विवादका कारण अस्पताल निर्माण हुन सकेन

0
285

उमानाथ भण्डारी,
कमल ।

झापाको कमल गाउँपालिकामा द्विपक्षीय विवादका कारण अस्पताल निर्माण हुन सकेको छैन ।

अस्पताल निर्माणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार ठेक्का लागे पनि स्थानीयवासी र गाउँपालिकाबीचकमो विवादका कारण ६ महिना बितिसक्दा पनि निर्माणको कुनै सुरसार छैन । नेपाल सरकारले देशभरका ३ सय ९६ वटा स्थानीय तहमा एकैदिन ५ देखि १५ शय्याको अस्पताल भवनको शिलान्यास गरेको थियो । १ नम्वर प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कमल गाउँपालिकामा निर्माण हुने १५ शय्याको अस्पतालको शिलान्यास गरेका थिए ।

अस्पताल शिलान्यास भएको यति दिनसम्म निर्माण कार्य शुरु नहुँदा अब अस्पताल नबन्ने पो हो कि भनेर स्थानीयवासी चिन्तित भएका छन् । आफ्नै घर छेउमा अस्पताल बन्ला र सहजै उपचार गर्न पाइएला भनेर अस्पताल निर्माणको पखाइमा बसेका स्थानीयबासी अहिलेसम्म अस्पताल निर्माणको सुरसार नहुँदा अचम्ममा परेका छन् । अन्यत्र जग्गा नपाएपछि गाउँपालिकाले पालिका परिसरभित्र रहेको खाली जग्गामा अस्पतालको शिलान्यास गरेको थियो ।

अस्पताल निर्माण शुरु नहुनुको कारण

नेपाल सरकारले स्थानीय तहमा रहेका स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै पाँच, १० र १५ शय्याको अस्पताल बनाउने निर्णय ग¥यो । अस्पताल कहाँ बन्ला ? भनेर स्थानीयले चासो दिन थाले ।
अस्पताल निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराइदिन गाउँपालिकाले स्थानीयवासीसँग गरेको अनुरोध अन्ततः असफल भएपछि गाउँपालिकाले कार्यालय परिसरमा रहेको खाली जग्गामा शिलान्यास गरायो ।

स्थानीयवासीका अनुसार नेपाल सरकारको निर्णय अनुसार तोपगाछी स्वास्थ्य चौकी भएकै स्थानमा अस्पताल बनाउनुपर्ने र अस्पताल बनाउन आवश्यक पर्ने जग्गा स्थानीय पदमबहादुर पौडेलले निःशुल्क उपलब्ध गराउने बताएका थिए । अहिले गाउँपालिकाले शिलान्यास गरेको ठाउँमा अस्पताल निर्माण गर्दा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार जग्गा नपुग्ने त्यो सँगै गाउँपालिकाले सञ्चालन गर्दै गरेको सभाहल समेत हटाउनुपर्ने भएकोले हाल तोपगाछी स्वास्थ्य चौकी रहेकै स्थानमा अस्पताल निर्माण गर्नुपर्ने र त्यसका लागि आफ्ना हजुरबुवा र हजुरआमाको स्मृतिमा तोपगाछी स्वस्थ्य चौकीसँगै सीमाना मिल्ले गरी ६ कठ्ठा जमिन उपलब्ध गराउने भनी स्थानीय पदमबहादुर पौडेलले गाउँपालिकालाई २०७७ साल पुस २० गते पत्राचार समेत गरेका थिए ।

अस्पताल निर्माणका लागि आफूले तोपगाछी स्वस्थ्य चौकीसँगै सीमाना मिल्ने गरी निःशुल्क जग्गा उपलब्ध गराए पनि गाउँपालिकाले एकलौटी रुपमा अस्पताल निर्माणको शिलान्यास गरेपछि पौडेलले गाउँपालिकाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरे ।

स्थानीय सरकार संरक्षण ऐन २०४७ को परिच्छेद १३ले स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धि व्यवस्था अनुसार गाउँपालिकाले पालिका क्षेत्रभित्र रहेको सम्पत्तिको संरक्षणमा भनिएको छ– सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको सरक्षण गर्नुपर्ने छ ।

आफ्नो कोषबाट बनेको, खरिद भएको वा नेपाल सरकारबाट प्राप्त वा कुनै व्यक्तिले दिएको सम्पत्ति, गाउँपालिकाको नाममा रहेको अचल सम्पत्ति गाउँपालिकाले संरक्षण गर्नुपर्नेमा त्यसलाई नेपाल सरकारको निर्णय बिना गाउँ कार्यपालिकाको एकलौटी निर्णयले अर्को संस्थाको भवन बनाउनु कानून विपरीत भएकोले अस्पताल भवन बनाउन नमिल्ने तत्कालीन तोपगाछी गाउँविकास समितिका अध्यक्ष समेत रहेका पौडेल बताउँछन् ।

गाउँपालिकाले अस्पताल निर्माणका लागि शिलान्यास गरेको ठाउँमा अस्पताल नबनाउनु भनेर २०७७ साल फागुन २६ गते सर्वोच्च अदालतले गाउँपालिकालाई परमादेश जारी गरेको थियो । तर त्यसलाई वेवास्ता गर्दै गाउँपालिकाले अस्पताल निर्माण शुरु गरेपछि पौडेलकातर्फबाट अदालतको आदेशको अवज्ञा (मानहानी) सम्बन्धि अर्को मुद्दा अदालतमा पेश गरेको पौडेल जानकारी दिए ।

यसैबीच पौडेलले गाउँपालिकालाई जग्गा उपलब्ध गराउने भने पनि सोे जग्गाको आधिकारिक पुर्जा आजसम्म गाउँपालिकालाई प्राप्त भएको छैन । गाउँपालिकासँग कुनै छलफल नगरी गाउँपालिकाविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा हालेर जनप्रतिनिधिलाई असफल बनाउने र जनतालाई स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित गर्ने उद्देश्य रहेको उपाध्यक्ष शिवाकोटीले आरोप लगाएका छन् ।

हाल अस्पताल शिलान्यास गरेको ठाउँमा स्थानीय वडा समिति, स्वास्थ्य चौकी व्यवस्थापन समिति, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतले गाउँपालिका परिसरभित्र रहेको खाली जग्गा अस्पताल निर्माणका लागि उपयुक्त भएको निर्णयसहित सिफारिस प्राप्त भएकोले सोही जग्गामा अस्पताल निर्माणका लागि कूल १८ करोड ९० लाख ५४६ रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी २०७७ साल पुस २९ गते बोलपत्र आव्हान गरेको थियो ।

अस्पताल निर्माणका लागि गाउँपालिकाले २०७८ साल बैशाख ५ गते आशिष÷ आशिर्वाद÷ स्वामी नारायण नामको कम्पनीसँग १२ करोड, ३९ लाख ३५ हजार ५११ रुपैयाँ ६१ पैसामा ठेक्का सम्झौता गरी २०८० साल बैशाख १७ गते सम्पन्न गर्ने गरी पेश्की वापत २ करोड ४७ लाख ८७ हजार १०२ रुपैयाँ समेत भुक्तानी गरिएको गाउँपालिकाका उपाध्यक्ष शिवाकोटीले जानकारी दिए ।

अस्पताल निर्माण गर्ने क्रममा हाल गाउँपालिकाको सभाहल लगायत विभिन्न विषयगत शाखा सञ्चालन रहेको भवन भत्काउनुपर्ने हुन्छ । त्यसको स्थानान्तरणका लागि गाउँपालिकाले नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र सो भवनको निर्माण कार्य सम्पन्न हुनासाथ अस्पताल निर्माणको काम शुरु गरिने उपाध्यक्ष शिवाकोटीले बताए ।

कूल ९७ दशमलव ४४ वर्ग मिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा २०६८को जनगणना अनुसार ४४ हजार ३६५ जना जनसंख्या रहेको छ । अस्पताल निर्माण हुनासाथ झापाका पश्चिम–दक्षिणमा रहेका बैगुन्धुरा पाँचगाछी, महाभारा कोरोवारी, धरमपुर लगायत स्थानका लाखौ जनतालाई सहज रुपमा स्वस्थ्य सेवा उपलब्ध हुनेमा लाखांै जनता आशामा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here