सरकार ! भो चाहिँदैन भ्याक्सिन

0
666

विनोद सापकोटा,
झिलझिले ।

झापाका अधिकांश स्थानीय तहमा सीमित संख्यामा खोप आएको तर खोप लगाउने लक्षित समूहको संख्या अत्यधिक हुँदा समस्या उत्पन्न भएको छ ।

खोपका लागि पालिकाहरुले पूर्व सूचना जारी गरेर लक्षित समूहका नागरिकलाई दिनभर लाइन लगाउने तर वीचमै खोप सकिएको भन्दै सूचना टाँस गरेर कार्यक्रम स्थगित गर्ने गरेको पाइएको छ । लक्षित समूहको तथ्यांक सही रुपमा आँकलन नगरी सूचना जारी गर्ने र सीमित खोप पठाउने गर्दा सबैतिर नागरिकले सकस व्यहोर्नु परेको छ । अझ कोरोनाको बढ्दो संक्रमणकाबीच स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाइ खोप कार्यक्रम अत्यधिक भीडभाड र भद्रगोल देखिँदै आएको छ ।

शिवसताक्षी नगरको लागि भनेर पठाइएको खोप मध्ये तीन वटा केन्द्रबाट वितरण हुने कार्य स्थगित भएको छ । तीन दिनको कार्यक्रम नै बनाएर नगरले ५२ वर्षमाथि र लक्षित वर्गका नागरिकलाई खोप लगाउन शुरु गरेको थियो ।

शिवसताक्षी नगरपालिका वडा नम्बर–११को सतासीधाम स्वास्थ्यचौकी बाहेकका केन्द्रमा खोप सकिएको स्वास्थ्य शाखाले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज, स्वास्थ्यचौकी पाँचगाछी र धरमपुर स्वास्थ्य चौकीबाट लगाइएको खोप लक्षित समूहका नागरिकले लगाउन बाँकी हुँदै सकिएको स्वास्थ्य संयोजक हरि बिमलीले बताए । उनले भने करिव ६० हजार खोप आवश्यक रहेको नगरमा हाल सम्म ९ हजार हाराहारीका मानिसले मात्र खोप पाएका छन् । माग अनुसारको खोप नआउँदा सर्वसाधारणमा खोप अभाव भएको हो ।

नगर स्वास्थ्य शाखाका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जमा १ हजार, धरमपुर स्वास्थ्य चौकीमा १ हजार र पाँचगाछी स्वास्थ्य चौकीमा ७ सय डोज खोप सकिएको संयोजक बिमलीले छ। सतासीधाम स्वास्थ्य चौकीबाट २ हजार ६० जनाले खोप लगाउने कार्यक्रम थियो । त्यहाँको खोप मौजात रहेकाले मंगलबार र बुधबार पनि सर्वसाधारणलाई लगाउने कार्यक्रम रहेको नगरका सहायक सूचना अधिकारी डिल्ली नेपालले बताए ।

यता आइतबार सुनसान देखिएका धरमपुर, पाँचगाछी र शिवगञ्जका केन्द्र बिहानैदेखि खचाखच थियो । सतासीधाम स्वास्थ्य चौकीको भीड देखेर कतिपय खोपका लाभग्राही आइतबारको स्थिति सम्झेर ती खोप केन्द्रमा पुगेका थिए ।

अघिल्लो दिन सुनसान देखिएको पाँचगाछी स्वास्थ्य चौकीमा खोप उभ्रिने सम्भावना थियो । ५ नम्बर वडाका अध्यक्ष सत्यनारायण राजबंशीका अनुसार लक्षित उमेर समूहका वृद्धवृद्धालाई कोभिडविरुद्धको खोप नलगाए सामाजिक सुरक्षा भत्ता कटौतीको उर्दी गरेपछि मात्र खोप केन्द्रमा लाभग्राहीको संख्या ह्वात्तै बढेको हो ।

शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र आइतबार सुनसान थियो । स्थानीय एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको खवरले सोमबार त्यो खोप केन्द्र भरिएको ७ नम्बर वडाका अध्यक्ष नवीन इजमले बताए । कोभिड १९विरुद्धको खोप लगाउन यस अघि आइतबार बिहानैदेखि लाइनमा बसेका लक्षित उमेर समूहका बृद्धबृद्धाले खोप केन्द्र अस्तव्यस्त भएका कारण खोप लगाउन नपाएको गुनासो गरेका थिए ।

विहान ८ बजे नै ७ सय खोप लगाउने लाभग्राहीको नागरिकता संकलन भएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सञ्जय ठकुरीले बताए । ‘करिब ४०० जना खोप लगाउन आएर पनि पाउनुभएन’– उनले भने । उनका अनुसार अत्याधिक भीडका कारण समयमै खोप लगाउन आएर पनि छुट्नु भएका उहाँहरुलाई सोमबार, मंगलबार र बुधबार खोप लगाइने छ । त्यसका लागि बिहान १० बजे बोलाइएको उनले बताए ।

खोप लगाउन लाइन बस्न पुगेका वृद्धवृद्धाहरु कयौँले खोप नलगाई फर्किएपछि व्यवस्थापन पक्षको चर्को आलोचना भएको छ । खोप लगाउन बिहानैदेखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसोसम्म खोप लगाउन नपाएपछि व्यस्थापनदेखि निकै आक्रोशित बनेका थिए । उनीहरुले व्यवस्थापन फितलो भएका कारण आफूहरुले दुःख पाएको गुनासो गरे । तर, नगरले भने वडा कार्यपालिका र स्वास्थ्य शाखालाई खोप लगाउने कार्यक्रम व्यवस्थापनको जिम्मा दिएर उसले अनुगमन गर्ने निर्णय गरेको थियो ।

शिवसताक्षी–११की होमकुमारी अधिकारीले बिहान ६ बजेदेखि लाइन बसेर २ बजेसम्म पनि खोप लगाउन पाइनन् । उनले भनिन्– ‘प्रेसर सुगर भएका मान्छेहरु सबैको स्थिति बेहाल थियो । तातो घाम त्यसमा पनि भूइँ बाहेक बस्ने ठाउँ नै थिएन । योभन्दा मानिसको बिजोग अरु के हुन्छ ।’

कतिपय वृद्धवृद्धाले बिहानको खाना पनि नखाइ खोप लगाउन आएका थिए । ‘छिट्टै होला भनेर खाना खानु त के कुरा पकाउन पनि नपकाई आएँ । बिहानको ११ बजी सक्यो । ८ बजे लाइनमा दिएको नागरिकताको फोटोकपीको पालो अहिलेसम्म पनि आएन’– एक बृद्धाले विरक्त मान्दै भनिन्– ‘बरुपछि रोगले मारोस् । आजै यस्तो खप्नु न खानु भएर चै नमरियोस् । भो चाहिँदैन सरकारको भ्याक्सिन ।’

प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जबाट ६ सय ५१, स्वास्थ्य चौकी सतासीधामको खोप केन्द्रबाट ६सय ३९, स्वास्थ्यचौकी धरमपुरको खोप केन्द्रबाट ५ सय २० र स्वास्थ्यचौकी पाँचगाछी खोप केन्द्रबाट ५ सय ९ जना गरेर कूल २ हजार ३ सय १९ जनाले खोप लगाएका थिए ।

यस्तै दोस्रो डोज भने १८ जनाले लगाएका थिए । तीनदिनको खोप कार्यतालिका सार्वजनिक गरेको नगरको पहिलो दिननै ४९.०९ प्रतिशत खोप खर्च भइसकेको स्वास्थ्य संयोजक हरि बिमलीले बताए । नगरमा जम्मा ४ हजार ७ सय ६० खोप उपलब्ध भएको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रत्येक खोप केन्द्रमा दुई जना खोप लगाउने प्राविधिक थिए । एउटा केन्द्रमा स्वास्थ्यकर्मी सहित ८ जनाको टोलीले खोपका लाभग्राहीको विवरण लेख्थे । विहान १० बजेदेखि शुरु भएको खोप अपरान्ह ४ बजेसम्म सञ्चालन हुँदा प्रति २ मिनेटमा १३ जनाले खोप पाएका थिए ।

शिवसताक्षीका प्रमुख चन्द्रकुमार सेर्माले भने– ‘स्वास्थ्यकर्मीको आजको काम देखेर म आफै अचम्मित बनेको छु । थोरै समयमा धेरै लाभग्राहीले खोप पाए ।’ उनका अनुसार नगरपालिकाले स्वास्थ्यकर्मीको हौसला बढाउन नयाँ कार्यक्रम तर्जुमा गर्ने छ ।

सतासीधाम स्वास्थ्य केन्द्रमा खोप लगाउनको संख्या धेरै भएकोले भीड थाम्न वडा कार्यपालिकाले सकेन । वडा नम्बर ८,९,१० र ११का वडा अध्यक्ष खोप केन्द्रमा समय अवधिभर नरहँदा खोपका लाभग्राहीले समस्या भोग्नु परेको अनुगमन समितिले जनाएको छ । अनुगमन समितिका एक सदस्यले भने– ‘वडाध्यक्ष जिम्मेवार नबन्दा बृद्धबृद्धाले सतासीधाम खोप केन्द्रको तातो घाममा दुःख पाए ।’

अन्य खोप केन्द्र धरमपुर, शिवगञ्ज र पाँचगाछीमा स्थानीय जनप्रतिनिधि खोप केन्द्रमै भेटिएका थिए । खोप कार्यक्रम शुरु हुनु अगावै वडा कार्यपालिकाले सर्वदलीय बैठकको आयोजना गरेर केन्द्रलाई व्यवस्थित गरेको थियो । प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जका अध्यक्ष मनोज खुलाल कार्कीले विना झञ्झट लाभग्राहीले खोप पाएकोमा सन्तोष व्यक्त गरे ।
कोभिडविरुद्धको खोप लगाउन विहानको खाना खाएर खोप केन्द्र पुगेका सयौंले खोप लगाउन पाएनन् । सयौंको लाइन छिचोलेर खोप लगाउन आँट उनीहरुले गर्न नसक्दा घर फर्कनु परेको थियो । विहान ८ बजे नै लामो लाइन देखेका कतिपय वृद्धवद्धा खोप केन्द्र नजिकै आएर फर्किएका थिए ।

पहिलो चरणमा खोप लगाउनका लागि कनकाई नगरपालिकाले तय गरेको लक्षित समूह (ख) भित्र पर्ने नागरिकका लागि लगाउने भनिएको साउन १९ गतेको खोप स्थगन भएको छ ।

पहिलो लक्षित समूहलाई नै खोप अपुग भएको भन्दै नगरपालिकाले सार्वजनिक सूचना सार्वजनिक गर्दै खोप स्थगन गर्नु परेको कार्यालयका उपसचिव पिताम्बर गौतमद्वारा हस्ताक्षरित जारी सूचनामा जनाइएको छ ।

नगरपालिकाले खोप अपुग भएका कारण स्थगित गर्नुपरेको जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय झापा, इलाका प्रहरी कार्यालय सुरुङ्गा र घैलाडुब्बासहित नगरपालिकाका सबै वडामा बोधार्थ पठाएको छ । कनकाईमा साउन १७ गतेदेखि ५५ वर्ष उमेर पार गरेका सर्वसाधारणसहित फ्रन्टलाइनमा काम गर्नेलाई लक्षित समूह क र ख मा वर्गीकरण गरी चरणवद्ध रुपमा कोरोनाविरुद्धको भेरोसिल खोप सञ्चालन हुँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here