शिवतत्वको पहिचान गरौं

९ फाल्गुन २०७६, शुक्रबार मा प्रकाशित

सम्पादकीय

आज महाशिवरात्री । वैदिकसनातनी धर्मका अनुयायीहरुका लागि यो दिन विशेष महत्व रहेको छ । चन्द्रमासको चौधौं दिन अर्थात् चन्द्रमा उदाउनु अघिको रातलाई शिवरात्री भनिन्छ । हरेक वर्षको फागुन महिनाको कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रीको आध्यात्मिक र सांस्कृतिक महत्व छ । त्यसमा पनि नेपाल सनातन संस्कृतिको आधारभूमि हो । अनेक देवी–देवताहरुले विचरण गरेको, ऋषि–महर्षिहरुले ज्ञान आर्जन गरेको पुण्य र पवित्र भूमि नेपाल वैदिक सनातन हिन्दू धर्म मान्नेहरुका लागि सर्वोच्च तीर्थ नै हो । त्यहीकारण आज भारत लगायतका देशहरुबाट असंख्य भक्तजनहरु पशुपतिनाथ मन्दिरमा उपस्थित भएर भगवान शिवको विशेष पूजा आराधना गर्दछन् ।

नेपाली धर्म, संस्कृति, संस्कार एवम् चाडपर्वहरुमा सम्पन्न छौं । वर्षको तीन सय पैंसठ्ठी दिन नै कुनै न कुनै चाडपर्व पर्छन् र तिनले हामीलाई उद्देश्यपूर्ण र सार्थक जीवन जिउन प्रेरणा दिन्छन् । कुनै अन्ननामको ऐश्वर्य भित्र्याउन, कुनै शरीरलाई शुद्ध पार्न, कुनै मन, विचार र कर्मलाई उद्देश्यमूलक बनाउन त कुनै विज्ञानसँग जोड्ने हाम्रा पर्वहरुको सूचीमा महाशिवरात्रीको छुट्टै स्थान रहेको छ । शिवरात्रीकै लागि आउने दर्शनार्थीहरुको भीडमा साधुसन्त, सन्यासी–जोगीहरुको बेग्लै उपस्थिति रहन्छ । जसलाई सरकारका तर्फबाट पशुपति विकास कोष मार्फत दक्षिणा, भेटीसहित औपचारिक रुपमै विदाइ गर्ने परम्परा छ ।

भगवान शिव निराकार छन् । उनको प्रारम्भ र समापनको कुनै रेखा वा चिह्न छैन । उनको क्रोध र आवेगले संसारलाई क्षणमै विनाश गर्न सक्छ । ब्रह्माण्डमा रहेको हावा, पानी, आकाश, आगो र माटोलाई पञ्चतत्व भनिन्छ । सम्पूर्ण सृष्टि यही पञ्चतत्वबाट बनिएको हुन्छ । मानिस पनि यही तत्वको सृजना हो र यी पाँचतत्वका स्रोत र आधार भगवान शिव हुन् । विश्व ब्रह्माण्डमा भएका सबै विकृति र विसंगतिहरुलाई समन गर्न सक्ने एकमात्र शक्ति शिवशक्ति हो । त्यही कारण शिवले कालकुट विष पिएर संसारलाई सुख र खुशी दिए । शिव त्यही तत्व हुन्, जसमा रहेको करुणा सतीदेवीको मृत्युबाट उत्पन्न वियोगमा देखिएको छ । सतीदेवीको मृत शरीर बोकेर लामो समय विश्व ब्रह्माण्डको यात्रा गरे शिवले ।

भगवान शिवको वार्षिकीको यो दिन पर्वत रुपधारण गरेको दिन पनि हो । योगी र साधकहरुका लागि शिव शक्ति आदि गुरु हुन् जसले सप्तऋषिहरुलाई योग शिक्षा हस्तान्तरण गरेका थिए । त्यहीकारण दया, माया, करुणा, प्रेम, निष्ठा र समर्पणका पर्याय भगवान शिवप्रति हामी पनि समर्पित होऔं । शिवतत्वलाई आत्मसात गरौं, रिसराग, अहंकारलाई त्यागौं र जीवनलाई उद्देश्यपूर्ण र सार्थक बनाऔं । आजका दिनले सबै मानिसलाई सत्य र निष्ठाको बाटोमा हिँड्न प्रेरित गरोस्– शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here