ओेलीको समर्थनमा प्रदर्शन

१९ असार २०७७, शुक्रबार मा प्रकाशित

झापा।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा उनका समर्थकहरूले बिहीबार प्रदर्शन गरेका छन् ।

‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’जस्ता नारा लगाउँदै प्रधानमन्त्री ओलीका समर्थकले झापाको बिर्तामोडस्थित मुक्ति चौकमा प्रदर्शन गरेका हुन् । पार्टीभित्रै प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारिएको र राजीनामा गर्न बाध्य पार्न खोजिएको भन्दै समर्थकहरूले प्रदर्शन गरेका हुन् ।

नेकपाका युवा नेता टीकाराम मग्रातीको अगुवाइमा सत्तारुढ पार्टी सम्बद्ध भातृ संस्थाका युवाहरू प्रदर्शनमा निस्किएका थिए । झापाबाट चुनाव जिताएर पठाएको प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री भएपछि जबरजस्ती राजीनामा गर्न लगाउने खालको षड्यन्त्र भएको भन्दै युवाले विरोध जनाउँदै प्रदर्शन गरेका हुन् ।

उता शीर्ष तहका नेताबीचको विवादका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको विहीवारका लागि तोकिएको बैठक प्रभावित भएको छ । स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ताको निवेदनका विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो ।

बिहीवा बिहान ११ बजेका लागि तोकिएको स्थायी कमिटी बैठक स्थगित भयो । सरकारको सिफारिसमा बिहीवार नै राष्ट्रपतिले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठकलगत्तै परामर्शका लागि शीतल निवास पुगेका थिए । स्थायी कमिटीका अर्का सदस्य केशवप्रसाद बडालले दुई अध्यक्ष आपसमा बसेर सहमतिमा पार्टीलाई एकताबद्ध बनाउनुपर्ने र दुर्घटनामा लान नहुने बताए ।

यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले दिएको अभिव्यक्ति ‘सरकार हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका नेताहरूको संलग्नता रहेको’ तथा दुई दिनअघि निर्वाचन आयोगमा एमाले दल दर्ताका लागि आवेदन परेका सम्बन्धमा स्थायी कमिटीमा छलफल हुँदा पूर्वनिर्धारित कार्यसूची प्रभावित हुँदै आएका थिए ।

बैठकमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसीलगायत कार्यसूची राखिएका थिए ।
ओलीले आफूले पद छाड्नु परे पुष्पकमल दाहाल वा माधव नेपाललाई नछाड्ने बरु सहमतिमा नयाँ व्यक्तिलाई बनाउने भन्दै सुवास नेम्बाङको नाम लिएपछि नेकपाको राजनीतिमा नयाँ तरंग शुरु भएको छ । चरम राजनीतिक संघर्षमा रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा परिस्थिति यस्तो भएको छ कि नेताहरुले संयम देखाएनन् भने कुनैपनि बेला यो पार्टी दुई टुक्रामा चोइटिने छ ।

प्रधानमन्त्री ओली सरकार र पार्टी दुबै मोर्चामा असक्षम भएको भन्दै हटाउन दाहाल र नेपाल पक्षका नेताहरु लागेपछि ओलीले पनि नयाँ तुरुपका रुपमा नेम्बाङलाई अघि सारेका हुन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई दुबै मोर्चाबाट मिल्काउन कम्मर कसेका नेताहरु संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भावी प्रधानमन्त्री बनाउने ओलीको यो प्रस्ताव सुनेर झस्किएको जनाइएको छ । ओलीको प्रस्तावमा दाहाल–नेपाल दुबै नेताले कुनै प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ ।

ओलीले प्रधानमन्त्रीका रुपमा नेम्वाङलाई अगाडि सारेपछि नेकपाको आन्तरिक गूटगत समीकरणमा पनि फेरबदल आएको छ । खासगरी लामो समयदेखि बिना शर्त प्रधानमन्त्री ओलीलाई समर्थन गर्दै आएका गृहमन्त्री रामबहादुर थापा बिच्किएका छन् । बुधबार बेलुकादेखि फेरि दाहाल–नेपाल शिविरमै फर्र्किएका थापाले ओलीबाट सरकार र पार्टी दुबै नचल्ने झम्सीखेल बैठकमा बताए ।

यस पटक ओलीलाई जसरी पनि हटाउने अभियानमा जुटेका दाहाल–नेपाल समूह भने ओलीका कुनै पनि प्रस्तावमा नअल्मलिने पक्षमा छन् । नेकपामा स्थायी समितिका ४५ मध्ये ३० सदस्य दाहाल–नेपाल खेमामा रहेकाले ओलीको तुलो कमजोर भएपछि ओली दोवाटोमा छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here