बाहुनडाँगी–धरान राजमार्ग बनाउन दमकमा कार्यालय

0
1070

विष्णुप्रसाद पोखरेल
दमक ।

मदन भण्डारी राजमार्ग आयोजना अन्तर्गत पूर्वी नेपालको करिब १३५ किलोमिटर राजमार्ग निर्माणका लागि दमकमा छुट्टै कार्यालय स्थापना भएको छ । सडक डिभिजन कार्यालय परिसरभित्र नै कार्यालय स्थापना भएको हो ।

झापाको मेचीनगर नगरपालिकामा पर्ने बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म १२० किलोमिटर राजमार्गको डीपीआर पूरा भए पनि इलामको चुलाचुलीदेखि सुखानीसम्म भने डीपीआर पुरा नभएको बताइएको छ । यो डीपीआरको चरणमा रहेको छ । रेखाङ्कन भने सकिएको बताइन्छ ।

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका प्रमुख श्यामकुमार यादवका अनुसार सकड कति किलोमिटर लामो बन्छ भन्ने इलाम खण्डको डीपीआर तयार भएपछि मात्र निश्चित हुनेछ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले नै डीपीआर पूरा गर्ने पनि उनले बताए ।

अहिले हामी छिटोभन्दा छिटो दमकमा कार्यालय र यसका लागि आवश्यक कर्मचारी ब्यवस्थापनमा लागेका छौ– यादवले भने– डीपीआर भएका क्षेत्रमा पुल निर्माणको चरणमा पुगेको छ तर सडक निर्माणको काम भने शुरु भएको छैन ।

३१ वटा पुल निर्माण शुरुको चरणमा

डीपीआर पूरा भइसकेको क्षेत्रका ३१ वटा पुलहरु निर्माणको चरणमा पुगिसकेको यादवले बताए । करिब ४ अर्बको लगानीमा पुलहरु ‘डिजाइन एण्ड बिल्ड’ को चरणमा पुगेको उनको भनाइ रहेको छ । अबको करिब एक महिनाभित्रमा नै पुल निर्माणको काम शुरु हुनेछ– यादवले भने ।

डिजाइन एण्ड बिल्ड मोडल प्रक्रियामा पुलहरु निर्माण हुने भएकाले केही समय यसलाई लागेको बताइन्छ । निर्माण कम्पनीले नै पुलको डिजाइन पेश गरेपछि आयोजनाको स्वीकृतिमा काम अघि बढ्ने छ । यसको कार्यान्वयनलाई दमकको कार्यालयले हेर्नेछ ।

आयोजनाको सम्पूर्ण सडकखण्डको डीपीआर तयार भइसकेपछि आयोजनाको वास्तविक कूल लम्बाइ र लागत स्पष्ट हुने बताइएको छ । हाल निर्माणाधीन सडकको लागतको आधारमा यस आयोजना निर्देशनालय मातहतको ८३० कि.मि. सडकमा पुल निर्माणसहित सडक स्तरोन्नति कार्य गर्न करिव ८५ अर्ब रकम लाग्ने अनुमान रहेको निर्देशनालयले जनाएको छ ।

चाडो काम गर्न बारम्बार छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका विकास विज्ञ समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य होमबहादुर थापाका अनुसार सडक निर्माणको डीपीआरको प्रारम्भिक चरणमा सामान्य विवादहरु सिर्जना भए पनि अहिले केही समस्या रहेको छैन ।

अन्यत्र काम शुरु भएर तीब्र गतिमा राजमार्ग तथा पुलहरु बनिरहेकाले यहाँ पनि चाँडो शुरु हुने उनले बताए । अबको तीन बर्षभित्रमा राजमार्ग तयार बनिसक्नु पर्ने भएकाले चाँडो डीपीआर तयार गरेर काम शुरु गर्नका लागि आफूहरुले मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयमा बारम्बार छलफल गरिरहेको पनि उनको भनाइ छ ।

झापाको दमक खण्डमा पनि कताबाट राजमार्गलाई लैजाने भनेर रस्साकस्सी चलेको थियो । अब झापा खण्डमा कुनै विवाद र समस्या छैन– थापाले भने । डीपीआर तयार हुन बाँकी रहेको क्षेत्रमा पनि समस्या नरहनेमा आफूहरु आशाबादी रहेको पनि उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here