महाकम्पको सम्झना

0
954

महाकम्पको सम्झना दिलाउने दिन आज । छ वर्षअघि गएको भूकम्पले झण्डै नौ हजार नेपालीको ज्यान लिएको थियो । त्यसबेला भत्किएका भौतिक संरचनाहरु आज पनि पूर्णरुपले ठडिएका छैनन् । त्यस दिनको त्रासदी नेपालीको मन–मस्तिष्कबाट अझै हराएको छैन । २०७२ साल बैशाख १२ गते मध्यान्ह एकाएक देश नै त्रासमा परेको थियो । खासगरी ग्रामीण क्षेत्रमा भूकम्पका कारण बढी क्षति हुन पुग्यो । राजधानी काठमाडौंमा पुराना राष्ट्रिय गौरव र महत्वका भीमसेन स्तम्भ, काष्ठमण्डप जस्ता ऐतिहासिक संरचना धराशायी बने । अन्य थुप्रै भोतिक, आर्थिक र मानवीय क्षति व्यहोरेको देश आज पनि त्यसको प्रभावबाट मुक्त हुन सकिरहेको छैन । यद्यपि प्रधानमन्त्री भीमसेन थापाले निर्माण गरेको स्तम्भ (धरहरा) पुनर्निर्माण पछि आज सार्वजनिक हुँदैछ, गोर्खा बारपाकका भूकम्प पीडितको थातथलो पनि पुनर्निर्माण भएका छन् । तर, सबै संरचनाहरु तयार भइसकेका छैनन् ।

नेपाल भूकम्पीय जोखिमका दृष्टिले उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन् । जोखिम उच्च भएका आधारमा त्यसबाट बच्न र न्यूनीकरण गर्न आधिकारिक निकायबाट ठोस पहल भएको छैन । प्राकृतिक विपदा बाजा बजाएर वा सूचना दिएर आउँदैन, त्यसैले त्यसको सामना र प्रतिरक्षा गर्न हामीले प्रभावकारी पहल गर्नुपर्दछ । त्यसैगरी जनजागरण, जनचेतनासँगै भौतिक संरचना निर्माणमा जोड दिनुपर्दछ । प्रकृतिसँग सिङ जोड्न त सकिँदैन, तर त्यस अनुकूलन भएर बाँच्न सक्नुमा मानव हुनुको सार्थकता रहन्छ । वि.सं. १९९० सालको महाभूकम्प भोग्नेहरु शायद थोरैमात्र बाँकी छौं, तर पछिल्लो भूकम्पको सन्त्रास धेरै नेपालीको मनमा अझै कायम छ । त्यसपछिका पराकम्पहरुमा तर्सिएको मनलाई निश्चिन्त बनाउन भरपर्दो वातावरण तयार गर्न अझै बाँकी छ ।

छ वर्षअघिको आजको दिन र त्यसपछि लगातारको पराकम्पनका कारण वाइस हजार तीन सय जनाभन्दा बढी मानिस घाइते भएका थिए । राष्ट्रिय योजना आयोगको तथ्यांक अनुसार नौ लाखभन्दा बढी घर ध्वस्त भए । त्यसैले भौतिक विकास र समृद्धिका लागि बीस वर्षपछि धकेलेको महाभूकम्पको सम्झना गर्दै सम्भावित विपदासँग लड्न, न्यूनीकरण र प्रतिरक्षाका उपायहरु तथा जागरण दिलाउन यो दिनले सम्बन्धित निकाय र सरकारलाई प्रेरित गरोस् । देशको ऐतिहासिक पहिचान राख्ने स्तम्भ पुनः ठडिएको छ, त्यसको उचाइले नेपाली जातिको शिर उचो पारोस् । काष्ठमण्डप, दरवार स्क्वायर जस्ता सांस्कृतिक पहिचानले चाँडै राजधानीलाई सुशोभित गर्न पाओस् । भूकम्पले गरेको क्षति, पुननिर्माणमा भएको बेथिति र नेताहरुको नियतिबाट सिक्दै र सचेत हुँदै अघि बढ्नुपर्छ । प्रकृतिसँग विज्ञान पराजीत नै हुन्छ भन्ने सत्यलाई आत्मसात गरौं । महासन्त्रासको त्यो क्षण र त्यसले गरेको अपूरणीय क्षतिबाट आहत परिवारजनप्रति सद्भावसहित भूकम्पमा परी जीवन गुमाउन बाध्य सम्पूर्ण मानवप्रति श्रद्धासुमन अर्पण गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here