जिल्लामै सबै भन्दा बढी कोरोना सङ्क्रमित फेला परेको कचनकवलमा भीटीएम किट अभाव

0
996

तीन दिनदेखि स्वाब सङ्कलन ठप्प, सरकारले नपठाउँदा गाउँपालिकाले खरिद गर्‍यो ५ सय किट

पार्थ मण्डल / भद्रपुर । 

जिल्लामै सबै भन्दा बढी ३३ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको दक्षिणी झापाको कचनकवलमा थप स्वाब सङ्कलन कार्य तीन दिन देखि बन्द छ ।

स्वाब सङ्कलन गर्ने भीटीएम किट जिल्लामै अभाव भएपछि कचनकवलका क्वारेनटाइनमा बसेका १३३ जनाको पिसीआर परीक्षणमा ढिलाइ हो । जिल्लामै भीटीएम किट अभाव भएपछि भारतबाट फर्किएका गाउँवासीको स्वाब परीक्षणका लागि गाउँपालिकाले ५ सय भीटीएम किट खरिद गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।

‘जिल्लामै भीटीएम किट अभाव भएपछि क्वारेनटाइनमा बसेकाहरूको स्वाब सङ्कलन कार्यले तीव्रता पाउन सकेन’, अध्यक्ष आलमले भने, जिल्लासँग माग्दा छैन भन्छन्, सरकारले कहिले किट पठाउँछन् पर्खिएर बस्नु भन्दा पनि गाउँपालिका आफैले एक हजार किट खरिद गर्ने निर्णय गर्‍यो । तर, पाँच सय किट मात्र खरिद गर्न पाइयो ।’

कोरोना सङ्क्रमित बढेको झापामै प्रदेश तथा सङ्घीय सरकारले भीटीएम किट पठाउन नसक्दा यसले थप समस्या पारेको बताउँदै उनले भने, ‘सरकारले तत्काल भीटीएम किट जिल्लाका स्थानीय तहहरूमा पठाइदिनु पर्‍यो ।’

गाउँपालिकाले आफ्नै बजेटबाट किट खरिद गरेकोले आइतबारदेखि थप स्वाब सङ्कलन सुरु गरिने उनले बताए । उनका अनुसार केचनाको महेन्द्र रत्न माविको क्वारेनटाइनमा ९८ र पाठामारीको जानकी आधारभूत विद्यालयको क्वारेनटाइनमा ३५ गरी १३३ जनाको स्वाब सङ्कलन गरिन्छ । उनीहरू सबै भारतको मुम्बई, दिल्ली लगायतका संक्रमति राज्यबाट आएका हुन् । अहिलेसम्म क्वारेनटाइनमा बसेका १०५ जनाको स्वाब सङ्कलन गर्नुका साथै पीसीआर रिपोर्ट पनि आइसकेको छ ।

त्यसमध्ये ३३ जनाको पोजेटिभ र अरू सबैको रिपोर्ट नेगेटिभ आएको छ । ‘भारतबाट गाउँका युवाहरू फर्किने क्रममा रहेको छ, उनले भने, ‘भारतको तामिलनाडुबाट ७० जनाको टोली गाउँ आइरहेको जानकारी प्राप्त भएको छ, त्यसका लागि थप क्वारेनटाइन बनाउने काम भइसकेको छ ।’

आतङ्कित नहुन गाउँवासीलाई गाउँपालिकाको आग्रह

भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका कचनकवलबासी अहिले धमाधम गाउँघर फर्किरहेका छन् । कोरोना त्रासपछि भारतमा रेल लगायतका यातायातका सवारीसाधन खुलेपछि उनीहरू स्वदेश फर्किन थालेका हुन् । भारतमा अलपत्र परेपछि उनीहरू समूह बनाएर घर आउन थालेका छन् ।

भारतबाट गाउँ फर्किएका उनीहरूलाई गाउँपालिकासहित स्थानीय प्रहरी, प्रशासनले नियन्त्रण लिएर सोजै क्वारेनटाइनमा लगेर राख्न थालेका छन् । जसले गर्दा समाजमा कोरोना फैलिन पाएन । गाउँपालिकामा शनिवारदेखि शनिवारसम्ममा २३८ जना आइसकेका छन् । उनीहरूलाई गाउँपालिकाको विभिन्न क्वारेनटाइनमा लगेर राखिएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।

‘भारतबाट आएका गाउँवासीमा कोरोना भाइरस देखिएपछि अहिले गाउँवासीमा त्राससँगै आतङ्क छाएको होला,’ अध्यक्ष आलमले भन्छन्– ‘तर गाउँवासीलाई त्राससँगै डराउनु पर्ने अवस्था छैन । भारतबाट अहिलेसम्म फर्किएका सबैलाई क्वारेनटाइनमा लगेर सुरक्षित रूपमा राखेका छौँ । उनीहरूलाई आफन्तसँगै छरछिमेकमा घुलमिल हुन दिएका छैनौँ । त्यसैले आतङ्कित बन्ने काम छैन ।

यस्तो बेलामा गाउँवासीले धर्येतासँगै स्थानीय सरकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सहयोग गर्नुपर्ने हुन्छ ।’ हामी कोरोना रोकथामका लागि विभिन्न योजना बनाएर अघि बढिरहेको बताउँदै उनले भने, ‘भारतबाट आउनेमाथि निगरानी बढाएका छौ, आउने जति कोही पनि गाउँ प्रवेश गर्न पाउने छैन ।’ कोरोना सङ्क्रमित देखा परेसँगै बुधवारदेखि नै ६ दिनका लागि गाउँपालिका सिल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here