भक्तपुर घटनाका मुख्य अभियुक्तको नक्कली नामले झापा प्रहरी ‘झुक्कियो’

0
970

झापा ।

भक्तपुरमा असोज १७ गते बसभित्र १७ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गर्ने मुख्य अभियुक्त किरण भनिने दीपेश राईको पहिचान हुन्जेलसम्म उनी भक्तपुरबाट भागेर झापा आइसकेका थिए । दीपेश १८ गते राती नै बस चढेर झापा हानिएका थिए । १९ गते बिहान मात्र उनको पहिचान भएपछि भक्तपुर प्रहरीले उनको मोबाइल नम्बर ट्र्याक गरेको थियो ।

दीपेशले झापा भद्रपुर उत्रिन साथ पुरानो नम्बर परिवर्तन गरी नयाँ सिम मोबाइलमा हालेका थिए । तर उनले बोक्ने पुरानो नम्बरको अन्तिम लोकेसन झापा भद्रपुर देखाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरले तत्कालै जिल्ला प्रहरी कार्यालय झापालाई हुलियासहितको विवरण पठाई खोजतलासमा सहयोग गर्न आग्रह गर्‍यो ।

तर भक्तपुर प्रहरीले दीपेशको नाम किरण राई भनेर उल्लेख गरेको थियो । भक्तपुरमा उनले आफ्नो नाम किरण भनेर साथीहरूलाई भनेका थिए । सुरुमा पक्राउ परेका दुई जनाबाट पनि दीपेशको नाम किरण नै भनेर बयान दिएका थिए ।

२१ वर्षीय किरण राईको खोजीमा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली परिचालित भयो ।

दुई दिनसम्म पनि किरणको पत्तो नलागेपछि तेस्रो दिनमा फोटोको हुलियाको आधारमा प्रहरीलाई एउटा सूचना प्राप्त भयो । फोटोमा देखिएको मान्छे जस्तै झापाको भद्रपुर नगरपालिका ८ मा हिँडेको भनेर प्रहरीलाई सूचना आयो । नभन्दै उनको काकाको घरमा लुकेर बसेको अवस्थामा किरण भनिने दीपेशलाई झापा प्रहरीले फेला पार्न सफल भयो ।

उनलाई नियन्त्रणमा लिने क्रममा मात्र किरणको वास्तविक नाम दीपेश राई भएको प्रहरीले पत्ता लगायो । किरण भने उनको बुवाको नाम हो । नामको कारणले पनि दीपेशलाई झापा भद्रपुरमा खोज्न प्रहरीलाई मुस्किल भएको थियो । दीपेशले शङ्कास्पद कामहरूमा आफ्नो नाम किरण भनेर जनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

२१ वर्षीय दीपेश राईको पुरानो घर झापास्थित भद्रपुर नगरपालिका २ किच्चकबध हो । तर बुवा आमा लामो समयदेखि भक्तपुरमै बसोबास गर्न थालेपछि दीपेशपनि सहचालकको रूपमा उतै काम गर्न थालेका थिए । किच्चकबधको पुराना घर भत्किएपछि दीपेश घटना घटाएर काकाको घरमा लुकेका थिए । उनले काकालाई गाडी रिर्जवमा झापा आएको बताएका थिए ।

उनलाई झापा प्रहरीले पक्राउ गरेपछि भक्तपुर प्रहरीलाई बुझाइएको थियो । बुझाए लगतै बलात्कार घटनाका मुख्य अभियुक्त दीपेशलाई विमान मार्फत भक्तपुर पुराएर सार्वजनिक गरिएको थियो ।

भक्तपुरबाट भागेर १९ गते बिहान झापा आएका उनलाई झापा प्रहरीले २२ गते पक्राउ गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १० का २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका वडा नम्बर ४ पाङताङका २१ वर्षीय सूर्य श्रेष्ठलाई पक्राउ गरेको थियो ।

उनीहरूले किशोरीलाई लट्ठ्याउने औषधि मिसाई खान दिएर जबरजस्ती करणी गरेको आरोप छ । उनीहरूले गत असोज १६ गते किशोरीलाई रत्नपार्कबाट बसमा चढाएर भक्तपुर लगेका थिए ।

साभार:https://www.aparadhnews.com/news/1049

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here