झापा, 
विश्व भरी छरीएर रहेका झापालीहरुको छाता संगठन अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो गृह जिल्लालाई प्रारम्भिक चरणको राहत स्वरूप ५ लाख रुपैयाँ बराबरको कोरोना भाइरस परिक्षण गर्ने पि सि आर टेष्ट किट दिने भएको छ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा हिजो बसेको बैठकले झापा जिल्लाका सबै नगरपालिका र गाउपालिकाहरुमा राहत वितरण कार्यमा सहयोग गर्ने निर्णय गरेको हो। बैठकका निर्णयहरू बारे जानकारी गराउंदै समाजका प्रवक्ता बालहरि राईले उक्त कुराको जानकारी गराएका हुन।
अन्तर्राष्ट्रिय झापाली समाजका संरक्षक दिनेश पोखरेलका अनुसार कोरोनाको यो महामारीको समयमा आफ्नो जिल्ला र जिल्लावासीहरुसंग भौतिक दूरीले टाढा भएता पनि अन्तर्राष्ट्रिय झापाली समाज यो दुखमा सम्पूर्ण झापाली हरुको साथ छ भन्दै आजको बैठकले सम्पूर्ण राष्ट्रिय कार्य समिति हरू संग समन्वय गर्दै झापामा कोरोना पिडितको लागी राहत कार्यको शुरूवात गर्ने निर्णय गरेको हो। “एकका लागी एक “ अभियान अन्तर्गत झापा जिल्लामै प्रस्तावित कोरोनाको परिक्षण गर्ने ल्यावको चाडै व्यबस्था गरिने भएमा समाजले थप उल्लेखनीय सहयोग गर्ने प्रतिबद्धता समेत वैठकले गरेको छ।
अध्यक्ष सुव्वाले उत्साहित हुदै हाम्रो समाजले विगत बर्षमा पनि बाढीपहिरोबाट पिडित झापालीको ९ वटा घर बनाएर पुनःस्थापना गरेको र ३ वटा एम्बुलेन्स सञ्चालन गरी जिल्लावासीसंग सुख दुखमा जोडिरहेको स्मरण गराए। समाजका उपाध्यक्ष नविन पोखरेल हाल गृह जिल्ला झापा मै राहतको लागि फिल्डमा खटिनु भएकोले उहाँले जिल्लामा स्थानीय निकायहरू, एकका लागी एक अभियान संग समेत समन्वय गरी आवश्यकताको आधारमा स्थानीय तहमा किट हस्तान्तरण गर्ने समेत आजको बैठकले निर्णय गरेको छ। साथै आवश्यकता अनुसार अन्य राहत वितरण कार्यलाइ समेत निरन्तरता दिइने कुरा सल्लाहकार रूपराज मैनालीले वताए।
जुम एप प्रयोग गरि सञ्चालन गरिएको अनलाइन बैठकमा समाजका निवर्तमान अध्यक्ष तथा संरक्षक दिनेश पोखरेल, वरिष्ठ उपाध्यक्ष दिपक खनाल, उपाध्यक्षहरु दिपक ओली, दिपक चुडाल, नबिन पोखरेल, कोषाध्यक्ष चुडामणि कार्की, प्रवक्ता बालहरी राई लगायत पदाधिकारीको सहभागिता थियो भने सञ्चालन महासचिव खेमराज जमरकट्टेलले गरेका थिए।































