डरलाग्दो लत: युवामा डिप्रेशनको जोखिम

0
1187

‘ओइ त्यो घर पछाडिबाट आयो, हान–हान । त्यसलाई नछोड । भाग्यो त्यो, खेदाई–खेदाई हान् ।’ यस्तो आवाज तपाईंले सुन्नुभएको छ ? यस्तो आवाज नसुन्ने मान्छे अहिले विरलै भेटिन्छन् । यो आवाज कुनै युद्ध वा आन्दोलनको होइन । यो आवाज हो, अहिलेका युवापुस्ताको । युवापुस्ता अहिले डरलाग्दो लतमा फस्दैछ । त्यो लत हो, डिजिटल खेल, पब्जी, फ्रि फायर जस्ताको ।
यो डिजिटल खेलबाट टाढा रहेका र यसको लतमा नपरेका युवाहरु विरलै भेटिन्छ । यो खेल नेपालमा मात्र होइन विश्वभर खेल्ने गरिन्छ । यो खेलले अत्यधिक युवामा मानसिक रोग उत्पन्न गराएको छ । युवापुस्तामा सोच्ने शक्ति कम भएको र मानसिक रोगको शिकार भएको कारण विभिन्न राष्ट्रले यस्ता खेलमा प्रतिबन्ध लगाएको छ ।
युवाको मृत्यु र अत्यधिक मानसिक रोगको शिकार भएका कारण भारतले पनि पब्जी खेललाई प्रतिबन्ध लगाएको हो । यो खेल प्रतिबन्ध लगाएलगत्तै भारतमा एक १६ वर्षीय युवाको त्यस खेलप्रतिको अत्यधिक लतका कारण मृत्यु भएको भारतीय मिडियाले बताएको थियो । सोच्नुहोस् त एक पटक– कस्तो अचम्मको लत रहेछ यो ?
नेपालमा पनि युवापुस्तामा यो खेल खेलेको कारण मानसिक रोगीको संख्यामा वृद्धि भएको छ । अहिलेको यो विषम् परिस्थितिमा सिर्जनशील, सामाजिक काम गर्नुको सट्टा युवाहरु यो खेल खेल्दै आफूले आफैंलाई मानसिक रोगको शिकार बनाइरहेका छन् । यस्तो लतमा फसेका युवा भोलि आफ्नो सामान्य कामकाज गर्दा र विद्यालय जानुपर्दा पब्जी र फ्री फायर जस्तो खेल खेल्द नपाउँदा के होला ? युवाहरुमा लकडाउन हटेर यस्तो खेल खेल्न नपाउँदा मानसिक रोगी नहोलान् र आत्महत्या समेत नगर्लान् भनेर भन्न सकिन्नँ ।
यस्तो खेल अत्यधिकरुपमा खेलेका कारण युवापुस्तामा अहिले झट्ट रिसाउने, झर्किने, एकोहोरो हुने जस्ता अनेकौं समस्या बढ्दै गएको छ । यस खेलमा अरुभन्दा आफू ठूलो र खतरा देखिनका लागि हजारौं रुपैयाँ खर्च गरेर डाइमन्ड टपअप गर्ने गर्छन् । यसो गर्दा एक त खर्च दिन प्रतिदिन बढ्दै जान्छ, अर्कोतर्फ पैसा नभएको बेला हिंसात्मक गतिविधि र मानसिक रोगी बढ्छन् । यो लत भनेको ड्रग्सभन्दा कम भने होइन । युवाहरुमा पब्जी र फ्रि फायरमा यति साह्रो लत लाग्यो कि बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म खेलिरहन्छन् । देशका मेरुदण्ड र भविष्य मानिएका युवा नै यस्तो लतमा फस्दा देशको भविष्य के होला ? युवाहरु तपाईंहरु आफ्नो भविष्यको बारेमा पनि सोच्ने कि ?
मैले यति कुराहरु प्रस्तुत गर्दैगर्दा तपाईंको मनमा प्रश्न उठ्यो होला पब्जी र फ्रि फायर खेलेर पनि युट्युव च्यानल खोलेर पैसा कमाइरहेका छन् त ? भनेर । हो, उनीहरु समय मिलाएर सबै काम सकेर मनोरञ्जनका लागि खेल्ने गर्छन् । तर, अत्यधिक युवाहरु भने जतिखेरै त्यही खेल खेलिरहेका हुन्छन् । कहिलेकाहीँ मनोरञ्जनको रुपमा खेल्नुहोस् । तर, यसलाई लतको रुपमा नलिनुहोस् ।
किनकि यसको लत लागेपछि खेल्न नपाउँदा युवाहरु आत्महत्या गर्न पनि पछि नहटेको कुरा हजुरहरुलाई अवगतै छ । अहिले ८० प्रतिशत युवाहरुमा भने यो खेलको लत नै बसिसकेको छ । यस कुरामा बुबा–आमाहरुले आफ्ना छोरा–छोरी के गर्दैछन् भन्ने कुरामा निगरानी गर्न आवश्यक देखिन्छ । यसो नगरे भोलि ठूलो दुर्घटना झेल्नु नपर्ला भन्न सकिँदैन । त्यसैले युवापुस्ताले समेत आफूलाई सिर्जनात्मक र सामाजिक कामतर्फ अघि बढाउन आवश्यक देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here