राष्ट्रिय भवन संहिता अद्यावधिक

0
999

काठमाडौं ,नेपालमा सानाठूला सबै खालका भवनलाई भूकम्प प्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन संहिता अद्यावधिक गरिएको छ ।

नेपालमा ‘राष्ट्रिय भवन संहिता १०५ ः १९९४’ कार्यान्वयनमा रहेकामा मन्त्रिपरिषद्को बैठकले ‘अद्यावधिक राष्ट्रिय भवन संहिता १०५ ः २०२०’ लाई स्वीकृत गरेको हो ।

विसं २०७२ मा गएको भूकम्प, विगत २५ वर्षमा विश्वका विभिन्न देशमा गएका भूकम्प, विभिन्न मुलुकमा प्रचलित भवन संहिता एवं यस सम्बन्धमा गरिएका विभिन्न नयाँ अनुसन्धान, प्रविधि र ज्ञानको विकासका आधारमा भूकम्प प्रतिरोधी सुरक्षित भवन निर्माण गर्न भवन संहिता अद्यावधिक गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

अद्यावधिक राष्ट्रिय भवन संहिता मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कतिपय अवस्थामा भारतीय संहितामा भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । शहरी विकास मन्त्रालय, शहरी विकास आवास भवन महाशाखाका प्रमुख सहसचिव नवराज प्याकुरेलले अद्यावधिक गरिएको भवन संहिताका आधारमा सबै खालका भवनको डिजाइन गर्न सकिने बताउनुभयो ।

भवन संहिताको प्रमुख उद्देश्य विभिन्न किसिमका निर्माण सामग्री प्रयोग हुने गरी सानादेखि गगनचुम्बी भवनलाई भूकम्प प्रतिरोधी बनाउनका लागि गर्नुपर्ने इञ्जिनीयरिङ डिजाइनका लागि आवश्यक प्रक्रिया र मापदण्ड प्रदान गर्नु नै रहेको उहाँले बताउनुभयो ।

संहिताको सारसंक्षेपमा भनिएको छ, “यस संहिताले स्थापित इञ्जिनीयरिङ मान्यता र सिद्धान्तअनुरूप भूकम्प प्रतिरोधी भवनको विश्लेषण र डिजाइन विधिलाई मार्गदर्शन गर्न मद्दत गर्छ ।”

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवनका स्ट्रक्चरल इञ्जिनीयर विपिनकुमार गौतमका अनुसार अद्यावधिक संहितामा नेपाललगायत यस क्षेत्र वरिपरिको भूकम्पीय जोखिम विश्लेषण गरिएको छ ।

त्यसका आधारमा भूकम्पीय जोखिम क्षेत्रको नक्सा तयार गरी र सोही आधारमा ठाउँअनुसारको फरकफरक मानक राखिएको छ । यो संहिता प्रयोग गरी जस्तोसुकै प्रविधि र सामग्री प्रयोग गरी बनाइने संरचनालाई भूकम्प प्रतिरोधी बनाउन सकिनेछ ।

संरचनाको प्रयोग र महत्वका आधारमा सुरक्षित बनाउनका लागि फरकफरक मानक पनि दिइएको गौतमले बताउनुभयो । संहिताले नयाँ प्रविधि र विधिलाई प्रयोग गर्नका लागि बाटो खुल्ला गरिदिएको छ । अद्यावधिक संहिताको अनुसूचीमा स्टिल र ढलानवाला घरलाई भूकम्प प्रतिरोधी बनाउनका लागि चाहिने विस्तृत विवरण समावेश गरिएको छ ।

अद्यावधिक गरिएको राष्ट्रिय भवन संहिताले नेपालमा सबै खालका संरचनालाई भूकम्प प्रतिरोधी बनाउने गरी डिजाइन गर्न सम्भव हुने विज्ञहरुको भनाइ छ ।

स्ट्रक्चरल इञ्जिनीयर एवं प्राध्यापक डा प्रेमनाथ मास्केले पहिलेको संहितामा रहेका प्रावधान पूर्ण नरहेको बताउँदै अद्यावधिक गरिएको भवन संहितामा धेरै पक्ष समावेश गरिएकाले अहिलेको आवश्यकतालाई सम्बोधन गर्ने बताउनुभयो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नयाँ भवन संहिताबाट भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न र सुरक्षित नेपालको अभियानलाई साकार पार्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघिका भूकम्प र परकम्पका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेपछि भूकम्पीय जोखिमको विश्लेषण गरी राष्ट्रिय भवन संहिता १०५ लाई परिमार्जन गर्न प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो ।

प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवनले यस सम्बन्धमा काम गरेको हो । यसका लागि स्ट्रक्चरल इञ्जिनीयर, जिओलोजिष्ट, जिओटेक्निकल इञ्जिनीयर, सिस्मोलोजिष्टलगायतका विज्ञ रहेको विभिन्न उपसमिति गठन गरी काम भएको हो ।

संहिता परिमार्जनका लागि शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशकको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन गरिएको थियो । इञ्जिनीयर्स एसोसिएसन, डिजाइनर, इञ्जिनीयरिङ अध्ययन संस्थानलगायतका सबै सरोकारवालासँग सुझाव लिई संहितालाई अन्तिम रूप दिइएको प्राधिकरणले जनाएको छ ।

मन्त्रालयका सचिव नेतृत्वको भवन निर्माण व्यवस्था सुदृढीकरण समितिको बैठकले संहितालाई पारित गरी मन्त्रिपरिषद्को बैठकमा पठाएकामा २०७७ साल साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकले संहितालाई स्वीकृत गरेको हो ।
–––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here