निर्मला हत्याका दोषिलाई कार्बाही गर भन्दै दीप प्रज्ज्वलन

0
621

 

स्मृति तिमिल्सिना
बिराटनगर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पुग्यो । तर अहिले सम्म दोषी पत्ता लगाई कार्वाही गरिएको छैन । शनिबार बिराटनगरको देवकोटा चोकमा स्थानीय खगेन्द्र रौनियारसहितको समूहले निर्मलाको बलात्कारपछि हत्यामा संलग्न दोषिलाई पत्ता लागाइ कडा भन्दा कडा कार्बाही को माग सहित दीप प्रज्ज्वलन गरेका छन् । अहिलेसम्म दोषि पत्ता नलगाएको भन्दै उनीहरुले आक्रोस समेत व्यक्त गरेका छन् ।

उनीहरको भनाइ छ – सरकार फेरियो तर निर्मलाको परिवारले आजसम्म पनि न्याय पाएको छैन । दीप प्रज्ज्वलनगर्दै उनीहरुले छिटो भन्दा छिटो दोषिलाई खोजेर कार्बाही होस् भनेका छन् । खबरदारीसंगै निर्मला र परिवारलाई न्याय दिलाउन लागिपर्ने उनीहरुको प्रतिबद्धता छ ।
निर्मलाबारे अनलाइन खबरमा गौरव पोखरेलले लेखेका छन्-

कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त १० साउन २०७५ मा हराइन् । परिवारले छोरीको खोजी गरिदिन भन्दै अस्थायी प्रहरी चौकी, भगतपुरलाई गुहार्‍यो । आमा दुर्गादेवी पन्तका अनुसार प्रहरीले उनको कुरै राम्ररी सुनेन ।

‘पोइल गइहोला, भोलि घर आउँछे भनेर प्रहरीले भनेको थियो’ उनले त्यसवेला अनलाइनखबरसँग भनेकी थिइन्, ‘शायद प्रहरीले त्यतिवेलै खोजी गरिदिएको भए यो दिन आउँदैनथ्यो होला ।’ दुर्गादेवीका भनाइमा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदीश भट्टले पनि ‘भोलि खोजौंला’ भनेका थिए ।

नेपाल प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार निर्मला प्रकरणमा प्रहरीको कमजोरी यही विन्दुबाट शुरू भएको थियो ।

‘पीडितलाई प्रहरीले छोरीको खोजी गरिदिन्छ भन्ने विश्वास दिलाएर शुरूबाटै काम गरेको भए, शायद यो घटना यति धेरै बिग्रिने थिएन’ अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) पीताम्बर अधिकारी भन्छन्, ‘दुःखमा परेका परिवारका लागि प्रारम्भिक रेस्पोन्स नै सबैभन्दा ठूलो कुरा हुन्छ ।’

अझ पीडितको शव भेटिएपछि पनि तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट घटनास्थलमा पुगेनन् । त्यसले पीडित र स्थानीयमा आक्रोश बढायो । घटनास्थलमा पन्तको कपडा पखालिदिएको विषयले प्रहरीले हत्यारा लुकाउन खोजेको आशंकालाई बल दियो ।

‘भलै महिला प्रहरी जवानले बीभत्स अवस्था र मानिसहरूको हुल देखेपछि शव छोप्न त्यही कपडा प्रयोग गरेकी थिइन्’ अधिकारीले सुनाए, ‘गम्भीर प्रकृतिका घटनामा पीडित पक्षलाई विश्वासमा राख्न नसके परिणाम सुखद् हुँदैन भन्ने प्रमाण यो घटना हो ।’

अधिकारीको भनाइमा वैज्ञानिक हिसाबबाट हेर्ने हो भने घटनास्थलमा खटिने प्रहरीले कपडा पखाल्नु गम्भीर गल्ती हो । ‘तर कहिलेकाहीं विज्ञान मात्रै हेरेर हुँदैन, सामाजिक परिवेश, वातावरण र अन्य विषयको पनि मूल्यांकन गर्नुपर्छ’ उनी थप्छन्, ‘त्यसपछाडि नियत थियो थिएन भन्ने कुरा पनि हेर्नुपर्छ ।’

निर्मलाको तस्वीर हर्दै आमा दुर्गादेवी पन्त ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २५ दिनपछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक त गर्‍यो तर पीडितलाई अनुसन्धानमा भइरहेको प्रगतिबारे पहिल्यै अवगत गराएर विश्वासमा लिन नसक्दा विष्ट घटनामा संलग्न रहेकोमा स्थानीयले विश्वासै गरेनन् ।

अनुसन्धान अधिकृत डीएसपी अंगुर जिसीको दाबी अनुसार वस्तुस्थिति र प्रमाणले विष्टबाहेक अन्य आरोपी हुनै नसक्ने संकेत गरेको थियो । प्रहरीले थप प्रमाण जुटाउन भन्दै विष्टको डीएनए जाँचका लागि नमूना संकलन गर्‍यो । तर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएका जाँचमा निर्मलाको ‘भेजाइनल स्वाब’बाट निकालिएको डीएनएसँग नमूना नमिलेपछि घटनामा ट्वीस्ट आयो ।

विष्टलाई प्रहरीले छाड्नुपर्‍यो, अनुसन्धान अधिकृतहरू नै आरोपित बने । बलात्कारपछि हत्या भएको घटनाले देशभर सनसनी मच्चायो । तीन वर्षमा थुप्रै अनुसन्धान अधिकृत, जिल्ला प्रहरी प्रमुख, तीन प्रहरी महानिरीक्षक र एक प्रधानमन्त्री पनि फेरिए तर, निर्मला पन्त प्रकरण सुल्झिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here