जीवनको नौका अघि बढाउन सकारात्मक सोच यस्तो गुण हो, जसले सारा निराशा, असफलता र अभावलाई पराजित गरेर मानिसलाई सुनौलो भविष्यतर्फ लाग्न अभिप्रेरित गर्दछ । प्रेरणा जीवनको लागि आधार हो, जसमा सकारात्मकता र विश्वासको सुन्दर महल बन्दछ । सकारात्मक सोचसहितको आत्म–प्रेरणाले जीवनको बाटो बदल्छ । एक व्यक्तिको जीवनमा प्रेरणाको ठूलो महत्त्व छ । आधा गिलास पानी भरिएकोलाई आधा सकिएको र आधा सकिन कति समय लाग्ने हो भन्न पनि सकिन्छ भने आधा त भरिएकै छ, आधा भरिन खासै समय लाग्दैन भनेर सकारात्मक सोच राख्न पनि सकिन्छ ।
अवस्था एउटै हो, तर सोच फरक छ । जीवनको पूर्ण गहिराइ प्रकट गर्न सकारात्मक सोच र प्रेरणाले अत्युच्च भूमिका खेल्दछ । आज हामी निराशाको बढी कुरा गर्छौं र प्रेरणा तथा सकारात्मकताका कम कुरा गर्छौं । यसले हामीमा निराशा जन्माएको छ । राजनीति, अर्थनीति, कूटनीति, शिक्षानीति सबै क्षेत्र र आयाममा नकारात्मक नजरले हेरेमा सर्वत्र नकारात्मकताको बढोत्तरी भइरहेको देखिन्छ । निराशाले सारा समाजमा डढेलो लगाउँछ, जसलाई निभाएर सकारात्मकताको मार्गमा समाजलाई मार्गनिर्देशन गर्ने अचूक अस्त्र भनेको प्रेरणा हो र यो एक रहस्यमय शक्ति हो, जसले निश्चित कार्यहरू गर्न मानिसलाई अन्तस्करणदेखि नै अभिप्रेरित गर्दछ । एकै समयमा यो दुवै आन्तरिक र बाह्य कारक स्रोत हुन सक्छ ।
सकारात्मकतासहितको प्रेरणाको प्रभावले मान्छे आफ्नो लक्ष्यका लागि थप सक्रिय हुन्छ र आत्मसंयम् र प्रोत्साहनको बलमा नवीन मार्गमा जीवनलाई डो¥याउन शुरु गर्छ । कोरोनाको चरम चपेटामा सहर र सहरोन्मुख बस्ती मात्र नभएर समग्र गाउँ नै प्रभावित भइसकेको अवस्था छ । जीवनको कठिन घडीमा कोभिडको बिरामी वा बिरामीको सहयोगी तथा परिवारजनमा सकारात्मक भावको विकास हुन सकेन र भविष्यप्रतिको आशाको दियो हृदयमा बल्न सकेन भने मृत्युको एक कारण त्यही बन्न पनि सक्दछ । कोरोना भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वासको समस्यासम्म गराउन सक्दछ र मानिसको मृत्यु समेत गराउनसक्छ । कोरोना भाइरस भाइरसहरूको एक ठूलो परिवार हो जुन पशुहरू वा मानवहरूमा संक्रमित हुन सक्दछन् ।
मानवमा धेरै कोरोनाभाइरसहरूले सामान्य चिसोदेखि लिएर मध्यपूर्व रेस्पीरेटरी सिन्डूोम (एमईआरएस) र गम्भीर तीव्र श्वासप्रश्वास सिंड्रोम (सार्स) जस्ता बढी गम्भीर रोगहरूसम्म श्वासप्रश्वासको संक्रमणको रूपमा चिनिन्छन् । हाल विश्वभरि फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ । संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनबाट (खोक्दा वा हाच्छ्युँ गर्दा) उत्पन्न भएको श्वासप्रश्वासजन्य सूक्ष्म थोपाहरूबाट र भाइरसबाट संक्रमित सतह÷वस्तुहरू छुँदा यो भाइरस सर्ने गर्दछ ।
कुनै पनि स्थान तथा सतहमा कैयौं घण्टासम्म कोभिड–१९ भाइरस जिवित रहन सक्छ । तर, सामान्य जिवाणुनाशकको प्रयोगबाट यसलाई मार्न वा निष्क्रिय बनाउन सकिन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीले गम्भीर रुप लिएको छ र सबैको ध्यान आकर्षण गरेको छ । विकसित राष्ट्रहरुमा लाखौं जनसंख्या संक्रमित भएका छन् । हजारौं मानिसले ज्यान गुमाइसकेका छन् भने विकासोन्मुख देशहरुमा यस भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । यद्यपि हामी सबै यस भाइरसको नतिजाबाट प्रभावित भएका छौं भने कोही उच्च जोखिममा छौं । विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदन अनुसार, कोरोना भाइरसले सबै उमेर समूहका व्यक्तिहरुलाई असर गर्न सक्छ । तर, पाका उमेरका र गैर संक्रमित रोग (जस्तैः क्यान्सर, कडा दम, मधुमेह, मुटुरोग, मृगौलाको रोग, उच्च वा निम्न रक्तचाप आदि)को साथ बाँचिरहेका मानिसमा यसको संक्रमण बढी देखिन्छ । तुलनात्मक हिसाबले अरु कुनै पनि रोग नलागेका व्यक्तिहरुमा कोरोनाको कारण मृत्यु भएको संख्या अति कम छ ।
असल जीवनको लागि प्रमुख मानवीय गुण सकारात्मक प्रेरणा नै हो । निश्चित कार्यहरू गर्न व्यक्ति बाह्य कारकद्वारा प्रोत्साहन प्राप्त गर्न सक्छ । आन्तरिक प्रेरणाले सक्रिय भावनाको विकास गर्छ । जीवनमा प्रेरणाको कमी भएमा जीवन अक्करिलो लाग्छ, जुनसुकै कार्य पनि कठिन लाग्दछ । धेरै व्यावसायिक संगठन र कम्पनीहरु आफ्ना कर्मचारीहरु उत्प्रेरित गर्न पुरस्कार, पदोन्नति, थप आर्थिक प्रोत्साहन, यात्राको अवसर आदि दिएर र मानव संसाधनको व्यवस्थापन गरेर उत्पादन र उत्पादकत्व दुवै वृद्धि गर्न चाहन्छन् । यी कुराहरूले कर्मचारीमा सकारात्मक सोचको विकास गर्दछ ।
आफ्ना कामदारहरुको अपेक्षा र आशालाई बुझेर उनीहरुलाई काममा बढी लगनशीलता र जाँगरका साथ लाग्न प्रेरणाले महत्वपूर्ण भूमिका खेल्दछ । यसका लागि कार्यालय प्रमुखमा सकारात्मक सोच हुन जरुरी हुन्छ । कुनै पनि खेलाडीलाई सकारात्मक सोचले सफलताको सगरमाथा छुन र सम्भवनाको ढोका खोल्न सहयोग पु¥याउँछ । सकारात्मक सोच बिना डाक्टर, इञ्जिनियर आदि विशेषज्ञलाई अघि बढ्न कठिन छ । कठिन क्षणमा हिम्मतका साथ अघि बढ्न सकारात्मक भावले नै उत्प्रेरित गर्छ, र बाधा–अवरोधका विरुद्धमा अन्तिम धक्का दिन बल दिन्छ प्रेरणाले । पैसा, स्वास्थ्य र ठूलो उपलब्धि प्राप्तिका लागि जीवनमा मुख्य उत्प्रेरक कुरा नै सकारात्मक दृष्टिकोण हो ।
जीवनका लागि सकारात्मक सोचले कुनै पनि सफलता हासिल गर्ने इच्छाशक्ति वृद्धि गर्दछ । जीवनमा सफलताको लागि सकारात्मक सोचले असल कार्य गर्न दिशा निर्देश गर्दछ । जीवनमा सकारात्मकतासहित प्रेरणा कायम गर्न नसकिएमा आफ्नो शक्ति फीका लाग्न थाल्छ र स–साना अवरोधले अघि बढ्न हतोत्साह गर्दछ । हाम्रो सामाजिक परिस्थिति नकारात्मकताले भरिएको छ । समस्याहरूसँग जुध्न नसकेपछि एउटा मानिस जीवनलाई विसर्जन गर्ने टुङ्गोमा पुग्नसक्छ र जीवनभन्दा मृत्युलाई प्यारो ठान्न थाल्न सक्छ । जीवनदेखि नियास्रिएका मानिसहरूलाई उत्प्रेरणा जगाउन आवश्यक छ । कोभिड प्लसको चपेटामा परेका मानिसलाई हौसला, उत्प्रेरणा र जीवनप्रति आशा जगाउन आवश्यक हुन्छ । जसले गर्दा कोभिडको बिरामीमा धैर्य, साहस र आत्मसंयता बढ्छ । यसले रोगलाई जित्न सहज बनाउँछ ।
सकारात्मक चिन्तन, आशा, उत्साह र प्रयत्न जस्ता पक्षलाई जीवनका अभिन्न अंग बनाउनुपर्छ । सिर्जनाले उत्प्रेरणाको दैलो उघार्न सघाउ पु¥याउँछ । सकारात्मकताले भरिएको मानिसमा नै दृढ इच्छाशक्ति हुनसक्छ । संकल्प शक्ति उत्पन्न गर्न मानिसका लागि प्रेरणा नै मुख्ग कुरा हो । सपना, दृढ इच्छाशक्ति र निरन्तर अभ्यासका लागि प्रेरणा नै उत्तम गुण हो । मानिसहरूमा व्याप्त स्वार्थीपना, विश्वासघातले प्रेरणाका ढोका बन्द गर्न सक्छ । जीवनदेखि हार, नैराश्य र उदासीको संघारमा पुगेर पनि पुनः जीवनको महत्ता बुझेका व्यक्तिहरूका आत्मविश्वासले प्रेरणाको मार्गमा अघि बढ्न हौसला प्रदान गर्दछ । भनाइ छ– ‘हरेक समस्याहरु सुनौलो अवसर लिएर आउँछन् ।’ यसो पनि भनिन्छ– ‘कायरहरु समस्याबाट भाग्छन्– तर कतिले त्यसैलाई अवसरमा बदल्छन् ।’ जीवन सधैँ एकनास रहँदैन । दुःख, सुख आउँछ, जान्छ । हिजो र आज, आज र भोलि फरक रहन्छ । सबै कुरा आफुले सोचे जस्तो ठिकठाक हुँदैन । कहिले समस्याको पहाड खस्छ । कहिले उमँगको वर्षा हुन्छ । यस्ता क्षणहरुमा संयमित जीवन व्यतित गर्नुपर्छ । जीवनमा अनेक कठिनाइहरु आउँछन् । प्रेरणा कर्मफल र जीवन जस्तै छ जमिन जे रोप्छौ त्यही फल्छ जसरी हिँड्छौ त्यसरी नै पुगिन्छ, जहाँ जान्छौ त्यहीं पुग्छांै । व्यावसायिक परियोजनाहरुमा सकारात्मक सोच र उत्प्रेरणा महत्वपूर्ण छ । कहिलेकाहीँ विचार राम्रो छ, भौतिक स्रोतहरू उपलब्ध छन्, आवश्यक ज्ञान उपलब्ध छ, तर काम परियोजनामा भाग लिने इच्छाको अभाव हुन्छ । यी अवस्थाहरूमा, विशेषज्ञले समस्याको विश्लेषण गर्न र कार्य प्रस्ताव गर्न परिवर्तनको प्रस्ताव गर्न आवश्यक छ । जसबाट प्रेरणा उत्पन्न हुन्छ र त्यही सकारात्मक गुणकै कारण सबै कुरा सजिलैसँग अघि बढाउन सकिन्छ ।
सीप र क्षमताको विकासका लागि सकारात्मक सोच र प्रेरणाको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ । कोभिडको बिरामीलाई अब तिमी बाँच्न अप्ठेरो छ, कोभिडले मानिसहरु मरिरहेका छन्, अब तिम्रो स्वास्थ्य निकै जटिल हुन्छ जस्ता हतोत्साही गर्ने कुरा गरेमा बिरामीलाई नकारात्मक भावले छोप्दछ । निराशाले स्वास्थ्यलाभ गर्न असहजता प्रदान गर्दछ । ध्यान दिनुपर्ने कुरामा फलदायी सुझाव दिनु आवश्यक छ, तर मानसिक तनाव हुने प्रकारका कुनै पनि कुरा नगर्नु राम्रो हुन्छ भने बिरामीले पनि नकारात्मक सोच विकास हुने काम गर्नुहुँदैन । कोभिड–१९ को संक्रमण भएका ९५ प्रतिशतभन्दा बढी मानिसहरु बाँचेका छन् । एकतिहाइ कोभिडका बिरामी मात्र अस्पताल वा स्वास्थ्य संस्था गएका छन् । अन्य घरमै बसेर निको भएका छन् भने कोभिडका बिरामीलाई सकारात्मक कोणबाट आशावादिताका कुरा गर्न आवश्यक छ ।