करसोङ पदमार्गः पर्यटकको आकर्षण

0
674

उमानाथ भण्डारी
झापा, नेपालको पूर्वी पहाडी जिल्ला इलामको नाम लिनासाथ पर्यटनका लागि देशमै चिनिएको जिल्लाको तस्वीर आउँछ । त्यसमा पनि पर्यटनको प्रचुर सम्भावना बोकेको इलामको रोङ गाउँपालिका प्रमुख हो ।
गाउँपालिकाले वडा नम्वर –३ हाँसपोखरीदेखि वडा नम्वर ६ सिद्धिखोला दोभानसम्म २९ किलोमिटर पदमार्ग निर्माण गरेको छ । सो पदमार्गलाई रोङ गाउँपालिकाले करसोङ (सुनाखरी) नामकरण गरेको छ । करिब एक करोड ३० लाख रुपैयाँको लागतमा सो पदमार्ग निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
यस पदमार्गले पदयात्रीको मन जित्न सफल करसोङ पदमार्गमा पर्ने विभिन्न रमणीय स्थानका साथै पदमार्ग आसपास रहेका विभिन्न जातका वनस्पतिका बारेमा जानकारी गराउँदै प्रचारप्रसार गर्ने उद्देश्यले पुस २ र ३ गते गाउँपालिकाका जनप्रतिनिधिका साथमा इलाम र झापाका सञ्चारकर्मी सहितको टोलीले पदमार्गमा यात्रा तय गरेको थियो । पदमार्ग समुद्र सतहदेखि ४ सय मिटरदेखि १८ सय मिटरको उचाइसम्म रहेकोले यस ठाउँमा पदयात्रा गरेर आनन्द लिन सकिने रोङ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर –६ का वडा अध्यक्ष सुवास तामाङले बताए । पदमार्गमा उचाइ अनुसारका वनस्पतिको अवलोकन गर्न पाइने र शरीर पनि स्वस्थ्य हुने भएकोले पदमार्गले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्ने तामाङको भनाइ छ । पछिल्लो समय पैदल यात्रा गर्नेको आकर्षण बढ्दै गएका कारण यो पदमार्ग निर्माण गरिएको हो ।
यो पदयात्राले सय ठाउँमा भएका पर्यटकीय क्षेत्रलाई एक अर्कासँग जोड्ने र आन्तरिक र बाह्य पर्यटकलाई आकर्षणको केन्द्र बनाउने गाउँपालिकाको योजना रहेको उनले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्राप्त बजेटलाई गाउँपालिकाले पदमार्ग निर्माणका लागि खर्च गरेको छ । पदमार्ग निर्माणका लागि आवश्यक थप रकम प्रदेश र केन्द्र सरकारले समेत उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
पदमार्ग ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वको रहेको छ । पदयात्रामा पर्ने १५ स्थानको प्रवद्र्धन गर्ने योजना रहेको तामाङले बताए । जसमा सूर्योदयको अवलोकन गर्नका लागि झन्डीडाँडाको संरचना निर्माणको काम लगभग सकिन लागेको छ । पदमार्ग मेची राजमार्गको रोङ गाउँपालिकाको वडा नम्बर –३ हाँसपोखरीदेखि शुरु भएर सूर्योदय नगरपालिका हुँदै झापाको मेचीनगर नगरपालिकाको बाहुनडाँगीसम्म फैलिएको वडा सदस्य केशरबहादुर प्रधानले बताए । पर्यटकलाई सहजताका लागि विभिन्न पाँच ठाउँमा होमस्टे सञ्चालनको तयारी भइरहेको छ । जस अन्तरगत रम्यब्याङ, सलकपुर, जौबारी, मजुवा र पाटापुरमा होमस्टे सञ्चालन गरेर स्थानीय उत्पादनको बजारीकरण र प्रबद्र्धन गर्ने तयारी रहेको छ । जसमध्ये रम्ब्याङ र सलकपुरमा कारितास नेपालको सहयोगमा होमस्टे सञ्चालन भइरहेको प्रधानले बताए ।
पदमार्गमा विभिन्न जातका लालीगुराँस र फलफूलका एक लाख विरुवा रोप्ने योजना रहेको छ । अहिलेसम्ममा नेपाली सेनाको सहयोगमा २५ हजार लालीगुँरासको बिरुवा रोपिएको छ भने बाँकी विरुवा पनि छिट्टै रोपिने प्रबक्ता तामाङले बताए । झापाबाट नजिकै पर्ने भएकोले यो पदयात्रा कृषि तथा वनस्पतिन विज्ञान अध्ययन गर्ने विद्यार्थीका लागि अध्ययन भ्रमणका साथै अनुसन्धानको राम्रो केन्द्र बन्ने, लालीगुँरासका सौखिनका लागि लालीगुराँस हेर्न टाढा जानु नपर्ने तामाङ बताउँछन् । पर्यटनको ठूलो सम्भावना बोकेको उक्त पैदलमार्गको शुक्रवार औपचारिक रुपमा उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा झापा तथा इलामका पत्रकारहरुले पैदल यात्रा गरेका थिए । शुक्रवार र शनिबार दुई दिने उक्त कार्यक्रमलाई गाउँपालिका सहित पर्यटन कार्यालय काँकरभिट्टाको समेत सहयोग रहेको थियो ।
नेपाली पदयात्रीका लागि सुनाखरी पैदल मार्ग उपयुक्त गन्तव्य बन्न त सक्छ नै यसका साथै भारतीय पर्यटकका निम्ति पनि यो पदमार्ग पहिलो रोजाइमा पर्ने पर्यटन कार्यालय काँकरभिट्टाका सूचना अधिकृत निरज कट्टेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here