झापा,
दुई जना व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको झापा जिल्लामा स्वास्थ्यकर्मीका लागि प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले व्यक्तिगत स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ ।

राज्यमन्त्री गजमेरले १५० थान पिपइ, दुई हजार ८०० थान सर्जिकल मास्क, ५०० थान पञ्जा र १५० थान एन–९५ मास्क शुक्रबार स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभयो । विराटनगरस्थित मन्त्रालयबाट राज्यमन्त्री गजमेर आफैँ ती सामान लिएर झापा आउनुभएको थियो ।

पौडेलले ती सामान दोस्रो कोरोना भेटिएको बाह्रदशी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई दिनुभएको छ । राज्यमन्त्री गजमेरले शुक्रबार नै बाह्रदशी गाउँपालिकाको कोरोना प्रभावित क्षेत्रमा पुगी त्यहाँको समस्या बुझ्नुभएको हो । झापाको पहिलो कोरोना दमकमा र दोस्रो कोरोना बाह्रदशीमा पुष्टि भएको छ ।
वाह्रदशी गाउँपालिकामा एक व्यक्तिमा कोरोना संक्रमणको लक्षण देखा परेपनि अन्य ६२ जनाको स्वास्थ्य परीक्षण गर्दा सो रोगको संक्रमण भेटिएको छैन ।
गाउँपालिकामा कोरोनाको संक्रमणको लक्षण देखापरेपछि त्रास फैलिएपनि अहिले अन्य व्यक्तिमा कोरोनाको संक्रमण नदेखिएपछि अवस्था सामान्य बनेको गाउँपालिकाले जनाएको छ ।

उता दमकमा पनि कोरोनाको संक्रमण भेटिएपछि सुरक्षा सर्तकता उच्च बनाइएको थियो ।
दुवै क्षेत्रमा निगरानी र स्वास्थ्य परीक्षण तीव्र पारिएको हुँदा व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामग्री र कोरोना जाँच्ने किटको माग बढिरहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पौडेलले बताउनुभयो ।
सम्वन्धित समाचारहरु .
काेराेना संक्रमितकाे सम्पर्कमा आएका बाह्रदशीका ६२ जनाकै पिसिआर नेगेटिभ
बाह्रदशीका कोरोना संक्रमितको सम्पर्कमा आएकालाई खोजिँदै, ६२ जनाको स्वाब संकलन





























