रोङको झण्डीडाँँडा सूर्योदय हेर्न जाने कि !

0
792

विनोद पाण्डे

सूर्योदय र सूर्यास्तको बेला होलीमा पिच्करीबाट निस्किएको रंगीन रंग, निर्मल निश्चल अवस्थामा हँसिलो बनेर मानिसका आँखालाई आनन्द प्रदान गर्ने निलो आकाश, अनि यता र उता गर्दै चञ्चल स्वभाव देखाएर घरी–घरी, सूर्य, हिमाल, रमणीय पहाड र रंगीविरंगी पुतलीझैं देखिने गाउँ शहरमा छेक्ने बादल, त्योसँगै मौलिक संस्कृति सभ्यता र प्राकृतिक अवस्थालाई अवलोकन गर्ने मन कस्लाई हँुदैन होला ! यस्ता इच्छा र आकांक्षाहरु पूरा गर्न जान आजभोलि सामान्यवर्गका लागि खर्चको हिसावले असम्भव नै भइसकेको छ । लामोदुरीको यातायात, खानेबस्ने लगायतको खर्च धान्नै नसक्ने अवस्था भइसकेको छ ।
विशेषगरी पहाडी क्षेत्रको विविधतालाई निहाल्ने बढी इच्छा तराईमा बसोबास गर्नेहरुमा हुने गर्छ । स्वभावैले पहाडी क्षेत्रमा पुग्ने पर्यटकहरुको संख्या तराईका गाउँशहरका सबैवर्गका नागरिकहरुको रहने गरेको छ ।

पूर्वी पहाड अझ साविक मेची अञ्चललाई पर्यटनको दृष्टिकोणले हेर्दा झापाका केही चुरे क्षेत्र, इलाम, पाँचथर र ताप्लेजुङमा अग्ला पहाड टाकुराहरुको नाम धेरै चलेका छन् । सूर्योदय हेर्नको लागि भने फैलिएको भूगोलका हिसाबले कमै मात्र ठाउँको नाम आउँछ ती स्थान हुन सन्दकपुर, श्रीअन्तु, कल्याम हुन् ती स्थान खर्चको हिसाबले निकैमाथि मानिन्छन् । कम खर्च गरेर धेरै स्थानबाट पनि सूर्योदयको दृष्य राम्रोसँग देखिन्छ होला तर ती क्षेत्र भौगोलिक हिसाबले विकटताका कारण चर्चामा आउन सकेका छैनन् ।

त्यस्तै सूर्योदय र सूर्यास्तको दृष्य अत्यन्तै राम्रो सँग देखिने इलामको एक स्थान पनि ओझेलमा परेको थियो । त्यस ठाउँको अग्लो पहाडमा अरुबेला स्थानीयले बिहान र साँझमा पुगेर डाँडाबाट सूर्य उदाउने र अस्ताउने बेलामा पुगेर हेर्ने अवस्था पनि थिएन, किनकि त्यो ठाउँमा अनकन्टार जंगल थियो । तर, पछिल्लो समयमा नयाँ पर्यटकीय गन्तव्य पहिचन गर्ने क्रममा झापासँग सीमाना जोडिएको इलामको एक गाउँ पालिकामा पूर्वमै सबैभन्दा उत्तम सूर्योदयको दृष्य अवलोकन गर्ने स्थान भनेर चर्चामा आउन थालेको छ । त्यो स्थान हो– इलाम जिल्लाको रोङ गाउँपालिका –६ जिर्मलेको रम्भ्याङस्थित झण्डीडाँडा ।

झण्डीडाँडामा सूर्योदयको दृश्यालोकन गर्न उल्लेख्नीय संख्यामा झापाका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् । झण्डीडाँडाबाट सूर्योदय, सूर्यास्त, कञ्चनजंघा हिमाल, कन्याम चियाबगान, पाथीभरा मन्दिर, झापाका समथर भू–भाग, भारतका धेरै प्रान्त र भुटानका केही भागको दृश्यालोकन गर्न सकिन्छ ।

उक्त स्थलको विकासका लागि स्थानीय सरकार, बासिन्दा र स्थानीय क्लवबाट संरक्षण कार्य शुरु हुन थालेको छ । हाल संघीय, प्रदेश र स्थानीय सरकारबाट यसको प्रवद्र्धन र विकासका लागि बजेट विनियोजन पनि भइसकेको वडा नम्बर ६का वडाध्यक्ष एवम् रोङ गाउँपालिकाका प्रवक्ता मनिकुमार स्याङ्वो सुवासले बताए । झापाको पूर्वी मुख्य नाका काँकरभिट्टाबाट उत्तर नकलबन्दा, बाहुनडाँगी, गाडागल्ली, जिर्मले, निन्दा सिरान हेर्दै उकालो लाग्दै जाँदा करिब एक घण्टाको मोटरबाटोबाट सलकपुर जिर्मले पुगिन्छ ।

उता इलामको पाथीभरा हर्कटे हँुदै करिव ३० मिनेटको यात्रा गरी रम्भ्याङ झण्डीडाँडा पुग्न सकिन्छ । सो ठाउँमा होमस्टे निर्माण तथा व्यवस्थापन गर्ने, पदमार्ग निर्माण, दृश्यालोकनका लागि विभिन्न धर्मावलम्बीको मूर्तिको व्यवस्थापन, तापोस्थान, राष्ट्रिय तथा विश्व साइकलिङ यात्रीको गन्तव्य निर्माण गर्ने, स्थानीयस्तरको कृषिका विभिन्न परिकार उत्पादन र तालिमको व्यवस्था गर्ने र उत्पादित वस्तुबिक्री गरी आर्थिक विकास गर्ने तथा तीनै तहबाट यसको प्रवद्र्धन तथा विकासका पहल गर्ने र मुख्य योजना बनाई विकास निर्माणमा लागि पर्ने गाउँपालिका अध्यक्ष शम्शेर राईले बताएका छन् ।

झण्डीडाँडा पर्यटन क्षेत्र पूर्वाधारका लागि संघीय पर्यटन मन्त्रालयबाट १५ लाख रकम विनियोजन समेत भइसकेको र यसका लागि बुद्धको शालिक निर्माण गर्ने प्रस्ताव अघि बढिरहेको स्थानीय सरोकारवाला अशोक वान्तवाले जानकारी दिए ।
झण्डीडाँडामा किरात फ्रेन्डस क्लबको अगुवाइमा लालीगुराँस र विभिन्न किसिमका फूल रोप्ने, सडकको स्तरोन्नति गर्ने, विश्रामस्थल, खेलमैदान मर्मत, पदमार्ग निर्माण जस्ता कार्यहरू गरेर यसको प्रचारप्रसारमा लागेको किरात फ्रेन्डस क्लबका अध्यक्ष जीवन राईले बताए ।

असोज कात्तिक र मंसीर महिना मात्र उपयुक्त समय भएकोले आजभोलि झापा र भारतका सिमा क्षेत्रका पर्यटकहरु जिर्मले पुग्न थालेका छन् । पर्यटकको चहलपहल बढ्न थालेपछि स्थानीय होमस्टेहरु भरिन थालेका छन् । पर्याप्त होमस्टे तयार नभइसकेको अवस्थालाई मध्यनजर गरेर पालिकाले टेन्टको व्यवस्था गरेर पर्यटकलाई सहजता प्रदान गर्न थालेको छ, निकट दिनमै त्यस स्थानमा स्थानीयहरुले आफ्ना सेवाहरु बढाउने तयारी गरेका छन् । हरेक कुनै पनि गन्तव्य जानको लागि पहिला खर्चको कुरा आउँछ नै, खर्चका हिसाबले जिर्मले झण्डीडाँडा अत्यन्तै सस्तो छ । खानेकुराहरु स्थानीय उत्पादन मात्र भएकाले पनि सस्तो भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here