कहिले आउला घरघरमा धारा

0
605

बलेवा,

बडीगाड गाउँपालिका–७ भीमगिठे पानीको चरम समस्या भएको ठाउँ हो । वर्षामा आकाशको पानीले घाँटी भिजाउने यहाँका सर्वसाधारण हिउँदको समयमा कुवा र जङ्गल छेवैका पँधेराको भरमा बाँचेका छन् । सामुदायको सक्रियतामा निर्माण भएका कतिपय गाउँ छेउका धारामा हिउँदको समयमा पानी खस्दैन ।

भीमगिठेमा रहेको पानीको समस्या सामाधानका लागि नेपाल सरकारले ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन गर्ने भनेपछि यहाँ शुरु भएको ‘विरही खानेपानी आयोजना’ समेत बजेटको अभावले अलपत्र परेपछि स्थानीय थप समस्यामा परेका छन् । यो खानेपानी आयोजना २०७३ सालमा शुरु भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत बजेट प्राप्त भएर काम शुरु भएको यो आयोजना क्रमागत आयोजना हो ।

अहिले यो खानेपानी आयोजनाको काम गर्ने वा नगर्ने अवस्थामा छ । “यो वर्ष बजेट चार लाख विनियोजन भएको कुरा छ तर निकासा नपाउँदा काम थाल्न सकिएको छैन ।” आयोजना उपभोक्ता समितिका अध्यक्ष रणबहादुर घर्तीमगरले भन्नुभयो, “वर्षौं भयो बजेट कम हुँदा काम गर्न सकिएको छैन ।”

भीमगिठेका १४९ घरपरिवारलाई घरघरमै धारा पु¥याउन यो आयोजना शुरु भएको हो । यसअघि दुई वटा मुहानबाट पानी ल्याउने गरी आयोजना शुरु भएको थियो । पहिलो र दोस्रो वर्ष लगाएर मुहानमा बनाइएका इन्टेक र केही पाइप बिच्छाउने कामबाहेक थप काम हुन नसकेको घर्तीले बताउनुभयो । आयोजना शुरु भएको चार वर्ष बितिसक्दासमेत धारा बनेर पानी आउने वातावरण नबनेको स्थानीय रामबहादुर रायमाझी बताउनुहुन्छ ।

पानीको समस्याका कारण यहाँका सर्वसाधारण पशुचौपाया तथा सरसफाइका लागि पानी प्रयोग गर्न पाउँदैनन् । भीमगिठेमा रहेको सामाजिक संस्था, विद्यालय तथा स्वास्थ्य संस्थामा समेत पानीको अभाव छ । अघिल्लो वर्ष आठ लाख रुपैयाँ खर्चेर यो आयोजनामा काम भएको थियो । पानी जम्मा गर्ने ट्याङ्की, पानी वितरण गर्ने ट्याङ्की र घर घरमा धारा बनाउने र पाइपको काम बाँकी छ ।

क्रमागत आयोजना भएकाले वर्षेनी विनियोजन हुने बजेटका आधारमा स्टमेट भएर काम हुने गरेको अध्यक्ष घर्तीले बताउनुभयो । आयोजना सम्पन्न हुँदा करोड बढी खर्च हुने भए पनि बजेट अति न्यून भएकाले काम सम्पन्न हुन नसकेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here