अर्जुनधारामा १७ हजार बढीले लगाए कोभिड–१९ विरुद्धको खोप

0
593

अमित खम्बू,
अर्जुनधारा ।

कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भए यता झापाको अर्जुनधारा नगरपालिकामा हाल सम्म १७ हजार एक सय ११ जनालाई खोप लगाइएको छ ।

नगर स्वास्थ्य शाखाका अनुसार खोप लगाउनेमा आठ हजार पाँच सय ७७ जना पुरुष र आठ हजार पाँच सय ३४ जना महिला रहेका छन् । उक्त विवरण गत आर्थिक वर्षको फागुन २३ देखि गत भदौ ३१ सम्म सञ्चालन भएको खोप कार्यक्रमको हो ।

त्यसैगरी खोपको दुवै मात्रा पूरा गर्नेको संख्या छ हजार ९८ जना पुरुष र पाँच हजार दुई सय ६ जना महिलासहित जम्मा ११ हजार तीन सय चार जना रहेका छन् । उनीहरुलाई कोभिशिल्ड, एष्ट्राजेनेका, भेरोसिल र जोन्सन एण्ड जोन्सनको खोप लगाइएको हो ।

यसैबीच नगरपालिकाले असोज १० र ११ गते खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगर प्रमुख एवम् खोप समन्वय समितिका संयोजक हरिकुमार रानाको अध्यक्षतामा शुक्रबास बसेको बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

उक्त कार्यक्रम ४५ वर्ष वा सो भन्दा माथिका पहिलो खोप लगाउन बाँकी नगरवासीहरु तथा भेरोसिल खोपको पहिलो मात्रा लगाएको २१ दिन पूरा भई दोस्रो मात्रा छुट भएकालाई लक्षित गरी सञ्चालन गरिने नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

स्वास्थ्य कार्यालय झापाबाट नगरपालिकालाई प्राप्त भएको जम्मा ३५ सय डोजमध्ये आवश्यकताको आधारमा असोज १० गते वडा नम्बरहरु २, ६, ८, ९ र १० र असोज ११ गते वडा नम्बरहरु १, ३, ४, ५, ७ र ११को साविकको खोप केन्द्रहरुमा खोप लगाइने कार्यालयले जनाएको छ ।

त्यस्तै असोज ११ गते नै यस अघि छुट भएका शिक्षक, १८ वर्ष माथिका विद्यार्थीहरु, उद्योग वाणिज्य संघ, चेम्बर्स अफ कमर्सका पदाधिकारी तथा तोकिएको अत्यावश्यक सेवा प्रदायकहरुलाई वडा नम्बर ९को शनिश्चरे अस्पतालमा खोप स्टक रहेसम्म खोप लगाउने कार्यक्रम रहेको छ ।

बैठकमा कार्यपालिका सदस्यहरु गोपीचन्द्र गौतम, दुर्गाप्रसाद दाहाल, ध्यानबहादुर भारती, नवराम ढुंगाना, पुष्पकुमार प्रसाईं, रघुनाथ खनाल र रमेश त्रिखत्री, वडा सदस्यहरु दिलबहादुर सारु, भोला गौतम र होमनाथ दुलाल, स्वास्थ्य शाखा प्रमुख केशव रिजाल, कोभिड फोकल पर्सन मुकुन्द बस्नेतलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here