यहाँ किन यस्तै हुन्छ ?

0
1184

भूवन तामाङ,

स्वदेशमा होस् या विदेशमा हाल निकै मन छुने, मन हल्लाउने घटनाहरु घटिरहेका छन् । कतिपय घटनाहरु प्राकृतिक छन् भने कतिपय मानविय घटनाहरु घटिरहेका छन् । जसले मानव समुदायको ध्यान खिचेको छ र केही सोच्न अनि सिक्न बाध्य पारिरहेको छ । असंख्य घटनाहरुमध्ये यहाँ केही उल्लेख गर्दछु । जसले पाठकवर्गको मन केही हदसम्म छुने नै छ ।
अष्ट्रेलियामा डढेलो :

अष्ट्रेलियाको भिक्टोरिया र न्यूसाउदल्याण्डको जंगलमा विगत तीन महिनादेखि लाग्दै आएको डढेलोले जंगल र जनावरहरु धेरै मात्रामा विनास भइरहेकोे छ । पचास करोड जंगली जनावरहरु डढेर मरेका छन् । नेपालमा मध्यजाडो मौसम चलिरहेको समयमा अष्ट्रेलियामा भने चालीस डिग्रीभन्दा बढी सेल्सियस तापक्रम हुनु आपैmमा अद्भूत प्राकृतिक विविधता हो । अष्ट्रेलियामा अत्यन्त छोटा झारयुक्त चौरहरु समेतमा डढेलो लाग्नु आपैmमा अचम्मको प्राकृतिक घटना देखिन्छ । त्यहाँ त बाटोका पिच र पहाडका चट्टान समेत अँगार पारुँला जस्तै गरेर आगो लागेको देखिन्छ । नेपालमा बुढापाका भन्छन्– आगो, डढेलोको मेरो (हिँडने बाटो) हुन्छ ।

चैत बैशाखतिर नेपालको जंगल क्षेत्रमा डढेलो लागेपनि बुढापाकाहरुले भने जस्तै डढेलो आप्mनो मेरो (बाटो) अनुसार गोरेटो बनाए जस्तै एकातिरमात्र सर्दै जान्छ । वरिपरि सबैका सबै डढाउँदैन । तर, अष्ट्रेलियाको डढेलो भने जंगलमा भेटिएका रुख, बिरुवा, बुट्यान, मसिनाभन्दा मसिना झार समेत सबैका सबै वनस्पतीलाई नष्ट गरिरहेको देखिन्छ । पातला रुखहरु भएका ठाउँमा पनि सजिलै डढेलो लागेको देख्दा अचम्म लाग्दछ । जंगल, जनावर, पन्छी, घस्रने जीव, आञज्ञवास र मानवीय क्षतिको दृष्टिले अष्ट्रेलियाको डढेलो निकै भयानक, मन छुने र मन बिचलित बनाउनेखालको देखिन्छ । यस घटनाले विश्वका अन्य देशहरुलाई पनि सोच्न, सिक्न बाध्य पार्दछ । आगलागी हुनुमा गर्मी, तेजगतिको हावा, ग्लोबल वर्मिङ्ग कारण रहेको बताइन्छ । पूर्वीय दर्शनमा विश्वास गर्नेहरुमा कतिपयले त्यतातिर होम या यज्ञ गर्ने चलन नभएकाले पनि पानी नपर्ने समस्या रहेको बुझाई पाइन्छ ।
बेलगाम अमेरिका :

केही दिनअघि अमेरिकाले इराकमा रहेका इरानका सैनिक जनरल तथा दोस्रा ठूला नेता सुलेमानीलाई ड्रोन प्रहार गरी मारिदियो । उनलाई आम इरानीले नायक मान्दथे । तर, अमेरिकाले सुलेमानीलाई अतिवादीको नाइके भन्दै मध्यपूर्वमा सयौँ अमेरिकीको मृत्यको कारण सुलेमानी भएको विश्वास गर्दछ । अमेरिकी राष्ट्रप्रति डोनाल्ड ट्रम्पले सुलेमानीले इराक लगायत मध्यपूर्वमा अमेरिकी कुटनीतिज्ञ र सेनाका प्रमुखमाथि ठूलो षडयन्त्र रचेको र आक्रमण गरेको दाबी गरेका थिए ।

ट्रम्पकै निर्देशनमा बगदाद विमानस्थल नजिक जनरल सुलेमानी ड्रोन आक्रमणमा मारिए । अमेरिकाले आपूmलाई मन नपरेको जो कोही होस् ठ्याङ–ठ्याङ अस्त्र प्रहार गरेर चरा मारे जस्तो गरी मार्ने गरेको पाइन्छ । उसले किन वार्ताद्वारा समस्या समाधान गर्न चाहँदैन । संयुक्त राष्ट्रसंघ समेत किन बोल्न सक्दैन । अमेरिकाको यस्तो दादागिरी कहिलेसम्मलाई हो ? अमेरिकीहरु कस्तो दर्शनबाट दिक्षित भएका हुन्छन् ? उनीहरुको देशको शिक्षा या दर्शनले के मार्गदर्शन गर्दछ ? बडो चाखलाग्दो विषय, रहस्य लाग्दछ ।

आमाले सन्तान माया मार्ने चलन बढ्दैछ :

केही दिनअघि सामाजिक सञ्जालमा नेपाली समाजकै एउटा मार्मिक कथा देखिएको छ । १२÷१३ वर्षकी देखिने एक बालिका बताउँछिन् कि आपूm स्कूलबाट घर आइपुग्दा आमाले घर छाडेर गइसकेकी रहिछन् । विदेशमा रहेका बाबु घर आइपुग्नु अगावै आमा चाहिँले घर, बालबच्चा छाडेर गएको घटना थियो त्यो । तिनी गइनन् मात्र, बहाना पारिपारि विदेशमा रहेका लोग्नेबाट मगाएको बीस लाख पैसा पनि बोकेर चम्पट ठोकी छन् । घरमा आइपुगेका लोग्ने चाहिँ भन्दै थिए कि, मलाई नसम्झे पनि बालबच्चा सम्झेको भए हुन्थ्यो नि ।

तर, तिनी आप्mना बालबच्चा, घर र श्रीमान्लाई माया मारेर कतै (पोइल ?) हिँडिसकिन् । ती अबोध बालिका रोएर हैरान देखिन्थिन् । घरमा छाडिएका सबैको भविष्य अनिश्चित र विदारक देखियो । यस्ता घटना त आजभोलि नेपाली समाजमा निकै व्याप्त हुँदै आएको छ । यस्तो पारिवारिक तथा सामाजिक विचलन कसरी पैसा हुन्छ ? अरुभन्दा पनि अभिभावकको माया र मार्गदर्शन चाहिने उमेरका बालबालिकाहरुको मनोविज्ञान र भबिष्यबारे कसले सोच्ने होला ? समाज वैज्ञानिहरुले सोच्नेकी सरकारले या सबैले ?

छाउपडी बस्ने घर भत्काइयो :

पश्चिम नेपालमा महिलाहरु महिनावारी (छाउ) हुँदा छाउपडी बस्ने घर भत्काइँदै गरेको सञ्चारमाध्यममा देखिए । त्यहाँका प्रदेश सरकारले छाउपडी बसे, बसाए सामाजिक सुरक्षा भत्ता समेत रोकी दिने भनेका छन् । कडैरुपमा गरिएका यस्ता कारवाहीले समाज सुधार गर्ने नै देखिन्छ । तर, यस्तो कडा कारवाहीले महिलाहरुमा निम्त्याउने मानसिक पीडा र दवाव कसरी समाधान गर्ने ? भनेर त्यहाँका सरकारहरुले कुनै कार्यक्रम ल्याएको या सुझाएको पाइएको छैन । छाउपडी बस्ने, परापूर्वकालदेखि चलिआएको सामाजिक चलन हो । छाउ भएकी महिलाहरुबाट घरलाई चोखै राख्ने विश्वास या अन्धविश्वास हो । एक्कासी गरिएको कारवाहीपछि छाउ हुँदा घरभित्रै या घरको कुनै कुना या सिकुवामै छाउ बसिएला, तर घरकाहरुलाई घर नै अशुद्ध भएको लाग्न सक्छ । समाजले छिःछिः भन्न सक्छ । यसबाट पुग्ने मनोवैज्ञानिक तथा सामाजिक असर न्यूनीकरण गर्न काउन्सेलिङ कार्यक्रमहरु सञ्चालन गर्न पर्छ कि पर्दैन ?

बुहारीहरुले सासुलाई सुनका लागि ठहरै पारे :

सासुले लगाएको सुन हत्याउन गुल्मीको इस्मा गाउँपालिका–३ दर्लामचौर तल्लो सिम्पानीका ७६ वर्षीया कौशिला विककी कान्छी बुहारी देवी विक र जेठाजुकी बुहारी लक्ष्मी विकले सासु कौशिला विकको हत्या गरेका छन् । गोरुले सासुलाई हान्यो भनी गुहार माग्दा छरछिमेकले नपत्याएपछि हत्या काण्ड खुलेको गुल्मी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुनकै लागि आमा समान सासुको ज्यान लिने कस्तो मनोवृत्ति पलाउन थाल्यो बुहारीहरुमा ? यस्तो घटनाले मन बिचलित बनाउँछ, सोच्न बाध्य बनाउँछ ।

मेचीखोला पारी आप्mनो खेतबाट नेपाली किसानले अन्न ल्याउन भारतीयबाट अवरोध :

भारतीयबाट नेपालीहरु पीडित हुनु र नेपाली भू–भाग मिचिनुको कुनै सीमा छैन । उता लिम्पियाधुरा, लिपुलेक र कालापानी जबरजस्ती ओगेटेर भारतीय सेनाहरु बसेका छन् भने यता मेचीखोला पारी नेपाली भू–भागमा नेपाली किसानले लगाएका बाली ल्याउन भारतलाई कर तिर्नु परिरहेको छ ।

भद्रपुर नगरपालिका क्षेत्रमा पर्ने मेचीखोला पारी रहेको नेपाली भू–भागको ७० बिगाहको अन्नबाली ल्याउन भारतलाई कर तिर्नु परेको हो । भद्रपुर नगरपालिकाले त्यस्तो समस्या नभएको जनाए पनि भारतीय सुरक्षाकर्मीले दुःख दिएको भनी नेपाली किसानहरु गुनासो गर्छन् । नेपालीहरु मित्रदेशबाट कहिलेसम्म यसरी पीडित बनिरहनुपर्ने हो ? सरोकारवालाले दीर्घकालीन समाधान खोज्नु पर्छ ।

नेपालका बैंक प्रणालीमा त्यस्तो के कमजोरी छ ?:

राजधानी काठमाडौमा बैंक प्रविधि प्रणाली ह्याक गरी केही चिनियाँहरुले मोटो रकम निकालेका घटना घटे । यस्ता अपराधमा संलग्न या संलग्न हुनसक्ने एक सय बाईस जना चिनियाँहरुलाई नेपाल प्रहरीले पक्राउ गरी चीन पठाइँदैछ । नेपालको बैंक क्षेत्रका प्रविधि प्रणालीमा त्यस्तो के कमजोरी छ र चिनियाँहरु आकर्षित भए । यो चाहिँ प्रमुख सोचनीय विषय हो । साथै चीनमा त्यस्तो के छैन र त्यहाँका नागरिकहरु नेपालमा अपराध गर्न आए ?

सम्बन्धित पक्षका लागि पाठ सिकाई र सुधारको विषय हो यो । सञ्चारमाध्यम, सामाजिक सञ्जालमा देखिने, भेटिने यस्ता घटनाहरुले मन छुन्छ, विचलित बनाउँछ र केही सोच्न बाध्य बनाउँछ । कामना गरौँ पीडा दिने यस्ता घटनाबाट पाठ सिक्दै सरोकारवालाद्वारा न्यूनीकरणका उपाय खोजिउन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here