‘सेटिङ्गमा’ अनुसन्धान प्रभावित नबनाउन राप्रपाको खबरदारी

0
710

झापा ।

झापामा पछिल्लो समय भएका शृङ्खलाबद्ध शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले दोषी पत्ता लगाउन नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले बिरोध जनाएको छ । राप्रपाले सोमबार बिर्तामोडमा ‘हत्याराको खोजी गर, नागरिक सुरक्षाको ग्यारेण्टी गर’ भन्दै बिरोध प्रदर्शन गरेको हो ।

राप्रपा नगर समिति बिर्तामोड र मन्जुश्री असाहाय संरक्षण केन्द्रले संयुक्तरूपमा निकालेको बिरोध र्‍यालीपछि आयोजित कोण सभामा बोल्दै पार्टीका झापा अध्यक्ष केशब ओझाले आफुहरुको कार्यक्रम सांकेतिक भएको तर सुरक्षा अवस्था यस्तै रहिरहे आफुहरु अर्को रुपमा प्रस्तुत हुन बाध्य हुने बताए ।
निरन्तरका घटनाहरुको दोषी पत्ता लगाई कानुनको कठघरामा उभ्याएर जनतालाई सुरक्षित महशुस गराउन उनले आग्रह गरे ।

नगर समिति झापा अध्यक्ष रन्जु प्याकुरेलले गएको चैत्र २२ गते शंकास्पद मृत्यु भएका गाउँले होटेल बिर्तामोडका संचालक तिलक निरौलाको घटनामा प्रहरीले सेटिङ्ग मिलाएर दोषीलाई उन्मुक्ति दिन लागेको भन्ने सुन्नमा आएको भन्दै प्रशासनलाई खबरदारी गरिन् । त्यस्तै गत पुस ५ गते बिभत्स हत्या गरिएका बिर्तामोड २ का दिनु राजबंशीको घटनामा प्रहरीले एक हप्ता पछि घटनाको बिषयमा केही जानकारी दिने बताउदै सात महिनासम्म पनि कुनै जानकारी नगराएको भन्दै आक्रोश ब्यक्त गरिन्।

राप्रपाले यहि असार २८ गते अर्धनग्न अवस्थामा आफुबस्ने घरमुनी मृत फेला परेकी बिर्तामोड ५ कि सिर्जना बस्नेतको हत्यारा चाँडो पत्ता लगाउन भन्दै यस अघि नै बिज्ञप्ति जारी गरेको थियो । लगातार हत्याका घटनाहरु बढेको तर प्रहरीले सत्य तथ्य पत्ता लगाउन नसकेको भन्दै बिर्तामोड नगरपालिकाले असार २९ गते एक बिज्ञप्ति जारी गरि सम्बन्धित निकायलाई सुरक्षा माग गरेको छ । नगर क्षेत्र भित्रको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाई नागरिकहरुको जिउ धनको रक्षा गर्न नगर प्रमुख ध्रुबकुमार शिवाकोटीले माग गरेका छन ।

असार २९ गते मंगलबार नै झापामा महिला हत्याको घटना बढेको भन्दै मेची–महाकाली बुहारी संयुक्त आवाजले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई ज्ञापन पत्र बुझाएको थियो । झापा अध्यक्ष शिखा खड्काको नेतृत्वमा गएको टोलिले प्रजिअ तिमिल्सिनालाई ज्ञापन पत्र बुझाउदै सिर्जना बस्नेत घटनाको वास्तविकता सार्वजनिक गर्न समेत माग गरेको थियो ।

सिर्जना बस्नेतको रहस्यमय मृत्यु भएको हप्ता दिन बढी भइसक्दा समेत हत्या वा आत्महत्या के हो भन्ने निस्कर्षमा प्रहरी पुग्न सकेको छैन । प्रहरीले सोमबार बेलुकासम्ममा मृतकले बोक्ने मोबाइलको फरेन्सिक जाँच सकेर फाइल आउने जनाएको छ । प्राप्त फाइल समूह बनाएर सुक्ष्म अध्ययन गरिने इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष आचार्यले जानकारी दिए ।

अनुसन्धानका लागि महत्वपूर्ण सुचना प्राप्त हुने पोष्टमार्टम रिपोर्ट पुर्ण आइनसकेको उनले बताए । भिसेरा तथा भेजाइनल स्वाब परिक्षणका लागि काठमाण्डौ पठाइएको र त्यसको रिपोर्ट आउन समय लाग्ने डीएसपी आचार्यको भनाई छ । प्रहरीले अहिले आफन्त तथा छिमेकीहरुसग बुझ्ने काम भइरहेको बताएको छ । लामो समयसम्म पनि प्रहरीले कुनै जानकारी बाहिर ल्याउन नसकेको भनेर आलोचना भइरहेको बेला प्रहरीले भने अनुसन्धान भइरहेको बताउने गरेको छ ।

यता गाउँले होटेलका संचालक तिलक निरौला मृत्यु प्रकरणमा नारायण खड्कालाई दुरुत्साहन मुद्दामा कानुनी कारबाही अगाडी बढाइएको आचार्यले बताए । बिर्तामोडमा अपराधका घटना बढ्दा समेत प्रहरीले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै स्थानीयले डीएसपी आचार्यको कार्य क्षमतामा प्रश्न गर्न थालेका छन् । स्थानीय सरकारले नै शान्ति सुरक्षाको विषय उठान गर्दै विज्ञप्ती निकाल्नुले पनि उनको कार्य क्षमतामा प्रश्न खडा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here