झापा।

बाह्रदशी गाउँपालिकामा २० वर्ष उमेर समूह माथिका धेरै व्यक्तिलाई कोरोना संक्रमण भएको पाइएको छ । २० जना कोरोना भाइरस कोभिड १९ संक्रमित मध्ये एक बालक र एक महिला छन् । महिला २० वर्ष माथिको उमेर समूहकी हुन् । एक जना बालक बाहेक १९ जना संक्रमित नै २० वर्ष उमेर समूह माथिका भएको बाह्रदशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार शाहले जानकारी दिनुभयो ।
गाउँपालिका भित्र बसोबास गर्ने मध्ये ‘ट्राभलहिस्ट्री’नभएका समुदायका दुई जना ब्यक्तिलाई कोरोना संक्रमण भएपनि उनीहरु निको भएको र त्यस यता समुदायका कुनै पनि व्यक्तिलाई कोरोना संक्रमण पुष्टि नभएको शाहको भनाई छ ।
समुदायमा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने आंशकामा गाउँपालिकाले पालिका भित्र रहेको सिटी र टेम्पो चालकको समेत पीसीआर परीक्षण गरेको छ । विशेष गरी भारत लगायत अन्य मुलुकबाट आएकाहरुमा संक्रमण देखिएकाले उनीहरुलाई छुट्टै क्वारेन्टिनमा राख्ने र स्वास्थ्य सावधानी अपनाएर कोरोना भाइरस कोभिड १९ को परीक्षण गर्ने गरिएको छ ।
परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भए उनीहरुलाई लक्षणका आधारमा गाउँपालिकाले नै तयार गरेको आइसोलुसन वार्डमा राख्ने गरिएको छ । आइसोलेनमा १४ दिन बस्ता समेत लक्ष्यण नदेखिए घर पठाउने गरिएको र घरमा पनि १४ दिनसम्म छुट्टै कोठालाई क्वारेन्टिन बनाएर बस्ने ब्यवस्था मिलाइएको वाह्रदशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शाहको भनाई छ ।
कोरोना भाइरस कोभिड १९ को सक्रमण रोक्न गाउँपालिकाले विशेष सावधानी अपनाएको जनाइएको छ ।
त्यसको त बाह्रदशी गाउँपालिकामा मात्र होइन जिल्लामा कोरोना संक्रमित मध्ये २५ देखि ४० वर्ष उमेर समूहका मानिसमा कोरोना संक्रमण देखिएको छ । जसमा महिलाको तुलनामा पुरुषमा बढी संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमति मध्ये ७० प्रतिशत मानिस पुरुष छन् । त्यसमा पनि २५ देखि ४० वर्ष उमेर समूहका मानिसमा संक्रमण धेरै देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लामा कोरोना संक्रमण दर उच्च भएपछि पालिकाहरु आफैले आइसोलेसन वार्ड तयार गर्दै कोरोना पोजेटिभ देखिएकाहरुलाई राख्दै आएका छन् ।
हाल झापामा २१ हजार १ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको छ भने जसमा ६ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये कचनकवल गाउँपालिकाका धेरै छन् । यो गाउँपालिकामा एक सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या मध्ये ४ सय ८१ जनाले कोरोना जीतेर घर फर्किएका छन् भने एक जनाको मात्रै कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लगाईले जानकारी दिनुभयो ।






























