उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थी अन्यौलमा

0
1312

झापा।

उच्च शिक्षा अध्ययनका लागि विदेशका विभिन्न विश्वविद्यालयमा भर्ना भइ भीसा समेत आइसकेका ५ हजारभन्दा बढी विद्यार्थी महामारीका कारण अन्यौलमा परेका छन् ।

एकातिर कलेजमा बुझाएको शुल्क र शैक्षिक सत्रलाई लिएर अभिभावकमा चिन्ता छ भने अर्कातिर अन्तर्राष्ट्रिय उडान कहिले खुल्छ भन्ने अन्यौल छ । उच्च शिक्षा अध्ययनका लागि वर्षेनि ६५ हजारको हाराहारीमा विद्यार्थी विदेश जान्छन् ।

ती मध्ये सबैभन्दा बढी अस्ट्रेलिया, जापान, कोरिया लगायतमा छन् । उच्च शिक्षाका लागि विदेश जान भन्दै यस वर्ष ३३ हजार विद्यार्थीले नोअब्जेक्सन लेटर लिएकामा करिब १० हजार जना लकडाउनका कारण जान पाएका छैनन् । अस्ट्रेलियाको प्रवेषाज्ञा पाएर रोकिएका मात्रै १२ सय छन् । थप २२ सय जना प्रवेशाज्ञाको प्रक्रियामा छन् ।

जापानमा ६ हजार विद्यार्थीले पढ्न जाने अनुमति लिएर बसेका छन् । तीमध्ये ४१ सयले योग्यता परीक्षा उत्तीर्ण गरेका छन् । विभिन्न देशमा गरी ७ हजारको हाराहारीमा विश्वविद्यालय कलेजमा अध्ययनका लागि प्रक्रिया पूरा गरी बैंक तथा वित्तीय संस्थाको ऋण लिएर शुल्क बुझाएका छन् ।

विदेशमा पढ्न जाने विद्यार्थीले १० लाखको हाराहारीमा पहिलो किस्ताको शिक्षण शुल्क बुझाउनुपर्छ । यो हिसाबले ५ हजारभन्दा बढी विद्यार्थीले विभिन्न कलेजमा ५ अर्बभन्दा बढी शुल्क बुझाइसकेका छन् । कतिपय विश्वविद्यालय र कलेजले अनलाइन लगायत वैकल्पिक माध्यमबाट पढाउन थालेकाले पढाइ छुट्ने चिन्ता विद्यार्थीमा छ । पढ्ने नाममा नेपाली युवा विदेश पठाउने व्यवसाय फस्टाएपछि च्याउजसरी उम्रेका संस्था पनि यतिखेर संकटमा परेका छन् ।

बानेश्वर, पुतलीसडक लगायत क्षेत्रमा कोठैपिच्छे रहेका कतिपय संस्था बन्द हुन थालेका छन् । परामर्शदाता संघका अनुसार, देशभर करिब १७ अर्ब लगानीका ३ हजार यस्ता संस्था खुलेका छन्, जसमध्ये २० प्रतिशत बन्द भइसकेका छन् ।

यो समयलाइ स्वदेशमै गुणस्तरीय शिक्षाको प्रत्याभूति दिने तयारी सरकार र नीति निर्माताहरूले गर्न सके नेपालमै सम्भव हुने पढाइका लागि पनि विदेश जान मरिहत्ते गर्ने प्रवृत्ति निरूत्साहित गर्न सकिनेछ । यसबाट ठूलो रकम विदेशिनबाट रोकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here