झापाको कनकाईमा गौहत्या भएको समाचारले मन झसँग भयो । यस्ता समाचार हामीले पटक–पटक सुन्नु परिरहेको छ । देशका विभिन्न स्थानमा गौहत्या हुने गरेका छन् । सन्त समाजले त्यसको तीव्र विरोध पनि गरिरहेको देखिन्छ । तर, राज्यले उनीहरुको आवाज सुन्दैन । बरु त्यो आवाज दबाउनतिर लाग्छ । सन्तहरु माथि लाठी चार्ज गर्छ ।
समाज साह्रै नै तीव्रगतिमा ओरालो लाग्न थाल्यो । के यो युगको दोष हो ? आधुनिक शिक्षा हासिल गरेर शिक्षित कहलिएकाहरुले नै हाम्रो संस्कृति मान्न छाडे । हरेक कुराको विरोध गर्न थाले । परिवर्तनका नाउँमा संस्कृति नष्ट गर्नतिर तल्लीन छ, अहिलेको शिक्षित वर्ग । उनीहरुले नै कानूनको खिल्ली उडाउन थाले ।
गौहत्या गर्नु भनेको ‘म कानून मान्दिनँ’ भन्नु नै हो । गाई हाम्रो राष्ट्रिय जनावर हो । कानूनले नै गाईको हत्या गर्न दिँदैन । के त्यो कानूनलाई कागजमा मात्रै राख्ने ? कानून लागू गर्नु पर्दैन ? गाईको हत्या गर्नु भनेको दण्डनीय अपराध हो । जसरी राष्ट्रिय झण्डा जलाउनु अपराध हो, त्यसरी नै राष्ट्रिय जनावर गाईको हत्या गर्नु पनि अपराध हो । कोही व्यक्तिले सार्वजनिक स्थलमा झण्डा जलाउँछ भने ऊ पक्राउ पर्छ । नेपालको राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने मान्छे पनि पक्राउ परेको छ एकपटक । झण्डा जलाउनेले कानूनी सजाय भोग्छ । तर, गाई हत्यामा संलग्नलाई राज्यले दण्ड दिन छोडी सक्यो । नदेखे जस्तो गर्न थालिसक्यो । अप्रत्यक्ष रुपमा गौहत्याराहरुलाई राज्यले संरक्षण गर्न थालिसक्यो । के धर्म निरपेक्ष राज्य यसैका लागि बनाएका हुन् यिनीहरुले ?
नेपालको कानूनले त गाई हत्या गर्न दिँदैन नै । झन् हाम्रो सनातन धर्ममा गाईको ठूलो महिमा छ । पाप र पुण्यको निर्धारण हाम्रो धर्मशास्त्रले गर्छ । शास्त्रले गौ हत्यालाई पाप भनेको छ । गाईको हत्या गर्नु, गाईको मासु खानु पाप हो । जन्मेदेखि मृत्युसम्म हामीलाई गाई चाहिन्छ । गाई ३३ करोड देवताको मन्दिर हो । घरमा ३३ करोड देवताको मन्दिर बनाउन सम्भव छैन । न त ३३ करोड देवताको एकसाथ पूजा नै गर्न सकिन्छ । तर, भगवानले ३३ कोटी देवताको मन्दिर बनाइदिनुभयो, गाईका रुपमा । ३३ कोटी देवता गाईको शरीरमा निवास गर्छन् ।
गाईको पूजा गर्दा, परिक्रमा गर्दा वा सेवा गर्दा ३३ कोटी देवताको पूजाको फल प्राप्त हुन्छ । सात दिन भागवत् कथा सुन्दाको जे फल छ, त्यो फल गौसेवाबाट प्राप्त हुन्छ । प्रेमपूर्वक, श्रद्धापूर्वक एक घण्टा गौसेवा गर्ने हो भने सात दिनको भागवत् कथा सुने बराबरको फल मिल्दछ । किनभने गाई धर्मको मूल हो । गाईको दूधको सेवनले बुद्धि निर्मल हुन्छ, पाप नष्ट हुन्छ । गाईको दूध, गाईको दही, गाईको घीऊ, गाईको मूत्र र गाईको गोबरको पनि महिमा छ । गाईको पछिल्लो भागबाट प्रकट हुने यी पाँचै पदार्थ परम् पवित्र छन् । यी पदार्थले हाम्रो हड्डीभित्रको पाप पनि नष्ट गरिदिन्छन् । यसलाई पञ्चगव्य भनिन्छ । पञ्चगव्य पान गर्दा मन्त्र पढिन्छ :
यत् त्वगस्थिगतं पापं देहे तिष्ठति मामके ।
प्राशनात् पञ्चगव्यस्य दहत्वग्निरिवेन्धनम् ।
हाम्रो शरीरको बाहिर छाला छ । छालाभित्र मासु छ । र, मासुभित्र हड्डी छ । त्यो हड्डीभित्र लुकेर बसेको पापलाई पनि गञ्चगव्यले नष्ट गरिदिन्छ भन्छ शास्त्रले । जसरी अग्नीले इन्धनलाई जलाइदिन्छ, उसै प्रकारले गाईको पञ्चगव्यले हाम्रो हड्डीभित्रको पापलाई नष्ट गरिदिन्छ । पाँचै गव्य नसकेमा कम्तिमा एक गव्यका रुपमा गाईको दूध प्रतिदिन सेवन गर्नाले नै हामीलाई दुईवटा फल प्राप्त हुन्छ । पहिलो फल– शरीर स्वस्थ रहन्छ । दोस्रो फल– पाप नष्ट हुन्छ ।
भैँसीको दूधले शरीरलाई तागत मात्र दिन्छ । तर, गाईको दूधले शरीरमा ऊर्जा त दिन्छ नै, पाप पनि नष्ट गरिदिन्छ । किनभने गाईको दूध पञ्चगव्य मध्येको एक हो । पाप नष्ट भएपछि नै बुद्धि निर्मल हुन्छ । बुद्धि निर्मल भएपछि मात्रै शास्त्रको सिद्धान्तलाई जान्न सक्ने क्षमता उत्पन्न हुन्छ । त्यसैकारण ऋषिमुनि महात्माहरु गाई पाल्ने गर्थे । ऋषिमुनिहरुले भैँसी पालेनन् । कुकुर पालेनन् । अहिलेका मान्छेले दूधका लागि भैँसी पाल्छन् । शौखका लागि कुकुर पाल्छन् । कसैको घरमा गएमा ढोकामै लेखिएको हुन्छ– ‘कुकुरदेखि सावधान ।’ पहिलेपहिले ढोकामा ‘सुस्वागतम्’ लेखिन्थ्यो ।
कुकुर पाल्नु हाम्रो संस्कृति होइन । यो त विदेशीहरुले भित्र्याए । अंग्रेजहरु भारतमा शासन गर्न आउँदा उनीहरुले भित्र्याएको संस्कृति हो । बिस्तारै त्यो संस्कृति नेपालमा पनि भित्रियो । अंग्रेजहरु ककुरका शौखिन थिए । शासनकालभरि भारतका जनतालाई पनि अंग्रेजहरुले कुकुरकै जस्तो व्यवहार गरे ।
समान शील व्यसनेसु मैत्री– समान गुण भएकासँग नै मैत्री हुन्छ । मानिस आफू जस्तो छ, मित्र पनि त्यस्तै खोज्छ । किनभने गुण मिल्दा विचार मिल्छ, मन मिल्छ, व्यवहार मिल्छ । त्यसकारण अंग्रेजले कुकुरसँग मित्रता गरे । र, मनुष्यलाई चाहिँ पशु जस्तो व्यवहार गरे । हाम्रो संस्कृति गाई पाल्ने हो । कुकुर पाल्ने संस्कृति हाम्रो होइन । शास्त्रसम्मत सिद्धान्त अनुसार भन्ने हो भने त मान्छेले मर्ने बेलामा कुकुरको स्मरण ग¥यो या कुकुरलाई देख्यो भने अर्को जन्ममा ऊ कुकुर नै बनेर जन्मिनुपर्छ ।गीतामा भगवान् श्रीकृष्णले भन्नुभएकै छ :
यं यं वापि स्मरन्भावं त्जत्यन्ते कलेवरम् ।
तं तमेवैती कौन्तेय सदा तद्भावभावितः ।
मर्ने समयमा मानिसले जो व्यक्तिको स्मरण गर्छ, जुन जीवको स्मरण गर्छ, उसले अर्को जन्ममा त्यही जुनी प्राप्त गर्छ । त्यसैकारण मर्ने बेलामा भगवानको स्मरण गराइन्छ । भगवानको नाम जप्न लगाइन्छ । राम भन्न लगाइन्छ । घाटमा लैजाँदा पनि राम नाम सत्य हो भनिन्छ । मृत्युका समयमा भगवानको स्मरण होस् भनेर जीवनभर मानिसले भगवानको नाम रट्छ । जीवनभर कुनै मानिसले पुण्य ग¥यो, धर्मकर्म ग¥यो, मोक्ष प्राप्त गर्ने इच्छाले सात्विक जीवन बितायो । तर, अन्त्यकालमा कुकुरको स्मरण भयो भने अर्को जन्ममा उसले कुकुर बनेर जन्मिनुपर्छ । यो शास्त्रको सिद्धान्त हो । भागवत पुराणमा कथा नै छ । मुक्ति प्राप्त गर्नका लागि राजा भरतले आफ्नो राज्य त्यागेर हाम्रै नेपालको मुक्ति क्षेत्रमा आएर तपस्या गरे । एकदिन नदी किनारमा उनकै अगाडि एउटा गर्भिणी हरिणले बच्चोलाई जन्म दिएर प्राण त्याग्यो ।
राजा भरतले हरिणको त्यो बच्चोलाई उठाएर आफ्नो आश्रममा ल्याएर पाले । त्यहीसँग उनको मोह भयो । त्यही बच्चोसँग खेल्न थाले । त्यहीसँग सुत्न थाले । भगवानको पूजा गर्न ल्याएका सामग्री हरिणको बच्चोले खाइदिन्थ्यो । उनी फेरि अर्कोपटक सामग्री तयार गरेर पूजा गर्थे । एक दिन उनी कुटीभित्र पूजामा व्यस्त थिए । हरिणको बच्चोले आफूसमान अरु हरिणहरु देखेर त्यही बथानमा मिसिएर जंगलमा गयो ।
कुटीबाट बाहिर निस्कँदा हरिणको बच्चो नदेखेपछि राजा भरत त्यसैको वियोगमा रातदिन छट्पटिन थाले । त्यसैको मात्र स्मरण गर्न थाले । विधिको विधान– उनको मृत्युको समय आयो । मृत्यु सूचना दिएर आउँदैन । मृत्यु अचानक आउँछ । मृत्युका समयमा हरिणको बच्चोको स्मरण भइरहेका कारण राजा भरत अर्को जन्ममा हरिण बन्नुपरेको प्रसंग भागवतमा छ । तर, गाईको स्मरण हुनु भनेको ३३ करोड देवी–देवताको स्मरण हुनु हो । मर्ने बेलामा पनि मानिसलाई गाई नै चाहिन्छ । गाइको पुच्छर समातेरै व्यक्ति पार तर्दछ । जन्मदेखि मृत्युपर्यन्त हामीलाई गाई चाहिन्छ । तर, अहिलेको पुस्ता धर्म संरक्षणमा त्यती ध्यान दिँदैन । गाईभन्दा कुकुरमा उसको चाह छ । समाजमा गाई हत्या हँुदा अहिलेको युवालाई पीडा नै छैन । साधुसन्त र हाम्रा बुवाआमाहरु रुँदै कराउँदै सडकमा जान्छन् । सरकारसँग गुहार माग्छन् । गाईको हत्या हुनु भनेको धर्मको हत्या हुनु हो भन्ने उनीहरुलाई थाहा छ । तर, सरकारले उनीहरुको आवाज सुन्दैन ।
हुन त वाम दलहरुबाट बनेको सरकारबाट आशा पनि के नै गर्न सकिन्छ र ? राजनीतिक दलहरु दुई प्रकारका छन् । एउटा दक्षिणपन्थी । अर्को वामपन्थी । दक्षिण बनेको दाहिने हो । दक्षीणपन्थी भन्नाले घोर उग्रवादी वा क्रान्तिकारी विचारधाराका बिरुद्धमा लड्ने भनेर बुझौं । वाम शब्दको चाहिँ अर्थ नै हुन्छ– देब्रो, विपरीत, उल्टो, टेढो, कठोर, निर्दय, दुष्ट ।
कम्युनिष्टहरु वामपन्थी हुन् । नामको अर्थ अनुसार नै सरकार अहिले कठोर र निर्दयी भएर चलिरहेको सबैले देखेकै छौँ । संविधानमा धर्मनिरपेक्ष राष्ट्र लेखेपछि हाम्रा शासकहरुले सनातन धर्मको संरक्षणमा चासो दिएका छैनन् । गौहत्यामा संलग्नहरु दण्डित भइरहेका छैनन् । सनातन धर्म मास्न हिँड्नेहरुलाई सरकारले केही गरिरहेको छैन । धर्म परिवर्तन गराउनेहरु खुलेआम हिँडिरहेका छन् ।
सन्तहरु नै हाम्रो सनातन धर्मका रक्षक हुन् । सन्तको बुद्धिको रक्षक नै गाई हो । गाई रहनु भनेको हाम्रो बुद्धि शुद्ध रहनु हो । बुद्धि शुद्ध रहनु भनेको धर्मको रक्षा हुनु हो । धर्मको रक्षा हुनु भनेको समाजको रक्षा हुनु हो । धर्म स्थापनाको मूल नै गाई र सन्तहरु हन् । जब गाईहरु मारिन्छन्, जब सन्तहरु कुटिन्छन्, समाज नष्ट हुन कतिबेर पनि लाग्दैन ।
धर्म संरक्षणमै आफ्नो सिंगो जीवन बिताएका साधुसन्तहरु जब गौहत्याको पीडाले सडकमा निस्किन्छन्, लाठी बर्साउन अलिकति पनि अप्ठ्यारो लाग्दैन सरकारलाई । कहिले बुझ्ला वर्तमान युवा पुस्ताले धर्मको महत्व, सनातन संस्कृतिको महत्व अनि गाईको महत्व ?