निष्ठाको समीक्षा गरौं

0
346

सम्पादकीय

सरकारले चोरी तस्करी नियन्त्रणका नाममा जति नयाँ विधि अपनाउँछ त्यति नै अवैध ढंगले निकासी र पैठारीका क्रम र परिमाण बढ्दै गएका छन् । देश र जनताको आर्थिक समृद्धिको आधार मध्येको एक उपभोग्य वस्तुको आयात–निर्यातमाथि लगाइने ‘कर’ नै हो । तर, त्यही छलछामबाट प्रभावित हुँदा राज्यको आम्दानी घट्दै जाँदा विकास र समृद्धिका योजना ओझेलमा पर्नु स्वभाविक हो । खासगरी भारतसँग सीमा जोडिएका र खुल्ला सीमा रहेका कारण उपभोग्य वस्तु ल्याउन र पठाउन कुनै समस्या नै छैन । त्यही कारण सरकारले सीमानाकामा तस्करी रोक्न जतिसुकै कडाइ गरे पनि अथवा जनशक्ति थपे वा नयाँ तरिका अपनाए पनि अवस्था सुध्रिएको छैन ।

देशको आम्दानीको स्रोत हुने मूल्यांकन गरेरै पहिलो प्रधानमन्त्री भीमसेन थापाले भन्सार कार्यालयको स्थापना गराए । त्यसयता थुपै्र यस्ता चौकी, कार्यालय थपिए पनि अपेक्षित लाभ लिन सकिएको छैन । त्यस्ता निश्चित क्षेत्रमा बढ्दो चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र, जनपद प्रहरी परिचालन गरिएका छन् । यसबाहेक राजश्व तथा भन्सार गस्ती सुरक्षा पोस्ट नै खडा गरेर अवैध आयात–निर्यातलाई नियन्त्रण गर्न खोजिएको छ । यसले पनि नियन्त्रण नहुँदा उपकरण जडानदेखि सादा पोशाकका जनशक्तिलाई परिचालन गरिएको छ, तर पनि न्यूनीकरण हुन सकेको छैन ।

व्यक्तिगत लाभका लागि मानिसले कुनै न कुनै पेशा गर्नु पर्दछ । वैध, कानूनसम्मत र असल नियतबाट गरिने कामबाट ठूलो सपना पूरा हुँदैनन् । त्यहीकारण मानिस छिट्टै धेरै लाभ लिन प्रेरित हुन्छ । त्यसका लागि गलत बाटो, गलत पेशा र गलत कामतर्फ अग्रसर हुँदा सरकारले अपेक्षा गरेको लक्ष्यले पूर्णता पाउँदैन । परिणाम राजश्व घट्दै जान्छ, अनुचित कार्य गर्नेहरु मोटाउँदै जान्छन् । यस्तो कार्यलाई दुरुत्साहन गर्न नसक्दा समाजमा गलत कार्य गर्नेहरु बढ्दै जान्छन् र सामाजिक अपराधका घटना पनि थपिन्छन् । यसैलाई रोक्न जुन कुनै देशले एने–कानूनको निर्माण गरेर प्रहरी प्रशासन मार्फत गतिविधि नियमितरुपमा सञ्चालन गर्छन् ।

कृषि उत्पादन निर्यात गरेर देशको अर्थतन्त्र बलियो बनाउने नेपाल सरकारको प्रयासमा तस्करी गर्ने कारोबारीहरुले अवरोध पु¥याइरहन्छन् । बढ्दो जनसंख्यालाई आवश्यक वस्तु तथा सेवाको पहुँचका लागि आम्दानी बढाउनुपर्ने बाध्यता सँगै हुर्किएको अपराध पद, पैसा र शक्तिको आडमा झनै बलियो हुने गरेको पनि छ । प्रहरीले इमान्दार प्रयास गर्दा कहिले कारोवारीहरुले माथिल्लो तहबाट दवाव दिलाएर हतोत्साही बनाएको, घटना पनि छन् । त्यस्तै प्रहरी प्रशासनलाई नै प्रलोभनमा पारेर ‘तैँ चुप मैँ चुप’ भएको पनि हुनसक्छ । गृहस्थीले सिधा बाटोबाट उपभोग्य वस्तु ल्याउँदा अनेक बहानामा दुःख दिने भन्सार, प्रहरी अनि चेकजाँचका नाममा नाजायज लाभ लिन खोज्नेहरुका कारण बदनाम संगठन सबैको निष्ठाको समीक्षा गर्नु पर्दछ । अन्यथा तस्करीको जालो झनै बलियो हुँदै जाने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here