कोरोना भाइरसको पूर्ण अन्त्य मुस्किल–डब्ल्युएचओ

0
494

एजेन्सी ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस पूर्ण रुपमा अन्त्य नहुने बताएको छ। संगठनका आकस्मिक परियोजना प्रमुख डाक्टर माइक रायनले यो भाइरस पूर्ण रुपमा निर्मुल हुने नदेखिएको जानकारी दिएका हुन्।

जेनेभामा शुक्रबार भएको अनलाइन सम्मेलनमा उनले भनेका छन्, ‘अहिले जस्तो स्थिति देखिएको छ, त्यसलाई हेर्दा यो भाइरस पूर्ण रुपमा अन्त्य गर्न सकिँदैन। जहाँ बढी प्रभाव परेको छ, त्यहाँ यसलाई फैलनबाट रोक्न सक्नुपर्छ, दोस्रो लहर आउन दिनु हुँदैन र लकडाउन थप गर्न आवश्यक छ।’

बितेका २४ घण्टाभित्र विश्वभर २ लाख २८ हजार १०२ जना संक्रमित भेटिएका छन्। यीमध्ये अधिकांश अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका रहेको डब्ल्यूएचओले जनाएको छ। एकैदिन भेटिएका संक्रमितको संख्या यो नै अहिलेसम्मकै धेरै हो। यसअघि जुलाई ४ तारिखमा एकैदिन २ लाख १२ हजार ३२६ जना संक्रमित भेटिएका थिए।

जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म १ करोड २४ लाख ५९ हजार ३६३ जना संक्रमित भेटिएका छन्। ५ लाख ५९ हजार ४३९ जना संक्रमितले ज्यान गुमाएका छन्।

ब्राजिलमा अहिलेसम्म ७० हजार कोरोना संक्रमितले ज्यान गुमाएका छन्। जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार अहिले ब्राजिलमा अमेरिकापछि कोरोना महामारीको सबैभन्दा खराब असर परेको छ। त्यहाँ हालसम्म १८ लाख भन्दा धेरै संक्रमित भेटिएका छन्।

कजाकिस्तानले निमोनियाजस्तो देखिने अज्ञात स्वास्थ्य समस्या कोरोना संक्रमण नभएको दावी गरेको छ। त्यहाँका सञ्चारमाध्यमहरुले यस्तो स्वास्थ्य समस्या देखिएको समाचार प्रकाशन गरेका थिए। तर, त्यहाँस्थित चिनियाँ दुतावासले कोरोनाजस्तै देखिने निमोनियाबाट कजाकिस्तान जुधिरहेकाले आफ्ना नागरिकलाई सजग रहन भनेको छ।

अमेरिकाको ‘नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिज’का प्रमुख डाक्टर एन्थोनी फाउचीले लकडाउन खोल्न हतार गर्दा अमेरिकामा बढी मानवीय क्षति भएको बताएका छन्। अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै ६३ हजार २४७ जना नयाँ संक्रमित भेटिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here