श्रद्धा सुमन बुबा !

0
1704

दिपेन्द्र राउत,

दिपेनजी किन यो जाडोमा कपाल काट्नु भएको भनेर सोध्ने मेरा धेरै साथीहरु हुनुहुन्छ । जवाफमा भन्ने गर्छुु बुवाको श्राद्घ थियो त्यसैले भनेर ! त्यसपछि साथीहरु मौन बस्नु हुन्छ । हुन पनि हो किन यो जाडोमा कपाल काटेको होला भनेर उत्सुकता जाग्नु पनि स्वभाविक नै हो । अनि सम्झन्छु जाडोमा कपाल काट्नु हुन्न है भन्दै सानोमा बुवाले नै भन्ने गर्नुहुन्थ्यो र जाडो पश्चात मात्र ठाकुरकोमा लगेर बुवाले हामी दाजुभाइको कपाल कटाएर ल्याउनु हुन्थ्यो ।

यसो सोच्ने गर्छु किन श्राद्घमा कपाल काट्नु परेको होला ! त्यसमा पनि जाडोको मौसम ! अनि हरेक वर्ष दुई पटक एउटा सोह्रश्राद्घमा बुवाको तिथीको दिन श्राद्घ गर्दा र अर्को बुवाको मृत्युको महिना जुन माघ ४ गते पर्छ । दुईवटै समय कपाल काट्न नपरे पनि हुन्थ्यो भन्ने लाग्छ, तथापि कपाल काट्नैपर्ने बाध्यता छ । आज हामी जे छौं उही बावु–आमाको कर्मले छांै । फलनाको नाति फलनाको छोरा भन्ने परिचय उनै बुवाबाट पाएका छौ । आज हामीमाझमा बुवा नभए पनि बुवाले सृष्टी गरेको, आर्जन गरेको घर जमिन उनै बुवाको उपज रहेको छ । बुवाको भौतिक शरीर हामी माझमा छैन । तर, तिनै बुवाले बनाएको घर र तिनै बुवाले हलो जोतेर अन्न उब्जाएर हामीलाई पालनपोषण गर्ने खेत छ । यिनै माटोमा बुवाको मेहनतको पसिना छ, गोठमा गएर हेर्दा तिनै बुवाको सम्झना छ गाई, बाख्रा, कुखुरा, परेवा सबै बुवालाई नै खोजीरहेका छन् ।

दिउँसो घरमा गएको बेलामा हेर्दा कुखुरा, परेवा सबै बुवाले कतिखेर चारो हाली दिनुहुन्छ होला भनेर व्यग्र प्रतिक्षा गरेको भान हुन्छ । पशुपन्छि, जनावरले पनि माया गर्ने मान्छे, खाना दिने मान्छे चिन्नुपर्ने । ती मान्छे देख्दा प्रतिक्रिया दिने पशु भनेर के गर्ने ! अझ बुवाको स्वभाव पशुपन्छीलाई अत्यन्तै माया गर्ने चारो, दाना आफैले दिनुपर्ने कहिलेकाहीँ ममीले दिँदा पनि चित्त नबुझाएर आफैले दिनुहुन्थ्यो । खेत बाँझो राख्नुहुन्न भन्ने बुवाको सोच थियो । त्यसै अनुरुप खेतीपातीमा बुवालाई अत्यन्तै रुची थियो । बुवाले जानेको काम भने कै खेती थियो । त्यसैले आफ्नो कामलाई अत्यन्तै माया गर्नुहुन्थ्यो र कामलाई सम्मान गर्ने उहाँको बानी थियो । हामी उठ्ने बेलामा बुवा अघि नै जोत्न खेतमा पुगिसकेको हुनुहुन्थ्यो । बुवाका पनि कति इच्छा थिए होला, कति आकांक्षा थिए होला, कति रहर थिए होला । तर, हामीलाई कहिल्यै भन्नुभएन किनकि उहाँ हाम्रो बुवा हुनुहुन्थ्यो ।
छोराछोरीको इच्छा, आकांक्षा र रहर पूरा गर्न धेरै बुवाहरुले आफ्ना रहरहरुलाई दबाउनुपर्ने हुन्छ । आफूले एक अक्षर नजाने पनि हामीलाई बेलुका–बेलुका जहिल्यै पढ भनेर भन्नुहुन्थ्यो बुवाले, होम ट्युसनका लागि कृष्ण सर सुशील सरले घरमा नै आएर हामीलाई पढाउनु हुन्थ्यो । बुवाले सरहरुलाई भाई भन्नुहुन्थ्यो राम्रोसँग पढाउनु है भन्दै बीच–बीचमा भन्ने गर्नुहुन्थ्यो ।

बुवाले जीवनकालमा स्कूल जान पाउनु भएन। तर पनि हामीलाई काठमाडांैमा राखेर पढ्न लायक बनाउनु भयो । कसैको एक रुपैयाँ पनि नखानु, ऋण लिन अत्यन्तै डराउनु भन्ने बुवाको वाणी हाम्रो लागि मार्गदर्शक रहेको छ । आजभोलि पनि खेतबारीमा जाँदा बुवाको सम्झना आउँछ । बुवाले रोपेका रुखहरु ठूला–ठूला भएका छन् । साना–साना गराहरुलाई बुवाले जोत्दा अफ्ट्यारो भएर होला ठूला–ठूला बनाउनु भएको थियो ती गराहरुले बुवालाई नै पर्खे जस्तो लाग्छ । ती आलीहरु बुवाले नै बनाएका हुन् जसमा हामी आज खेतमा जाँदा हिँड्ने गर्छौं । धान फलाएर भकारी भरी राखेको हुन्थ्यो । मंसिर महिनामा धान बेचेर जाडोका लुगा किन्नुपर्ने बाध्यता थियो । गाउँघरमा सबैको प्रिय मान्छे बुवा, सबैको प्यारो हुनुहुन्थ्यो । सबैले कान्छा, कान्छा दाजु भनेर सम्बोधन गर्नुहुन्थ्यो । मलाई बुवालाई नामले बोलाएको थाहा भएन सबैले प्रायः कान्छा, कान्छा दाइ, भाइ भनेको मात्र स्मरण छ ।

मानिसको जन्मपछि मृत्यु निश्चित छ । तर, मानिसले मृत्युपर्यन्त पनि आफ्नो सम्झना छोड्न सक्नुपर्छ । बुवाको इच्छा पनि त्यस्तै थियो । पैसा कमाउनुपर्छ भन्ने इच्छा खासै थिएन । तर, जीवनमा खुसी कमाउनु चाहिँ महत्वपूर्ण हो भन्ने बुवाको राय थियो । हामीलाई स्कूल भर्ना गर्न जानु भयो होला । त्यसपर्यन्त हामीले बुवालाई स्कूलमा कहिल्यै देखेनौं । तर, स्कूलका सरहरुलाई भेट्दा हाम्रो बारेमा सोधीरहनु हुँदोरहेछ । बुवालाई स्कूलको ज्ञान नभए पनि पढ्न, लेख्न नआए पनि बुवालाई कहिल्यै पश्चताप रहेन होला जस्तो लाग्थ्यो । किनकि बुवा पढेको मानिसभन्दा पनि चाँडो कुनै पनि हिसाब गर्न सक्नुहुन्थ्यो र कुरा गर्र्ने क्षमता बुवामा थियो ।

बुवाले कहिल्यै पनि आफ्नो बुवा–आमाको चर्चा गर्नुहुन्न थियो । किनकि बुवा छ, सात वर्षको हुँदा नै बा–आमा बिती सक्नुभएको थियो भनेर भन्ने गर्नुहुन्थ्यो । तर, मामा–माइजुको चर्चा असाध्यै गर्नुहुन्थ्यो । मेरा मामा अहिलेसम्म बाँचेको भए ! माइजु अहिलेसम्म बाँचेको भए ! भनेर बारम्बार भन्ने गर्नुहुन्थ्यो । किनकि बुवाको लालनपालन नै मामाघरमा भएको थियो मामा–माइजुले नै बुवाहरुलाई हुर्काउनु भएको थियो । मामाको छोरा–छोरीलाई हुर्काउनु खेल्नु खुवाउनु नै मेरो दैनिकी थियो भन्ने गर्नुहुन्थ्यो । १४÷१५ वर्षदेखि होला मैले हलो जोत्न थालेको भन्नुहुन्थ्यो । म काम असाध्यै गर्थें त्यसैले पनि म मामा माइजुको प्यारो भान्जा थिएँ भन्नुहुन्थ्यो । मामाको छोराहरु भाइहरु हेमु, ज्ञानी र सानो भाइलाई त मैले हुर्काएको भन्नुहुन्थ्यो ती बहिनीहरुलाई पनि मैले नै धेरै गरे भन्नुहुन्थ्यो । बुवाको ती भनाइहरु आज सम्झँदा पनि बुवा हामी माझमा नै हुनुहुन्छ भन्ने भान हुन्छ ।

केही समय बुवा विरामी भएर ओछ्यानमा नै बसी रहनु पर्यो, हिँडडुल गर्न नसक्ने हुनुभयो । हामी सबै आ–आफ्नो काममा रहँदा घरमा बुवा हुनुहुन्छ भनेर हामी निर्धक्क भई आफ्नो काममा रहन्थ्यौं । बुवा विरामी भएर थलिइरहँदा पनि केही गर्न नसक्दा पनि हामीलाई बुवाको गार्जेनसीप रहेको भान हुन्थ्यो जे गर्दा पनि बुवा हुनुहुन्छ भनेर ढुक्क लाग्थ्यो । निर्धक्क भएर निदाउँथ्यांै । बुवा त्यो आँट हो, बुवा त्यो साहस हो, बुवा त्यो आत्मविश्वास हो, बुवा त्यो शक्ति हुनुहुन्थ्यो । र आज पनि बुवाको कोठामा पस्दा बुवा आफ्नो ओछ्यानमा नै सुतिरहनु भएको छ भन्ने भान हुन्छ हामीलाई ।

बुवाको तिथिले माघ १ गते तेस्रो वर्षको श्राद्घ गर्यौं । मितिले आज माघ ४ गते बुवाको भौतिक शरीरले हामीलाई छोडेर गएको दिन । हिन्दू संस्कारले पितृ भएको दिन । हिन्दू संस्कारले गर्दा नै हरेक वर्ष दुई पटक कपाल खौरेर सेतो लुगा लगाएर बुवाको श्राद्घ गर्दै आएका छौं । बुवाले हामीलाई छोडेर गए पनि यो मुण्डन कपालले हामीलाई बुवाको झ–झल्को आइरहन्छ बुवालाई सम्झने कार्य भइरहन्छ र हामी खुशी भएर कपाल मुण्डन गर्छौं । यो हाम्रो मात्र बुवाको कुरा होइन हरेक बुवाको घट्ना परिघट्ना यस्तै रहेको हुन्छ । तर, आज हामी माझमा बुवा नभएता पनि हामी दाजुभाइ र हाम्रो परिवारले बुवाको इच्छा र आकाक्षांमा ठेस पुग्ने कुनै पनि गतिविधि गरेका छैनौं र गर्ने पनि छैनौं भन्ने वाचा समेत गर्दै बुवाको नामलाई उच्च राख्ने प्रयासरत् रहने पनि प्रण गर्दछौं ।

तपाईले हामीलाई दिनुभएको आशीर्वादलाई उच्च सम्मान गर्दछौं, तपाईले देखाएका बाटो, सिकाएका शिक्षालाई हामी कदापि भुल्ने छैनौं । तपाईको पार्थिव शरीर हामी माझ छैन, तर पनि तपाईले सृष्टी गरेका संरचनाले हामीलाई तपाई हामीसामु नै भएको महशुस गराउँछ । हाम्रो छोराछोरी विरामी हुँदा हामी राति अनिँदो बस्दा तपाई पनि हाम्रो लागि कयांै रात अनिँदो बस्नुभयो होला भन्ने महशुस हामीले आज गरेका छांै ।

मृत्युपश्चात मानिस कि स्वर्ग कि नर्कमा गएर बस्छ भन्ने हाम्रो धार्मिक मान्यता पक्का पनि तपाई स्वर्गमा बसेर हामीले गरेका गतिविधि नियाली रहनु भएको छ भन्ने लाग्छ । भनिन्छ, भौतिक शरीर विलिन भएर जान्छ, तर आत्मा कहिल्यै मर्दैन भने झंै तपाई जहाँ भए पनि हामी तपाईको आत्माको चिरशान्तिको कामना गर्दछौं बुवा ! सम्पूर्ण परिवारको तर्फबाट श्रद्घासुमन अर्पण गर्दछांै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here