ने व्यवसायिक क्षेत्रमा पर्ने अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

कार्यवाहक अध्यक्ष रहेका दीपक पाण्डेको अध्यक्षतामा शुरु भएको कार्यक्रमको प्रमुख आतिथ्य नेपाल उद्योग बाणिज्य संघ प्रदेश १का अध्यक्ष नरेन्द्र खड्काको रहेको थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघ केन्द्रीय सदस्य उमेश डालमिया, पूर्वाञ्चल प्लाइउड उत्पादक संघका अध्यक्ष दीपेन्द्र पोखरेल, झापा उद्योग संघका महासचिव दुर्गा भण्डारी, वन पैदावर संघ इलामका अध्यक्ष रोहितकुमार भण्डारी, वन पैदावर संघ पाँचथरका अध्यक्ष सूर्य मगर, नेपाल वन पैदावर संघ झापाका सचिव पुष्पराज दाहालको आतिथ्य रहेको थियो ।

२०६७ सालमा स्थापना गरिएको संघले व्यवसायीको हितका लागि विभिन्न काम गरिरहेको तर संघमा आवद्ध नभएका र दर्ता पनि नभएका कतिपय व्यक्तिले चोरी तस्करी जस्ता काम गर्ने गरेको भन्दै वक्ताहरुले त्यसले सिंगो व्यवसायीलाई बद्नाम गरेको बताएका थिए । त्यस्ता कानून विपरीत काम गर्ने व्यक्तिहरुलार्ई कानूनी दायरामा ल्याउन संघ र सरकार लागीपर्नु पर्ने र एक उत्पादन एक उद्योगको नीति कायम हुनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

सोही अवसरमा संघका संस्थापक अध्यक्ष नन्दकिशोर सरावगीलाई सम्मान गरिएको थियो । श्याम न्यौपानेले स्वागत गरेको कार्यक्रममा अध्यक्षले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here