हरेक वर्ष झैँ यसपाली पनि भाद्र २२ गते सोमबार निजामती सेवा दिवस मनाइयो । निजामती सेवालाई प्रशासन सञ्चालनको मेरुदण्डको रुपमा लिइन्छ । वि.सं. २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो । वि.सं. २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वमा गठित प्रशासकीय योजना आयोगले दिएको प्रतिवेदन बमोजिम सोही वर्षको भाद्र २२ गते प्रथम निजामती सेवा ऐन २०१३ लागू भएको थियो । यसैदिनको सम्झनामा २०६१ सालदेखि निजामती सेवा दिवसका रुपमा मनाउन थालिएको हो । यसैदिन ८६ हजारको हाराहारीमा रहेका कर्मचारी मध्ये एक जनालाई सर्वोत्कृष्ट र ४० जनालाई उत्कृष्ट कर्मचारी घोषणा गरी पुरष्कृत गर्ने चलन रहेको थियो ।
पूर्व परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतम र पूर्व अर्थ सचिव शान्तराज सुवेदीसम्मले ग्रहण गरेको ठूलो धनराशीको यो पुरस्कार वि.सं. २०७४ सालदेखि कसैलाई पनि दिइएको छैन । गत असार ३१ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कार्यालयहरुमा परिपत्र गर्दै गत भाद्र २२ गतेको निजामती सेवा दिवसमा पुरष्कृत गर्नका लागि निजामती सेवा नियमावली २०५० को नियम ११६ को उपनियम २ बमोजिम उत्कृष्ट कर्मचारीको सिफारिस गर्न भनेको थियो ।
मापदण्ड र कार्यक्षमतामा प्रश्न चिन्ह ?
निजामती सेवामा पुरस्कार तथा प्रोत्साहनको ठूलो महत्व हुन्छ । तर, निजामती सेवा जनता माझ लोकप्रिय र सन्तोषजनक नभएका कारणले आज पनि उत्तिकै बदनामीको बिल्ला भिर्न बाध्य छ । सेवाग्राहीको सकारात्मक हेराइको प्रतिक्षामा रहेको यो सेवा अहिले पनि भ्रष्टाचारको अड्डा, छिटो–छरितो र झन्झटरहित सेवा दिनेभन्दा काम अड्काउने, शक्तिको पुजारी बन्ने जस्ता आरोपको भागीदार बन्दै आएको छ । निजामती कर्मचारीले गर्ने काम के हो ? कसले के कार्य गर्नुपर्ने ? काम नगर्नेलाई के गर्ने ? कसरी कार्य सम्पादन मूल्यांकन गर्ने ? जस्ता पक्षको बहस र समीक्षा हुन छोडेको परिस्थितिमा आज उत्कृष्ट र योग्य कर्मचारी छनौट गर्ने काम बालुवामा पानी हाले सरह मात्र भएको छ ।
भर्खरको मात्र श्रम तथा रोजगार कार्यालय, विराटनगरका प्रमुख प्रेम सञ्जेलले मन्त्रालयले मागे बमोजिमको पुरष्कृत गर्न योग्य कर्मचारी आफ्नो कार्यालयमा कोही पनि नरहेको भनेर पत्र लेखेको विषय चर्चा परिचर्चाको खबर बन्यो । यस्तो अवस्थामा साच्चै राम्रो काम गरेर निजामती पुरस्कार कसैले प्राप्त गर्दा पनि विश्वास गर्न गाह्रो भएको छ । सेवाग्राहीबाट त कर्मचारी त्यसै पनि असन्तुष्ट छन् स्वयम् सहकर्मी पनि समकक्षीले पुरस्कार पाउँदा दुःखी छन् ।
यति ठूलो संगठन संरचनामा उत्कृष्ट कर्मचारी छनौट गर्न त्यसै पनि समस्या छ । चाकडी, चाप्लुसीले गर्दा तेरो र मेरो कर्मचारीको भावना ज्यूँका त्यूँ छ । अझ विभिन्न कर्मचारी संगठनको दवाब उत्तिकै रहन्छ । तर, यसो भनिरहँदा ८६ हजार कर्मचारी भएको संगठनभित्र एउटा योग्य र उत्कृष्ट कर्मचारीको खडेरी परेको हो त ? गम्भीर प्रश्न उठ्नु स्वभाविक नै हो । अनि पुरस्कार र प्रोत्साहन जस्तो महत्वपूर्ण कामलाई निरन्तरता दिनु पनि जरुरी छ । तर, बिना मापदण्ड र पारदर्शिता बिना पुरस्कार वितरण गर्ने कार्य रोकिनु पनि पर्दछ ।
कर्मचारीतन्त्रभित्रको विभेद
संघीयता अघिसम्मको निजामती सेवामा त माथि उल्लेखित विसंगतिको हालीमुहाली थियो भने देश संघीय मोडलमा गइसकेको आजको परिस्थितिमा कर्मचारीतन्त्र पनि संघ, प्रदेश र स्थानीय सेवा गरी तीन तहको कार्यसम्पादन गरीरहेका छन् । त्यसमा पनि हिजो समायोजन ऐनपछि समायोजित कर्मचारी प्रचलित राज्य व्यवस्थाका तीनै तहमा कार्यरत छन् । अब हिजोको जस्तो मापदण्ड र व्यवहारले के राज्यका सबै अंगमा कार्यरत कर्मचारी सन्तुष्ट रहन सक्लान् त ? गतसाल लोकसेवा आयोगबाट परीक्षा उत्तीर्ण गरी स्थानीय तहमा काम गरिरहेका नौ हजारभन्दा बढी कर्मचारी निजामती सेवा दिवसका दिन गरिने पुरस्कार र प्रोत्साहनको अपनत्व ग्रहण गर्न सक्लान् त ? यसै सन्दर्भमा स्थानीय तहमा नियुक्त भएका केही कर्मचारीहरुले विरोधको आवाज पनि उठाउन थालेका छन् ।
एउटै संवैधानिक निकायबाट उस्तै मापदण्डको परीक्षा पास गरेर स्थानीय सेवा प्रवेश गरेका हजारौँ राष्ट्रसेवक कर्मचारीलाई निजामती सेवाको परिभाषाले नसमेटेको गुनासो आइरहेको अवस्थामा निजामती सेवा दिवसको अर्थ र महत्व कतिको सान्दर्भिक होला त ? यो अवस्थामा राज्य र अग्रज राष्ट्रसेवकबाट सद्भावपूर्ण भाव राखेर सबै कर्मचारीहरुको पेशा र कार्य सम्पादनलाई सम्मानित र समान स्तर कायम गर्न सोच्ने बेला आएको छ ।
कर्मचारीलाई मात्र आरोप कहिलेसम्म ?
कर्मचारी प्रशासनका पिता म्याक्स वेबरले कर्मचारीलाई श्वास फेर्ने यन्त्रको रुपमा ब्याख्या गरेका छन् । यदि एउटा कर्मचारीले मेसिन जस्तै काम गर्नुपर्छ भन्ने मान्यता हो भने उसको लागि उत्प्रेरणाको स्रोत खै त ? कर्मचारीलाई लादेर, चाकडी चाप्लुसीका भरमा यति ठूलो संगठन चल्छ भन्ने सोचको अन्त्य हुनैपर्छ ।
अनि मात्र सुशासनको मन्त्र र गाउँ–गाउँमा सिंहदरबारको नाराले पूर्णता पाउँछ । राष्ट्रसेवकमा पारदर्शिता, स्वच्छता र सेवाग्राहीप्रति इमान्दारिताको प्रतिबद्धता सदैव हुनुपर्दछ । यदि कोही यसको बर्खिलाप जान्छ भने त्यो कर्मचारीको कमजोरी हो ।
तर, सिंहदरबार वरपर बस्ने सिमित कर्मचारीको मात्र हालीमुहाली कर्मचारीतन्त्रमा हुने जनताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने स्थानीय सेवा तथा दूरदराजमा काम गर्ने कर्मचारीको मनोबल उठाउने काम गर्न नसकिएमा पक्कै पनि श्वास फेर्ने मेसिनमा पक्षघात हुन सक्छ ।
निष्कर्ष
निजामती सेवा दिवसले समाजमा सार्वजनिक सेवाप्रतिको सम्मान बढाउन र वेरोजगार युवाहरुलाई राष्ट्रसेवा प्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
यस दिवसले सम्पूर्ण राष्ट्रसेवकलाई समान रुपले सम्बोधन गर्न सक्नु पर्छ । कर्मचारीको कार्य सम्पादन र योगदानबारे जनतालाई सुसूचित गर्न तथा आगामी दिनमा अझ सशक्त ढंगले आफ्नो कर्तव्य र सेवालाई सुदृढ बनाउन उत्प्ररित गर्न सक्नुपर्दछ । तब मात्र यो दिवसले सार्थकता पाउनेछ । कोही काखा र कोही पाखा हुने गरी यो दिवस फेरि मनाउन नपरोस् । सबैमा शुभकामना ।