व्यवसायिक कुरिलो खेतीमा आकर्षण

0
871

विष्णुप्रसाद पोखरेल,
दमक ।

दमकसहित झापाका ग्रामीण तथा शहरी क्षेत्रमा कुरिलोको माग अत्यधिक रहेको छ । तर, उत्पादन भने कम रहेको जनाइएको छ ।

कोरोनाको महामारीले कार्यालय तथा अधिकांश व्यापार व्यवसाय बन्द भएपछि व्यवसायिक कुरिलो खेतीमा लागेका नारायण योङहाङ्गका अनुसार करिब १० कठ्ठा क्षेत्रफलमा लगाइएको कुरिलो अहिले बिक्री गर्न थालिएको छ ।

यही कोरोनाको महामारीको समयमा योङ्हाङ एग्रो फर्म प्रालि बनाएर आफू जस्तै मिल्ने तीन जनाको समूहले व्यवसायिकरुपमा कुरिलो उत्पादन शुरु गरेको अहिले बजारमा अत्यधिक माग रहेको उनको भनाइ रहेको छ । कुरिलोको सब्जी र सुप प्रयोग गर्नका लागि यसको माग धेरै भएको पनि उनी बताउँछन् ।

अहिले आफूहरुको फर्ममा लगाएको करिब १० कठ्ठाको कुरिलो निकाल्ने काम पहिलो चरणमा शुरु भएकाले दैनिक पाँचदेखि १० केजी मात्र हुने गरेको र आगामी दिनमा दैनिक कम्तिमा ५० केजी निकाल्ने तयारी रहेको योङ्हाङले बताए । अहिले बजारमा दुई हजार प्रतिकेजीसम्म बिक्री हुने गरे पनि आफूहरुले एक हजार दुई सयदेखि एक हजार चार सय रुपैयाँसम्ममा प्रतिकेजी दिने गरेको उनको भनाइ छ ।

कुरिलोलाई एक औषधिजन्य वनस्पति रुपमा लिइन्छ । यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले चिनिन्छ । यो नेपालका सबै जसो भू–भागमा पाइने बहुवर्षीय लहरायुक्त वनस्पति हो । काँडासहितको काण्ड, मसिना झुप्पादार पात हुने यसका धेरै मसिना हाँगाहरु हुन्छन् ।

कुरिलोलाई आयुर्वेदमा बुध्दिबद्र्धक, अग्निबद्र्धक, बाथ, पित्त, शोक अनि शुक्र दुर्बलता निवारक, मानिएकाले यसको महत्व धेरै नै रहेको योङ्हाङ एग्रो फर्मका अर्का सञ्चालक याम भण्डारीले बताए । उनले दुई हजार रुपैयाँसम्म लगाएर आफै पनि कुरिलो किनेर खाएको बताउँदै यसमा प्रशस्त सम्भावना रहेको उल्लेख गरे ।

महिलाहरूको रक्त प्रदर, स्वेतप्रदर तथा महिनावारी गडबडी र स्तनजन्य रोग र स्त्री पुरुष दुबैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्येक दिन दूधसँग सेवन गर्नाले लाभ हुने पनि आयुर्वेदमा उल्लेख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here