अनलाइन पत्रकारिता बुझाइ र भ्रम

0
1272

सुरञ्जन घिमिरे,

केही महिनाअघि काठमाडौंबाट घर फर्किएको बेला हाल संगीत क्षेत्रमा रहेका एकजना पुरानो सहपाठीसँग केहीबेर कुराकानी भएपछि उनले सोधे– ‘ए साँची तिमी त अनलाइनमा काम गर्छौं होइन ? त्यसको युट्युब पनि छ नि कति सस्क्राइब छ ? मेरो एउटा इन्टरभ्यू हाल्न मिल्छ ?’ यसपछि उनले युट्युबमा इन्टरभ्यू हालेपछि त्यसले त गजपै ‘काम गर्ने’ पनि बताए ।

अनलाइन पत्रकारिताबारे भ्रमको प्रसङ्ग यतिमा मात्र सीमित छैनन् र ती केबल प्रसङ्ग मात्र होइनन्, यस क्षेत्रबारे आम मानिसको भ्रमपूर्ण बुझाइ हो जस्तो मलाई लाग्यो । यो प्रसङ्ग जस्तै आम मानिसको यस्तो बुझाइले पत्रकारिताको सैद्धान्तिक ज्ञान हाँसिल गरेर व्यावसायिक रूपमा अनलाइनमा पत्रकारिता गरिरहेका सम्पूर्ण पत्रकारलाई अपरिपक्व कोटामा जबरजस्ती हाल्ने प्रयास गरिररहेको छ ।

हुन त नेपालमा अनलाइन पत्रकारिताको इतिहास धेरै लामो छैन । सन् १९९३ मा नेपाल न्यूज डटकम नै नेपालको पहिलो अनलाइन समाचार पोर्टल मानिन्छ । तीन दशकको यात्रामा पुग्न लागेको नेपाली अनलाइन पत्रकारिताबारे आम मानिसको धारणा परिपक्व बनिनसक्नु सामान्य नै होला । तर, अनलाइन पत्रकारिताबारे गलत धारणा बन्नु यो क्षेत्रमा काम गरिरहेका सबै पत्रकारका लागि नाक खुम्च्याउने विषय हो नै । अधिकांश मध्ये केही श्रोता, दर्शक र पाठकले अनलाइन पत्रकारितालाई यसरी बुझिदिँदा यो पेशामा आउन चाहने नयाँ पुस्ताप्रति निराशा पैदा हुन सक्छ ।

पत्रकारिताको विद्यार्थी भएकाले यो क्षेत्रप्रति आम मानिसको धारणा कस्तो रहेछ भन्ने बुझ्नु उपयोगी रहने उद्देश्यले यसबारे मलाई चासो लाग्छ । नेपालमा रहेका धेरै अनलाइन समाचार पोर्टल र यसका मिडिया हाउस (केही अनलाइनहरू झोलाबाट पनि चल्ने गरेका छन्)हरूले सैद्धान्तिक र व्यवसायिक स्वच्छता हासिल गर्न सकेका छैनन् । तर, यसो भन्दैमा के सबै अनलाइनहरूले पत्रकारिको सिद्धान्त र आचारसंहितालाई मानेका छैनन् त ? यो प्रश्न पनि न्यायपूर्ण हुने छैन । यस्ता प्रश्नले भएभरका अनलाइनलाई एउटै डालोमा हालेर हेर्ने श्रोता, दर्शक र पाठकलाई थप प्रश्रय दिनेछ ।
यहाँनेर एउटा अनुभव राख्नु सान्दर्भिक होला । २०७३ सालमा म एउटा अनलाइनमा काम गर्थें । समाचारको शीर्षकसम्म लेख्न नजान्ने व्यक्ति त्यस अनलाइनका ‘एडिटर इन चिफ’ थिए ।

मैले उनको व्यक्तिगत सक्षमता होइन, समाचारप्रति उनको विज्ञता कति रहेछ त्यसप्रति मात्र प्रश्न गर्न खोजेको हूँ । हुन त ‘बिरालो कालो, सेतो जस्तो भए पनि हुन्छ मुख्य कुरा त्यसले बिरालो मार्न सक्छ कि सक्दैन ?’ भन्ने कुरा प्रमुख हुन्छ भनेजस्तै समाचार शीर्षक र त्यसमा प्रयुक्त भाषा जस्तो भए पनि चल्छ, मुख्य कुरा त्यसले समाचारको धर्म निभाउन सक्यो कि सकेन ? भन्ने तर्कलाई केन्द्रविन्दुमा राख्ने त्यस्ता तमाम ‘एडिटर इन चिफ’प्रति मेरो सम्मानभाव नै रहने छ । किनकि, स्वदेशमै केही गर्न खोज्ने र धेरथोर जति हुन्छ पत्रकारलाई रोजगारी दिएर तलब दिनसक्ने उहाँहरूको क्षमतालाई म जस्ता ‘स्टर्गल फेज’का कोही पनि पत्रकारले सम्मान गर्नैपर्छ । तर, यस्ता मिडिया हाउसमा काम गर्दा आफ्नो विकास कतिको हुन्छ त ? यो प्रश्न आफैंलाई भने सोध्नै पर्छ ।

अझै पनि धेरै यस्ता श्रोता, दर्शक र पाठक हुनुहुन्छ जसलाई पत्रिकामा छापिएपछि, रेडियोमा वा टेलिभिजनमा बजेपछि मात्र त्यो समाचार पक्का समाचारको दर्जा पाउन सक्षम भई दिने गर्छ । यसमा म अर्को एउटा प्रसङ्ग जोड्न चाहन्छु । केही दिनअघि कालिकोटका विजय शाहीले ‘पाँच मिनेटमै किताब पढ्न सक्ने’ विषय ‘समाचार’ एकाएक बाहिर आयो । हेर्दा आश्चर्य लाग्ने यो भिडियो ‘समाचार’का ‘इन्डेप्थ स्टोरी’ अरू केही होला या नहोला त्यतातिर अहिले नजाऔं तर यो ‘समाचार’ देखाउनसाथ मलाई मेरो ठूलो बुबाले प्रश्न गर्नुभयोे– ‘यो युट्युबमा आएको हो कि टीभीकै समाचारमा बजेको हो ?’ यसपछि हाम्रा केही सवाल, जवाफ भए त्यतातिर पनि अहिले नजाऔं । तर, यसले आममानिसमा युट्युब ‘पत्रकारिता’ले सबै मानिसलाई विश्वास दिलाउन सकेको छैन भन्ने एउटा उदाहरण त प्रस्तुत गरेको छ ।

अहिले पत्रकारिता क्षेत्रमा जिउँदाजाग्दो एउटा प्रश्न उठेको छ– युट्युबकारिता पत्रकारिता हो कि होइन ?, के अनलाइनले पोष्ट गरेका सबै समाचार सत्यतथ्यमा आधारित हुन्छ वा हुँदैन ? यसको सामान्य जवाफ यस्तो हुनसक्ला– पत्रकारिता ‘फेसबुककारिता’ र ‘युट्युबकारिता’ पनि हो तर सबै ‘फेसबुककारिता’ र ‘युट्युबकारिता’ पत्रकारिता होइन । तर, आममानिसले यो बुझेका हुँदैनन् कि भाइरल भनिएको ‘समाचार’ लेख्ने वा प्रस्तुत गर्ने मिडिया हाउसको सम्पादकीय नेतृत्व कस्तो छ ? कसको बाइलाइनमा समाचार लेखिएको छ ? वा त्यो समाचार लेख्ने ‘पत्रकार’मा पत्रकारिताको सैद्धान्तिक ज्ञान कति छ ? यस्ता प्रश्न थाहा नभएका आममानिस सूचना विभागमा दर्ता नै नभई, पत्रकारिताको सामान्य धर्म नै पूरा नगरी सञ्चालित युट्युबकारिता र अनलाइनबाट अहिले झुक्किरहेका छन् । आममानिसमा ‘मिडिया लिटूेसी’को ज्याँदै कम रहेको अवस्थालाई नजरअन्दाज गर्दै काठमाडौंलाई मात्र अनलाइन पत्रकारिताको आधार क्षेत्र मानेर पत्रकारिता गरिरहँदा अनलाइन पत्रकारिताले देशव्यापी पकड जमाउन सक्ने सम्भावना एकदमै न्यून रहेको सत्यता साँचो पत्रकारिता गर्ने पत्रकार, मिडिया हाउसका लगानीकर्ता, पत्रकारिता विषय पढाउने विश्वविद्यालय र कलेजसमेतले स्वीकार्नै पर्ने अवस्था छ ।

जबसम्म युट्युबमा आउने समाचार केबल भ्यूज बढाउने अस्त्रका रूपमा मात्र प्रयोग भइरहन्छन्, युट्युब वा अनलाइनमा आएका समाचारप्रति कसैको असन्तुष्टि भए, तिनका ‘कन्टेन्ट’ले आफ्नो मानहानी भए, तथ्यगत आधारबिनै कसैप्रति नकारात्मक टिप्पणी गरे प्रेस काउन्सिलमा उजुरी हाल्न सकिन्छ र त्यस्ता बखत ती अनलाइन पनि पीडितप्रति जिम्मेवार रहन्छन् भन्ने ग्यारेन्टी महशुस आममानिसले गर्न सक्दैनन् तबसम्म अनलाइन र ‘युट्युबकारिता’ फगत ‘गरिखाने भाँडो’ मात्र बनिरहन्छ । यस्ता अनलाइन र ‘युट्युबकारिता’ जबसम्म फेक न्युजका झुण्ड बनिरहन्छन् यिनले सही ट्रयाकमा गुडिरहेको गाडीलाई गलत ट्रयाकबाट आएको गाडीले ठक्कर दिए जस्तै श्रोता, पाठक र दर्शकप्रति जिम्मेवार र ‘अथेन्टिक’ अनलाइन र युट्युबलाई दुर्घटनाग्रस्त पार्ने जोखिम रहिरन्छ ।

केबल लाइक र सेयरको भरमा समाचारको फैलावटलाई आधार मानिने नाममा एकपटक सेयर भएको समाचारलाई एकसय पटक शेयर भएको देखाउन वेबसाइट सेटिङलाई अनेक तिकडम् प्रयोग गर्नेसम्मको तुच्छ कर्म हामी कसैबाट भइरहेको छ भने त्यो क्षणिक लाभमात्र सावित हुनेछ । यस्तो तिकडम्ले त्यो समाचार पोर्टलका मालिकले केही समय विज्ञापनदाता झुक्याएर विज्ञापन पोस्टमार्फत केही रकम त पक्कै संकलन गर्लान् । तर, त्यस्ता मिडिया हाउस र समाचार पोर्टल सबै श्रोता, दर्शक र पाठकको नजरमा दीर्घजीवी भएर रहन सक्छन् भन्नेमा शङ्का मान्ने ठाउँ धेरै रहन्छ ।

हाल विद्यमान कोरोना भाइरसको महामारीबारे पनि धेरैजसो अनलाइनमा विभिन्न भ्रमपूर्ण समाचारहरू आइरहेको देखिन्छ । यसबाट त्यो समाचारको ‘लिङ्क’लाई श्रोता, दर्शक र पाठकले एकपटक ‘क्लिक’ त गर्लान् । तर, त्यो समाचार पढिसकेपछि त्यो समाचारप्रति उनीहरूले कस्तो धारणा बनाउलान् ? पत्रकारिताको अभ्यास गरिरहेका सबै पत्रकार र अनलाइन मिडिया हाउसले यो गाम्भीर्यतालाई मनन् गर्न सकेको देखिँदैन ।हुन त सम्बन्धित मिडिया हाउस वा सम्पादकीय नेतृत्व कुन राजनीतिक आस्थासँग नजिक छ ? यसले पनि त्यहाँको पत्रकारितामा प्रभाव पार्छ । संसारका चार मिडिया सिद्धान्तहरूसँग समाचार संस्थाको झुकाव रहनु नौलो कुरा होइन, तर यति हुँदाहुँदै पनि पत्रकारिताको ‘एबीसी’ (एक्वीरीसी, ब्यालेन्स, क्रेडिबिलिटी)लाई पत्रकारिताको अभ्यास गर्ने हामी सबैले ध्यान दिनसक्नुपर्छ ।

निष्कर्षमा भन्नुपर्दा अनलाइन पत्रकारिताको अभ्यास गरिरहेका सबै मिडिया हाउसले पत्रकारिताको सैद्धान्तिक सीमाहरू अवलम्बन गरेमा मात्र अनलाइन पत्रकारिताले युगौसम्म जस पाइरहने छ । पत्रकारिताको सिद्धान्तलाई बेवास्ता गरेर ‘बिक्ने’ सामग्रीहरूमा पस्किरहँदा केही समय अनलाईन पोर्टलमा केही श्रोता, दर्शक र पाठकको ‘भ्यूज’ त रहला तर त्यो दीगो गरी नटिक्ने रहन्छ । अनलाइन पत्रकारिताको यस्तो अभ्यासले अनलाइनमा आएका सामग्रीहरूप्रति लक्षित वर्ग पूर्ण विस्वस्त नहुन सक्छ । त्यसैले नेपाली पत्रकारिता जगतलाई आजका साथै भोलिका दिनमा पनि विश्वासिलो बनाइराख्नका लागि अनलाइन मिडियाहरू ‘कन्टेन्ट पोस्ट’ (सामग्री पस्किँदा) जिम्मेवार बन्नुपर्ने देखिएको छ ।

(घिमिरे त्रिवि पत्रकारिता केन्द्रीय विभागमा स्नातकोत्तर अध्ययनरत् छन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here