चौथो अङ्ग र यसको भूमिका

0
1218

राज्यको चौथो अङ्ग भनिन्छ पत्रकारिता जगतलाई । जनताको अधिकार र स्वतन्त्रताको विषयमा सुसूचित गर्दै वैधानिक शासन र कानूनी राज्यको प्रत्याभूतिका लागि समेत जहिल्यै अग्रमोर्चामा उभिने सञ्चारजगतको छाता संगठन हो नेपाल पत्रकार महासंघ । विद्यमान संविधानद्वारा निर्दिष्ट संघीय प्रणाली अनुसार नेपाल पत्रकार महासंघ नवीन संरचनामा प्रवेश गरेको छ । त्यसकै विधान अनुसार महासंघको जिल्ला, प्रदेश र (केन्द्रीय) समितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता भइसकेको छ । विगतभन्दा भिन्न प्रक्रियाबाट हुन लागेको निर्वाचन पूर्णरुपले प्रत्यक्ष निर्वाचन विधिबाट हुँदैछ । अब निर्वाचित सबै कार्य समितिका पदाधिकारी एवम् प्रतिनिधिहरुको भूमिका र जिम्मेवारी पेशागत सुरक्षासँगै व्यावसायिक पत्रकारिताको प्रवद्र्धनका लागि हुनुपर्दछ । यसका लागि ‘पत्रकार गर्ने’ होइन ‘पत्रकारिता गर्ने’ निष्ठावान, संघर्षशील, समर्पित र सदाचारी नेतृत्व चयन गर्ने जिम्मेवारी सम्पूर्ण मतदाताको हुनु पर्दछ ।

पत्रकारलाई ‘वाच डग’ पनि भन्ने गरिन्छ । आम जनताको हक, अधिकार स्थापित गर्दै राज्यका हरेक क्रियाकलापमा खबरदारी गर्ने भूमिका र जिम्मेवारी निर्वाह गर्नुपर्ने नेतृत्व दल वा सत्ताको छहारीभन्दा मुक्त हुनु पर्दछ । दलीय आबद्धताले ‘वाच डग’ को भूमिका र जिम्मेवारी निर्वाह गर्न सकिँन्न । त्यस्तै श्रमजीवी पत्रकारहरुको हक, अधिकारको सुनिश्चितता सँगै पेशागत सुदृढीकरण र व्यावसायिक पत्रकारिताको सम्बद्र्धनका लागि ‘एकलब्य’ साधना गर्ने नेतृत्व आजको आवश्यकता हो । यसका लागि उम्मेदवारको भन्दा पनि मतदाताहरुको भूमिका अहम् रहन्छ । त्यसैले संघीय संरचना अनुसार यही चैत २५ गते हुन लागेको सबै तहको निर्वाचनमा देश र दुनियाको रक्षाका लागि कलम चलाउने पत्रकार मतदाताहरुले विचारभन्दा विवेकको मत प्रयोग गर्नुपर्ने हुन्छ ।

झापा पत्रकारिताको इतिहासमा कहलिएको र उर्बर जिल्ला हो । नेपाल पत्रकार महासंघको उद्गम भूमि झापा र झापाको मध्य भएर बग्ने कनकाई जस्तो पवित्र नदीको किनारमा झापा घोषणपत्र जारी गर्दै जन्मिएको संस्थाको नेतृत्व गर्ने समूह समाज रुपान्तरणको आदर्श हुनु पर्दछ । व्यावसायिक पत्रकारिताको बलियो आधार तयार गरी श्रमजीवी पत्रकारहरुको सुरक्षाको प्रत्याभूमि गर्न सक्ने संरक्षक बनिनु पर्दछ । जिल्ला–जिल्लामा उम्मेदवार दिएकाहरु मध्येबाट योग्य, क्षमतावान, ऊर्जाशील, निष्ठावान, विवकेशील सदाचारी र मूल्य र मान्यता अनुसार पत्रकारिताको धर्म निर्वाह गर्न सक्ने पात्रको चयन गर्ने नैष्ठिक मतदानले मात्र वर्तमानका विसंगतिहरु हटाउन सक्छ । यसतर्फ सबैको गम्भीर चिन्तन होस् जसले भोलिको समाज सुशासन, आदर्श, नैतिक र मर्यादित बनाउन सक्नेछन् । यसैले सुदूर भविष्यको नेपाली जीवनको प्रतिविम्वन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here