शिवरात्रीको महिमा

0
2161

कृष्णप्रसाद ढकाल,

फाल्गुन कृष्ण चतुर्दशी आराध्यदेव भोलेनाथको सम्झना स्वरुपको महाशिवरात्री व्रत पर्वको अध्यात्मिक र सास्ंकृतिक महत्व अतुलनीय छ । बराहपुराणमा उल्लेख भए अनुसार पशु भन्नाले विद्या, पशुपतिको अर्थ विद्याका पति हुनेले विद्या आर्जनमा पशुपतिको आराधना । शिवजीलाई मानिसहरु धेरै नामबाट चिन्छन्, जस्तैः शंकर, महेश, महादेव, रुद्र, पशुपति, कैलाशपति, भोलेनाथ ।

प्राणी जतिको हीतलाई अग्रभागमा राखेर हलाहल विष पिउँदा बिषको तापले निलकण्ठ भई चिसोको खोजीमा गोंसाईंकुण्ड पुग्ने र पत्नी सतीदेवीको असामयिक निधनको वियोगमा मृत शरीरलाई बोकेर आँशुका धारा बगाउँदै लामो समयसम्म रातदिन नभनी ब्रम्हाण्ड यात्रा गर्ने मनको यति सफा र कमलो व्यक्तित्व कहाँ पाइन्छ ? कहाँ देखिन्छ ? खोइ घमण्ड ? त्यो पीडादायी यात्राका क्रममा गल्दै गएको सतीदेवीको शरीरका अङ्गहरु जहाँ–जहाँ बिसर्जन भए त्यहाँ–त्यहाँ लोकहीतका उद्देश्यबाट शक्तिपीठको उत्पत्ति र स्थापना हुँदै गए ।

पौराणिक ग्रन्थका अनुसार शिव परिवारको वासस्थान कैलाशपर्वत हो । तापनि माता पार्वतीका मनोरम वासस्थानहरु जसलाई शक्तिपीठका रुपमा हेरिन्छ । ती नेपालका बिभिन्न ठाउँहरुमा छन् । ताप्लेजुङको पाथीभरा । शिवपार्वती सनातनीहरुका संरक्षक मानिन्छन् र उनको सम्झनामा मनाइने पर्व शिवरात्रीलाई ‘महाशिवरात्री व्रत पर्व’ भनिन्छ । प्रायः उस्तै लाग्ने मानी आएका केही रात्रीकालीन पर्वहरुमा शिवरात्री (शिव भगवानको उपासना गर्ने रात), मोहरात्री (श्रीकृष्ण जन्म भएको रात), कालरात्री (हिन्दूहरुको महादशमी चाडमा महाअष्टमी र महानवमीबीचको रात) र सुखरात्रि (त्यौहारमा चारैतिर उज्यालो पारेर लक्ष्मीपूजा मनाउने गरिएको रात)का नामहरु उल्लेखनीय छन् ।

पूर्वका पशुपतिनाथ भनेर चिनिएको अर्जुनधारा जलेश्वरधाममा महाशिवरात्री व्रत पर्व धूमधामसँग मनाउने परम्परा छ । त्यसरी नै बुद्धशान्ति साधूकुटीमा पनि मनाइन्छ । श्री जगदीश्वर शिव पाञ्चायन मन्दिर बुद्धशान्ति–२ जयपुरमा भब्य अनुष्ठानले निरन्तरता पाइरहेको छ । धार्मिक र सास्ंकृतिक रुपमा मनाइने गरिएको ‘महाशिवरात्रि व्रत पर्व’ हिजोआज अझ व्यवस्थित गरी आस्था र विश्वासले मनाउन थालिएको देखिन्छ । हिमवत्खण्ड नेपाल माहात्म्यमा महाशिवरात्री पर्व मनाइने प्राचीनकालको मुख्य केन्द्र काठमाडौं उपत्यकालाई ‘पाशुपत् क्षेत्र’ भनी उल्लेख गरिएको पाइन्छ । छिमेकी मुलुक भारतबाट पनि शिवरात्री पर्वको उत्सवको उपलक्ष्यमा पशुपतिनाथको दर्शन समेत हुनेगरी आस्था र विश्वास बोकेर आएका साधुसन्त र भक्तहरुको घुइँचो बिहानैदेखि पशुपति मन्दिर वरको रिङरोडसम्म लाइन देखिन्छ ।

रेडक्रस, परोपकार, स्काउटहरुले दर्शनार्थीहरुका लागि सेवाका आवश्यक व्यवस्था गरिरहेका हुन्छन् । बेलुका भक्तजनहरु धुनी जगाउँदै अनेक भजनकिर्तन गरी जाग्राम बस्छन् । ‘पशुपतिनाथको जय, पशुपति महादेवको जय’का नाराहरु लगाइरहेका हुन्छन् । गुठी सस्ंथानबाट यी सबैको खानपीन र बसोबासको व्यवस्था हुन्छ । जसरी कास्मिरमा अमरनाथ, उत्तर प्रदेशमा केदारनाथ, नेपालमा पशुपतिनाथलाई शिव आराधनामा हिमालय क्षेत्रका प्रम्ख धार्मिकस्थान मानिन्छन् त्यसरी नै (१)गोसाइँ थान र (२) मुक्तिनाथ समेत प्रसिद्ध छन् । यसै दिन दिउँसो टुँडिखेलमा सैनिक दिवसको उपलक्ष्यमा नेपाली सैनिकहरुद्वारा परेड लगायतका कार्यक्रमहरुको समारोह पनि भइरहेको हुन्छ । जसलाई वरिपरि बाक्लै रुपमा उपस्थित भएका मानिसहरु उभिएरै रमाउँदै हेर्ने गर्दछन् ।

महाशिवरात्री पर्व सन्दर्भमा पाइएका कथाहरु मध्ये एउटा तात्विक रहस्य भएको कथा चाहिँ यसप्रकार छ–एकजना ब्याधा शिकारको खोजी गर्दै हिंड्दा घनाजङ्गलमा पुगेछ । दिनभरि जताततै घुम्यो रात परुञ्जेलसम्म शिकार भेट्टाउन सकेन । थकान र हैरानीले दिक्क भई, जङ्गलभित्रै पोखरी नजिकैको बेलको रुखमुनि बास बस्यो । त्यसको नजिकैमा बाक्लो गरी बेलपत्रले छोपिएको शिवजीको मूर्ती रहेछ उसले देखेको थिएन । दिनभर असफल भएको दिक्दारी र पीडाले मनमा अनेक कुरा खेलाउँदै, बेलका पात टिप्दै फाल्दा त्यसै प्रतिमामा पर्दाेरहेछ । यसैको प्रभावले मनमा केही परिवर्तनहरु भएछन् । त्यतिकैमा एउटी मृगिणी पानी खान भनेर त्यहाँ आई, त्यो देखेर ब्याधाले बल्ल शिकार फेला प¥यो भनी धनुष बाण ठीक पार्न थाल्यो ।

त्यो देखेर मृगिणीले हतार–हतार ब्याधासँग अनुरोध गर्दै भनी ‘ब्याधा दाइ कृपया मलाई अहिले नमार, किनभने घरमा दूध ख्वाउनुपर्ने मेरा साना–साना नानीहरु छन् । उनीहरुलाई पहिले घर गएर मेरो दूध खुवाउँछु र फर्केर फेरि यही आउँछु, अनि जे गर्छाै गर !’ मृगिणीका यो हृदयविदारक कुरा सुनेर उसको मन पग्ल्यो र ‘हुन्छ’ भनी धनुषबाण थन्क्याएर मृगिणीलाई जान दियो । आ–आफ्नो बचन राख्नलाई सबै मृगहरु ब्याधाका अगाडि देखापर्न आए । तर, शिवजीका प्रतिमामा झुक्किएरै भए पनि बेलका पात चढाएका कारण त्यसको अन्तःकरणमा सत्वगुणको बिकास भइसकेको हुनाले ती मृगहरु उसकासामु बचन राख्न देखा परे पनि उसले ती मृगहरुमा धनुषबाण चलाउने हिम्मत गर्न सकेन ।

आज यस्तो अनौठो कसरी भएको होला ! भनेर विचार गर्दा उसलाई थाहा भयो ‘त्यो दिन फाल्गुण कृष्ण चतुर्दशी अर्थात् महाशिवरात्रीको दिन परेको रहेछ, अनि शिवजीको प्रतिमामा बेलपत्र चढाएको प्रभावको कारणले उसको ज्ञानचक्षु खुलेको रहेछ ।’ पछि कथाको अन्त्यमा शिवदूतहरु आएर त्यसलाई शिवलोक लगेको प्रसङ्ग आउँछ यसरी धर्मबाट सद्गति प्राप्त हुनेरहेछ भन्ने एउटा ज्वलन्त उदाहरण बन्न पुग्छ ।

हिमतत्वखण्डको तीर्थमय यो पावनभूमि नेपालमा, पशुपतिनाथको प्रभाव अतुलनीय र अवर्णनीय छ । संसारमा सबै कुरा शिवतत्वबाटै आउँछ र त्यहीं मिल्छ, त्यसैले शिवतत्वलाई आत्मसात गरौं । धन, जन वा तन त्यागेर होइन सच्चा र प्रिय हुन, अहम् त्यागौं । शिवको प्रिय देखिइने बहानाको गाँजा, भाङ, धतुरो, रिस, राग र अहंकार लगायत निसाको सेवन त्यागौं । सच्चा शिवभक्त बनौं, यो अनमोल जीवनलाई असल मार्ग उन्मुख गराउँदै महाशिवरात्री व्रत पर्वलाई नितान्त आफ्नो जीवन मानेर आस्था र विश्वाससँग खुब खुशियालीपूर्वक एकजुट भएर मिलेर रमाउँदै मनाऔं । जय शम्भो । शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here