कैदीबन्दीको उदात्त कार्य

0
583

मानिस चेतनाका दृष्टिले सर्वोच्च प्राणी हो । नभचर, जलचर र स्थलचर प्राणीहरूमध्ये विवेकशील भएका कारण मानिसलाई सर्वोच्च भनिएको हो । पूर्वीय संस्कृतिमा चौरासी लाख जुनी हुन्छन् भनिएको छ। यो तीनै तहका प्राणीको गणना हो । मानव जीवनलाई सार्थक बनाउन सकिए अरू जुनी भोग्नु पर्दैन भन्ने विश्वासमा मानिस सत्कर्म गर्न चाहन्छ । तर, कहिलेकाहिँ अज्ञानताबस मानिसबाटै दुष्कर्म पनि भएका छन् । त्यसैले असावधानी र अज्ञानताबाट कुनै खराब कर्म गरिएको भए क्षमायाचनासहितको प्रायश्चितले मुक्ति पाइने बिश्वास छ। त्यही कारण पूर्वजहरूले परोपकारी, सहयोगी र सदाचारी बन्न प्रेरीत गरेका थिए ।

त्यसो त सबै धर्मको सार हो– असल कर्म गर । मिथ्या नबोल, उपकारी बन, धर्मको अनुशरण गर । सबैले मानेको सत्य पनि यही हो । तर, आजको प्रतिस्पर्धाको युगमा मानिस व्यक्तिवादी बन्दै गएको छ । सद्भाव, सदाचार, सम्भाव र सहअस्तित्व जस्ता आदर्शहरू केवल ओठे कुरा मात्रै हुँदै गएका छन् । त्यही भएर मानिसभित्र रहेको आसुरी शक्ति हटाएर सभ्य मानिस बनाउनकै लागि राज्यद्वारा कानून बनाइन्छ र अमानवीय कर्म गर्नेलाई दण्डित गर्दै रामराज्य निर्माण गर्ने कल्पना गरिन्छ । यति हुँदाहुँदै पनि मानिस इष्र्या, द्वेष, लोभ र मोहको अधीन भएर अरूलाई मन, वचन र कर्मले पीडा दिन पुग्छ । त्यसैलाई सनातनी अर्थमा पाप भनिएको हुन सक्छ । मनका यिनै विकारहरू जब अरूका पीडाका कारण बनिन्छन् तब अपराध ठहरिन्छन् र विधिको शासनबाट दण्डित हुन्छन् । दण्ड सजायबाट मन माझिएर, दुर्भावना हटेर अरूलाई दुःख दिएर परिवारको भरणपोषण गर्ने ‘रत्नाकर’ महापुरुष बाल्मीकि बनिएको दृष्टान्त हाम्रै संस्कृतिमा छ ।

आफूलाई पुगेर उभ्रिएको अरूलाई दिने धेरै होलान् र ति पनि आफूलाई उपकारी ठानेर दम्भ पनि गर्लान् । तर, वास्तविक अर्थमा दानी वा उपकारी ति हुन् जो आफ्नो भाग अरूलाई दिन तत्पर हुन्छन् । आपतविपत् सबैलाई पर्छ वा पर्न सक्छ । त्यो धेरै प्राकृतिक कारणले पर्छ र चेतनाले पूर्ण मानिस यस्तो बेला सहयोग गर्न तत्पर हुन्छ । प्रत्येक दिन यस्ता घटनाहरू निरन्तर भइ रहेका छन् । आफूबाट भएका गल्तीको सजाय भोग्दै रहेका वा परिबन्दले दोषी मानिएका मध्येका झापा कारागारमा रहेका कैदीबन्दीले सिन्धुपाल्चोकमा बाढीपहिरोबाट सर्वस्व गुमाएका पीडितहरूलाई गाँस काटेर सहयोग गरेका छन् । आफ्नो एक छाक काटेर बाढी पीडितको पीडा कम गर्न गरेको सेवा कार्य उदाहरणीय मान्नुपर्छ । स्थानीय खोलामा आएको बाढीले जनधनको ठूलो क्षति गराएपछि देशविदेशमा सहयोगी हात र मन सेवामा क्रियाशील भइरहेका बेला सीमान्त जिल्ला झापाका कारावासको सजाय भोगिरहेकाहरूको यो मनकारी र उदात्त सेवाभाव सम्मानयोग्य छ । मानिसको सर्वोच्चता चिनाउने सानो तर उत्प्रेरक कर्मका लागि उनीहरू धन्यबादका पात्र छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here