उच्चरक्तचापका ३५% र क्यान्सरका बिरामी १७% ले बढे
नरेन्द्र ढकाल
बिर्तामोड।
एक व्यक्तिबाट अर्को ब्यक्तिमा नसर्ने रोगलाई नसर्ने रोग भनिन्छ । पछिल्लो समय यस्ता रोग भयावह बन्दै गएको स्वास्थ्य कार्यालयहरुको तथ्याङ्कहरुले पुष्टि गरेका छन् । नसर्ने रोगहरू प्रायः व्यक्तिको जीवनशैली, आनीबानी, व्यवहार, मानसिक असन्तुलन, हार्मोनको असन्तुलन, खानपिन जस्ता विभिन्न कारणले हुने गरेको चिकित्सकहरुको भनाइ छ । यस्ता रोगहरू कहिलेकाहीं वंशाणुगत कारणले पनि सर्ने गर्छन् ।
अहिले संसारमा सर्ने रोगको समस्या कम हुँदै गइरहेको र नसर्ने रोगको व्यापकता तथा जोखिम निरन्तर बढ्दै गइरहेको स्वास्थ्य संगठनहरुले बताएका छन् । नेपालमा समेत विभिन्न समयमा भएका अध्ययन तथा अनुसन्धानले नसर्ने रोगको व्यापकतासँगै भयावह अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा पनि नसर्ने रोग भयावह बन्न सक्ने तथ्याङ्कहरुले देखाएका छन् । गतआर्थिक वर्षमा नसर्ने रोग अघिल्लो आर्थिक वर्षभन्दा बढेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चूडामणि लुइँटेलका अनुसार झापामा उच्च रक्तचापका बिरामी धेरै रहेका छन् । गतआर्थिक २०८०/०८१मा २३ हजार ९५० जना उच्च रक्तचापका विरामी फेला परेका थिए । जुन आर्थिक वर्ष २०७९/०८०को ३५ प्रतिशतले बढी हो ।
त्यस्तै मधुमेहका विरामी पनि वर्षेनि बढ्दै गएका छन् । मधुमेहका विरामी आर्थिक वर्ष २०८०/०८१मा २० हजार ७६८जना रहेका थिए, जुन अघिल्लो आर्थिक वर्षभन्दा १५ प्रतिशतले बढी हो । क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज अर्थात् सीओपीडीका बिरामी समेत बढ्दै गएका छन् । श्वास नली साँघुरिँदै गएर सास फेर्न गाह्रो बनाउने यो रोग खासगरी बूढापाकालाई लाग्ने बताइएको छ । यो रोगको अवस्था पनि भयावह बन्दै गएको छ ।
झापाामा आर्थिक वर्ष २०८०/०८१ म सीओपीडीका छ हजार १६० जना बिरामी रहेका थिए । जुन अघिल्लो आर्थिक वर्षको भन्दा २० प्रतिशतले बढी हो । त्यस्तै झापामा क्यान्सर रोग पनि बढ्दै गएको छ । क्यान्सरका कारणले धेरैले ज्यान गुमाउनु परेको छ । आर्थिक वर्ष २०८०/०८१मा क्यान्सरका दुई हजार ५८३ जना बिरामी फेला परेका थिए । अघिल्लो आर्थिक वर्षको भन्दा १७ प्रतिशतले यो बढेको तथ्याङ्कले पुष्टि गरेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी लुइँटेलको भनाइ छ । झापामा थाइराइडका बिरामी पनि उस्तै रहेका छन् । आर्थिक वर्ष २०८०/०८१मा तीन हजार ४ सय ७० जना फेला परेका थिए । अघिल्लो आर्थिक वर्षमा पनि सोही अनुपातमा यो रोगका बिरामीहरु रहेको जनाइएको छ ।
झापामा श्वास–प्रश्वास अर्थात् दमका रोगी पनि पछिल्लो समय बढ्दै गएका छन् । आर्थिक वर्ष २०८०/०८१मा दमका दुई हजार १९९ जना बिरामी फेला परेका थिए । जुन अघिल्लो आार्थिक वर्ष २०७९/०८०को भन्दा २८ प्रतिशतले बढी हो । अहिले विश्व लगायत नेपालमा जम्मा मृत्युको ५१ प्रतिशत यस्तै विभिन्न नसर्ने रोगका कारण भएको अनुसन्धानले पुष्टि गरेको छ । नसर्ने रोग भन्नाले मुख्यगरी मुटु तथा रक्तनलीका रोग, मधुमेह, क्यान्सर तथा दीर्घ अवरोधात्मक श्वासप्रश्वासका रोगलाई मानिन्छ ।
दम, क्यान्सर, मधुमेह र मुटु तथा रक्तनली लगायतका रोगका बारेमा जनचेतना जगाउन जिल्ला स्वास्थ्य कार्यालय झापाले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको जनाइएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी लुइँटेल भन्छन्– विभिन्न सचेतनामूलक कार्यक्रममार्फत हामीले नसर्ने रोगका बारेमा नागरिकलाई सचेत गराई रहेका छौं तर, अहिले सरुवा रोगभन्दा नसर्ने रोग भयावह बन्दै गएको छ ।
नसर्ने रोग लाग्ने मुख्य कारण सूर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन, अस्वस्थकर भोजन र वायु प्रदूषण, मानिसको जीवनशैली लगायत रहेको चिकित्सकहरुको भनाइ छ । यस्ता रोगबाट बाँच्न वा मृत्युदर घटाउन रोगको शुरुको अवस्थामै पहिचान गर्नु, नियमित स्वास्थ्य परीक्षण गर्नु, जीवनशैलीगत अस्वस्थकर व्यवहार हटाउनु र रोगीको राम्रो उपचार तथा स्याहार गर्नु नै मुख्य उपाय भएको लुइँटेलको भनाइ छ ।
नसर्ने रोगबारे सचेतता नअपनाउने र जीवनशैलीमा सुधार नगर्ने हो भने यो भयावह बन्दै देशकै लागि ठूलो चुनौतिको विषय बन्ने बतााइएको छ । शारीरिक निष्क्रियता, धुमपान तथा मद्यपानको सेवन र अस्वस्थकर खानपिन (चिल्लो र नुनको मात्रा बढी भएको र फलफूल तथा सागपात जस्ता तरकारीको मात्रा कम लिने) जस्ता कारणले नसर्ने रोगको जोखिम बढेर जाने चिकित्सकहरुको भनाइ छ ।
फोहोर मैलाको व्यवस्थापनमा पनि ध्यान दिन आवश्यक रहेको भन्दै स्वास्थ्य कार्यालयका सूचना अधिकारी लुइँटेलले भने– प्लाष्टिकजन्य वस्तुको कम प्रयोग गर्नुका साथै आगो बाल्ने काम नगर्न सुझाव दिए । प्लाष्टिक डढाउँदा वायु प्रदुषण मात्र नभई स्वास्थ्यमा पनि गम्भीर असर गर्ने भएकाले सबै सचेत बन्नुपर्ने उनको भनाइ छ ।
जिल्ला स्वास्थ्य कार्यालयले झापामा पनि नसर्ने रोग बढेको भन्दै सबै नागरिकलाई जीवनशैली र खानपानमा ध्यान दिन आग्रह गरेको छ । घर र भन्सा नै स्वस्थ्यकर बनाउन सकेमा धेरै रोगबाट बच्न सकिने स्वास्थ्य कार्यालयका सूचना अधिकारी लुइँटेलको भनाइ छ ।