सुरेन्द्र भण्डारी
झापा , नेपालमा ११ लाख हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने एक सर्वेक्षणले देखाएको छ । त्यसमा पनि ६० हजार हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम रहेको नेपाल चिया तथा कफी विकास बोर्डका निमित्त प्रमुख गौरव लुइँटेलले बताएका छन् ।
जीआइस प्रविधिमा आधारित रहेर नेपाल चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षण अनुसार कफी खेतीको प्रचुर सम्भावना रहे पनि नेपालमा थोरै क्षेत्रफलमा मात्रै कफी खेती गरिँदा वार्षिक झण्डै १० करोड रुपैयाँ बराबरको कफी आयात हुँदै आएको छ । ४/५ वर्ष अघिसम्म नेपालमा उत्पादित कफी युरोपियन मुलुकमा निर्यात हुँदै आएको थियो- वोर्डका क्षेत्रीय निमित्त प्रमुख लुइँटेलले भने- नेपालमा उत्पादित कफीमध्ये झण्डै ८० प्रतिशत कफी विदेश निर्यात हुन्थ्यो तर, अहिले आन्तरिक खपत नै ८० प्रतिशत हुँदा पनि नेपालमा उत्पादित कफीले धान्नसक्ने अवस्था छैन ।
पछिल्लो समय नेपालमा कफी प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । कफी प्रयोगकर्ताको संख्या बढेसँगै क्याफे खुल्ने क्रम पनि बढेको लुइँटेलको भनाइ छ । एउटा कफी क्याफेले मासिक १५ केजीको हाराहारीमा कफी विक्री गर्दै आएको र नेपालमा उत्पादित कफीले त्यत्ति पनि धान्न नसकिरहेको बताउँदै लुइँटेलले भने – ‘अहिले संघीय सरकारकै अवधारणा अनुसार कफी खेती विस्तार कार्यक्रम शुरु गरेका छौं । कफी रोपण क्षेत्र विस्तार गर्दै कफीको उत्पादकत्व बढाउन वोर्ड लागीपरेको छ ।’ नेपालमा कफीको उत्पादन गर्ने प्रशस्त ठाउँ भएर पनि उत्पादन नै कम हुनु र कफी आयातमा वृद्धि भएसंगै सरकारले ५० रोपनीभन्दा बढी क्षेत्रफलमा कफी खेती गर्ने कृषकलाई अनुदानको व्यवस्थापन गरेको लुइँटेलको भनाइ छ । अहिले ५० रोपनीभन्दा बढी क्षेत्रफललाई चाक्लाबन्दी गरेर कफी खेतीका लागि कफी रोपण क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गरिरहेका छौं- लुइँटले ले भने- यसरी कफी खेती गर्ने कृषकका लागि संघीय सरकारबाट प्याकेजमा विभिन्न खाले अनुदानका कार्यक्रममा किसानलाई सहभागी गराउँदैछौं ।
नेपालमा अहिले दुई हजार तीन सय ६० हेक्टर क्षेत्रफलमा मात्रै कफी खेती हुँदै आएको बोर्डकी कृषि प्राविधिक कुसुम भण्डारीले बताइन् । भण्डारीका अनुसार खेती गरिएको क्षेत्रफलमा दुई सय ९६ दशमलव पाँच मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ । यो नेपाली बजारलाई पनि धान्न नसक्ने कफीको उत्पादन हो । स्वदेशी बजारको माग अनुसार कफीको उत्पादन नबढेपछि पूर्वका केही कृषकले व्यवसायिक रुपमा कफी खेती शुरु भएको हो ।
कफी उत्पतिको इतिहास
अरबीका कफीको उत्पति इथियोपियाको कफा प्रान्तमा भएको मानिएको छ र यसको विकास भने अरेबियाबाट शुरु भएको पाइन्छ । रोबस्टा कफीको उत्पति मध्य अफ्रिकाको कङ्गो राज्यबाट भएको हो ।
अराबिका कफी काल्दी नाम गरेको बाख्रा गोठालोले इथियोपियामा पत्ता लगाएको बताइन्छ । नेपालमा कफीको खेती इलाम सहित मध्य-पहाडका करिब ४० जिल्लामा २७,००० भन्दा बढी किसानहरुले गर्ने गरेको वोर्डको तथ्याङ्कमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय कफी दिवस बिर्तामोडमा
अक्टोवर फष्ट, अर्थात् विश्व कफी दिवस । विश्वमा अक्टोवर १ तारिखलाई विश्व कफी दिवसका रुपमा मनाइने गरेको छ । यद्यपि नेपालमा भने मंसीर १ गते कफी दिवस मनाउन थालिएको छ । विश्व कफी दिवसको अवसर पारेर प्रदेश नम्वर १का कफी व्यवसायी र किसानले बिर्तामोडमा यो दिवस मनाएका छन् । नेपाल चिया तथा कफी विकास वोर्डका निमित्त प्रमुख गौरव लुइँटेलको आतिथ्यमा यो दिवस मनाएको हो । ‘कफीमा नयाँ पुस्ता’ भन्ने नारासहित दिवसका अवसरमा आयोजित कार्यक्रममा कफी खेतीको विस्तार र कफी व्यवसायका विषयमा छलफल भएको थियो ।