विपद् व्यवस्थापनको पूर्वतयारी

0
766

मनाङ,

बङ्गालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात पश्चात् अहिले मनसुन पनि शुरु भइसकेको छ । मनसुन शुरु भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षामा हुनसक्ने सम्भाव्यताको न्यूनीकरणमा जुटेको छ ।

जिल्लावासीलाई सुरक्षित र विपद् न्यूनीकरणका लागि मनाङ जिल्ला विपद् व्यवस्थापन समितिले पनि पूर्वतयारी थालेको छ । वर्षाको समयमा बाढी पहिरो जस्ता प्राकृतिक विपद् आइपर्ने हुँदा जोखिम न्यूनीकरणको पूर्वतयारी थालिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताउनुभयो ।

“प्राकृतिक विपद्बाट जिल्लामा धेरै क्षति हुनबाट जोगाउनका लागि पूर्वतयारी थालिसकेका छौँ’, लामिछानेले भन्नुभयो । उहाँका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष वर्षायाममा बढी जोखिम हुनसक्ने पूर्वानुमान गरिसकेकोले सचेत हुनुपर्ने भन्दै तयारी थालेको हो ।

प्राधिकरणको निर्देशनअनुरूप यसपालि यस अवधिमा बढी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरोको घटनाको प्रतिकार्यका लागि जिल्लाभित्रका चार वटै गाउँपालिकासँग समन्वय गरेर तयारी थालिएको उहाँले बताउनुभयो । “विपद्को अवस्थामा उद्धारमा खट्ने जनशक्ति तयार भइसकेको छ, वर्षायाम शुरु भइसकेको छ, उद्धारमा खटिने जनशक्तिलाई विश्वव्यापी फैलिएको कोभिड–१९ बाट जोगाउनुपर्ने अवस्था छ, उनीहरुलाई स्वस्थ कसरी राख्ने भन्ने चुनौती थपिएको छ”, उहाँले भन्नुभयो ।

विगतमा भन्दा हाल स्थानीय सरकारलाई बढी स्वामित्व हस्तान्तरण भएकाले पालिकाहरु सचेत हुन आवश्यक रहेको उहाँको भनाइ छ । त्यसका लागि स्थानीय तहसँग समन्वय, सहकार्यका लागि अद्यावधिक भएको उहाँले बताउनुभयो । अहिले विपद् व्यवस्थापन गर्ने पहिलो पक्ष स्थानीय सरकार भएकोले पालिकाहरुले विपद्को पूर्वतयारीका काम गरिरहेको उहाँले बताउनुभयो ।

विपद्मा उद्धारमा खटिने जनशक्तिका लागि कोरोना विरुद्धको खोपको व्यवस्थापन गर्नेबारे सम्बन्धित स्थानीय तहमा छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो । प्राधिकरणले यसपालिको वर्षायाममा धेरै पानी पर्ने पूर्वानुमान गरिसकेकाले हिमाली जिल्लाहरुमा बढी क्षति हुनसक्ने भन्दै सबै स्थानीय तहले सतर्कता अपानएका छन ।

यस्तै जिल्लाका चार वटै स्थानीय तहले जोखिमयुक्त क्षेत्रको पहिचान गरी व्यवस्थापनमा लागिपरेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । “आमनागरिकको जीवन रक्षाका लागि गाउँपालिका सचेत छ”, घलेले भन्नुभयो । बङ्गालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवातले यही जेठ १४ गते आएको बाढीले एक पालिका र अर्को पालिका बीचको आवतजावतमा समेत समस्या सिर्जना गरिसकेको उहाँले बताउनुभयो ।

त्यस्ता समस्या दोहोरिन नदिनेतर्फ पनि पालिकाहरु सचेत भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो । “औषधिलगायत अत्यावश्यक सामग्री ढुवानीका लागि समस्या भइरहेकाले पालिकाहरु बीच छलफल गरी दबाब दिइरहेका छौँ, तर काम पूरा भएको छैन”, उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here