विनोद सापकोटा ।
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले २०७४ सालमा पालिका प्रमुख पदमा निर्वाचित भएर कार्यपालिकाको प्रशासनिक भवनभित्र छिर्दे गर्दा एउटा योजना बनाएका थिए । उनको योजना नेकपा एमालेले स्थानीय तहको निर्वाचनका बेला तयार गरेको घोषणा पत्रमा पनि उल्लेख थियो । निर्वाचनका बेला जनताका घरदैलोमा मत माग्न जाँदा पटक–पटक उनी कुरा उठाउँथे । ‘हामीले निर्वाचन जित्यौं भने नगरका सबै वडा छुने गरी रिङरोड निर्माण गर्छौं ।’
शिवसताक्षी–८ का शेर्मा नगर प्रमुख पदमा विजयी भएर आएको पहिलो कार्यपालिका बैठकमा रिङरोडको प्रस्ताव उनले अघि सारे । उनले सारेको प्रस्ताव सर्वसम्मत रुपमा निर्णय भयो । कार्यपालिका बैठकमा पेस भएर निर्णय भएको पाँच वर्ष पुग्नै लाग्दा नेकपा एमालेले चुनावी एजेण्डाको रुपमा अघि सारेको घोषणा पत्रमा उल्लेख भएको बुँदा र नगर प्रमुख शेर्माको प्रतिबद्धता अन्ततः समयमै पूरा भयो ।
शनिबार झापाका पत्रकारले नगरपालिकाले निर्माण गरेको रिङरोडको स्थलगत अध्ययन गरे । जनतासामु गरेका प्रतिबद्धता पूरा गरेको भन्दै पत्रकारले नगर प्रमुखको प्रशंसा गरे । पालिकाले हजारौं आयोजनाहरु यो अवधिमा निर्माण सम्पन्न गरेको छ । पुल, कलभर्ट, मठ–मन्दिर, विद्यालय, पर्यटकीय क्षेत्र, सडक, विद्युत, नदीको कटान रोक्न तटवन्ध, विपन्नलाई आवास यस्ता आयोजनाहरु निर्माण सम्पन्न गरेको छ । कतिपय बहुबर्षीय आयोजनाहरु धमाधम सञ्चालन भइरहेका छन् । नगर गौरवको आयोजना अन्तर्गत नगर प्रमुख शेर्माले अघि सारेको नगरपालिकाको रिङरोड ३९ किलोमिटर दुरीको छ । त्यसमध्ये पालिकाले १० हजार दुई सय मिटर सडक कालोपत्रे गरिसकेको छ । बाँकी दुरीमा धमाधम कालोपत्र हुने काम भइरहेको नगरपालिकाले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गको माइधार–धरमपुरको सात किलो मिटर सडकमा रिङरोड पर्छ । नगरपालिकामा जनप्रतिनिधि आएपछि २२ हजार मिटर सडक नयाँ निर्माण भएको हो । अन्य १० हजार मिटर सडक भने जनप्रतिनिधि आउनु अगावै कच्ची अवस्थामा थियो । शिवसताक्षी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कुलबहादुर बस्नेतका अनुसार कच्ची सडक ग्राभेल सकिएर कालोपत्र हुने अवस्थामा छन् ।
नगरपालिकाले रिङरोड निर्माणका लागि २० करोड खर्च गरेको छ । पालिकाको सूचना शाखाका अनुसार अब १९ प्रतिशत काम हुँदा रिङरोडको काम सकिन्छ । शिवसताक्षी नगरकार्यपालिका गठन भएपछि स्थायी संरचना निर्माण गर्नु जनप्रतिनिधिको पहिलो दायित्व थियो । बिना सडक विकास असम्भव जनप्रनिधिले देखेपछि सडक पूर्वाधारमा नगरको ध्यान गएको जनप्रतिनिधि बताउँछन् । नगरको रिङरोडमा ५२ वटा कल्भर्ट, सात वटा बक्स कलभर्ट र तीन वटा पुल निर्माण भएका छन् । जसका कारण सडक कटान हुनबाट बच्न र सर्वसाधरणलाई आउन जान ती संरचनाले सजिलो बताएको स्थानीय बताउँछन् । शिवसताक्षी नगरपालिकाका प्रमुख शेर्माका अनुसार नगर गौरवका ठूला आयोजना अन्तर्गत रिङरोड शिवसताक्षी नगरको सबैभन्दा महत्वपूर्ण र ठूलो आयोजना हो ।
रिङरोड निर्माण हुनु अगाडि यातायातको असुविधाका कारण बसाइँ गएका कतिपय परिवार फर्किएका छन् । उनीहरुले जलाम्य भू–भागका कारण गाँउ छोडेर बसाइँ गएको र गाउँमा चिल्लो सडक निर्माण हुन थालेपछि पुरानै ठाउँ फर्किएको बताए । शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुण्य सापकोटाका अनुसार रिङरोड निर्माण हुनु अघि १३ परिवार बसाइँ गएको र सडक बनेपछि गाउँ फर्किएको बताए । नगरले पाँच वर्ष अवधिमा गरेको कार्यप्रगतिको बारेमा पत्रकारलाई जानकारी गराउँदै नगर प्रमुख शेर्माले रिङरोडको चारैतर्फ चार वटा ट्रङक रोड पनि निर्माण गरेको बताएका छन् । उनले भने– ‘नगरले तीन करोड ४४ लाख खर्च गरेर ट्रङक रोड बनाएको हो ।’ ट्रङक रोड बन पनि गाउँमा उत्पादन भएका कृषि उपज नजिकका बजारमा ल्याएर बेच्न किसानलाई सजिलो भएको छ ।
नगरले सेवा क्षेत्रको दुई सय २८ किलोमिटर सडक ग्राभेल गरेको छ । कल्भर्ट, बक्स कल्भर्ट र पुल गरेर जम्मा दुई सय ४८ वटा पूर्वाधार खडा गरेको नगर उपप्रमुख भोजकुमारी नेपालले बताइन् । उनका अनुसार एक सय ९६ वटा सामुदायिक भवन, विद्यालय र मन्दिरको जीर्ण भवनको स्तरोन्नति गरेको छ । विद्यार्थी, भजन–किर्तन मण्डली, शिक्षक लगायत गाँउ घरमा रहेका विभिन्न समूहमा आवद्ध नगरबासीले यसको प्रत्यक्ष उपभोग गरेको उपप्रमुख नेपालले बताइन् ।
नगरकार्यपालिकामा गठन भएको न्यायिक समितिले पाँच वर्षमा दुई सय ४६ वटा विभिन्न शिर्षकका मुद्दाको सुनुवाई गरेको समितिकी संयोजक समेत रहेकी उपप्रमुख नेपालले बताइन् । नगरको न्यायिक समितिमा दर्ता भएका मुद्दामध्ये अधिकांश घरेलु हिंसाका छन् । सीमा विवाद, माना चामल, आर्थिक लेनदेन, अंश, घर–टहरा हटाउने, बाँकी बक्यौदा, सहमति कार्यान्वयन, पालनपोषण र घरायसी झगडा र श्रीमान्–श्रीमतीबीचको झगडा समितिमा दर्ता भएको थियो ।
शिवसताक्षी नगरपालिकामा १५ बेड क्षमताको प्राथमिक अस्पताल पनि निर्माणको चरणमा छ । एक विगाह १० कठ्ठा जग्गा क्षेत्रमा अस्पताल निर्माण हुने भएको हो । १० करोड ६६ लाख ९३ हजार छ सय ६५ रुपैयाँका लागतमा अस्पताल निर्माण शुरु भएको छ । २०८० असारभित्रमा अस्पतालको निर्माण सकिने नगरका सहायक सूचना अधिकारी डिल्ली नेपालले बताए । ‘हामी नगरपालिकामा आएपछि ४२ वटा नियमावली र कार्यविधि बनाएका छौं । आठ वटा आधारभूत अस्पताल निर्माण गरेका छौं । शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि आइसीटी निर्माण गरेका छौं’ –उपप्रमुख नेपालले भनिन्– ‘यो सबै कार्यपालिकाको टिमले गरेको हो ।’
शिवसताक्षी नगरले पर्यटन क्षेत्रमा लगानी गरेर पर्यटनमैत्री नगर बनाउने योजना अघि सारेको छ । पौराणिक कथासँग जोडिएको सताक्षीधाम, चिल्लागढ पोखरी र दोमुखा नगरका मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र हुन् । नगर प्रमुख शेर्माका अनुसार दोमुखा क्षेत्रको विकासका लागि पाँच करोड ९१ लाख, सताक्षीधामको पूर्वाधार निर्माणमा दुई करोड ६५ लाख, चिल्लागढ पोखरीका लागि ८२ लाख रुपैयाँ खर्च गरेर स्थायी संरचना निर्माण नगरपालिकाले गरेको छ ।
सतासीधाम, दोमुखा र चिल्लागढ पोखरीको स्तरोन्नति भएपछि ती ठाउँमा यतिबेला आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । साताको शनिबार, सार्वजनिक विदाको दिन र चार्डपर्वमा धार्मिक तथा पर्यटकीय क्षेत्रमा सर्वसाधरणको घुइँचो लाग्ने गरेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष धनप्रसाद लावतीले बताए । शिवसताक्षी नगरको नगर गौरवको अर्को आयोजना झिलझिले बसपार्क हो । बसपार्क निर्माणका लागि नगरले ५० लाख र प्रदेश सरकारले एक करोड खर्च गरेर बसपार्क निर्माण शुरु भएको छ । पूर्व पश्चिम राजमार्गको झिलझिले पूर्व–उत्तरको खाली जग्गामा अत्याधुनिक प्रकृतिको बसपार्क निर्माण भइरहेको नगर प्रमुख शेर्माले बताए ।
बसपार्क निर्माण भएपछि व्यापारिक प्रयोजका लागि स्टल निर्माण हुने छन् । त्यसले नगरको आन्तरिक आम्दानी बढ्ने नगरपालिकाले जनाएको छ । यो आयोजना दुई वर्षअघि नै शुरु हुनपर्ने हो । तर, प्रदेश सरकारले विलम्ब गरेर बजेट पठाएपछि मात्र ठेक्काद्वारा बसपार्क निर्माण शुरु भएको पालिकाले जनाएको छ । नगर गौरवको आयोजना अन्तर्गत डुँडामारी सिमसार क्षेत्रको बिकासका लागि एक करोड ८५ लाख नगरपालिकाले खर्च गरेको छ । त्यसमा ८० बिगाह जग्गा क्षेत्रमा पाँच फिट उचाइँको काडे तारले घेराबारा गरिएको छ । डँुडामारी सिमसारलाई आयमूलक बनाउन पोखरी र सेल्फीडाँडा निर्माण गरिएको छ । नगर प्रमुख शेर्माका अनुसार पानीको सतह उच्च बनाउन सिमसार क्षेत्रमा बाँध निर्माण गरिएको छ ।
नगर प्रमुख शेर्माले डुँडामारी सिमसार निर्माण भएपछि नगरपालिकाको आम्दानी वृद्धि हुने विश्वास लिएका छन् । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको डुँडामारी सिमसार पर्यटन र व्यापार–व्यवसायका हिसाबले महत्वपूर्ण आयोजना भएको बताए । विकास विरोधी केही व्यक्तिले डुँडामारी सिमसार क्षेत्रको बारेमा गलत हल्ला फिजाएर समाजमा अफवाह फैलाएको समेत आरोप लगाए । उनले भने– ‘डँुडामारी सिमसारले सिङ्गो नगरको शान बढाउँछ ।’ रतुवामाई वृक्षरोपण आयोजना, वन तथा वातावरण मन्त्रालय र राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिका उपसचिवसहितको कार्यपालिका बैठकले २०७५ चैत २७ गते डुँडामारी सिमसार क्षेत्र निर्माण गर्ने निर्णय भएको थियो । त्यही निर्णयलाई टेकेर पालिकाले डँुडामारी सिमसार क्षेत्रको निर्माण कार्य थालेको नगर प्रमुख शेर्माले बताए ।
नगरपालिकाले पाँच वर्षभित्रमा निर्माण गर्ने अर्को आयोजना ल्याण्डफिल्ड साइड हो । यो आयोजना पनि निर्माण शुरु भएको छ । नगरका बजार र घरका भान्साबाट दैनिक निस्किने फोहोर व्यवस्थापनका लागि नगरले केन्द्रको निर्माण शुरु गरेको हो । वडा नम्बर ७ को झारबारीमा फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र रहने नगरका निमित्त प्रमुख प्रसाशकीय अधिकृत प्रकाश चौधरीले बताए ।
नगरका बजार, सडक, विद्यालय, कल–कारखाना लगायतबाट निस्किने फोहोरलाई व्यवस्थापन केन्द्रमा लगेर प्रशोधनपछि पुनः प्रयोग गर्न सकिने जैविक मल पनि उत्पादन हुने निमित्त प्रमुख प्रसाशकीय अधिकृत चौधरीले बताए । उनका अनुसार एउटै केन्द्रमा दुईवटा महत्वपूर्ण फोहोर व्यवस्थापन र प्रशोधन हुनेछ । नगरले तयार गरेको डीपीआर अनुसार त्यस क्षेत्रमा सडक निर्माण, वेटल्याण्ड क्षेत्र निर्माण, साइड ड्रेन, फोहर छुट्याउने चेम्वर टहरा, पार्किङ्ग सेड, कार्यालय भवन, गेट, कम्पाउण्ड वाल निर्माण, जेनरेटर, तटबन्धन, कुहिने फोहरको प्रशोधन मेशिन, नकुहिने प्लास्टिकजन्य वस्तुको प्रशोधन मेशिन, फूलबारी बगैंचा आदि निर्माण हुनेछ । यी संरचना निर्माणका लागि १२ करोड खर्च हुने भएको छ ।
नगरले खेलकुदको विकासका लागि दूधेमा रंगशाला निर्माण गरेको छ । एक करोडको लगानीमा रंगशाला निर्माण गरेको हो । रंगशाला निर्माण भएपछि खेलकुद क्षेत्रका क्रियाशल खेलाडीले बाहै्र महिना अभ्यासको सुविधा पाएका छन् । रंगशाला निर्माण अघि खोला, जंगल र खेति नभएका खाली जग्गामा खेलकुदका गतिविधि हुने गरेको थियो । नगरले पशुसेवामा तीन करोड खर्च गरेको छ । पशुको नश्ल सुधारदेखि पशु उपहार लगायतका कार्यक्रम समेटिएको पालिकाले जनाएको छ । किसानका पशुको पनि पालिकाले निःशुल्क बीमा गरिदिएको उपप्रमुख नेपालले जानकारी दिइन् ।
नगरले कृषि बजारको विकासका लागि शिवगञ्ज बजारमा तरकारी मण्डी निर्माण थालेको छ । संघीय सरकारले ५० करोड र नगरको एक करोड ५० लाखमा तरकारी बजार निर्माण गर्न लागको हो । साविकको शिवगञ्ज र पाँचगाछि गाविस तरकारी खेतीका लागि पकेड क्षेत्र हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्र्रकाश चौधरीका अनुसार नगरका वडा नम्बर ४, ५, ६ र ७ मा उत्पादन भएका तरकारी निर्माण हुने तरकारी बजार हुँदै मुलुकका ठूला शहरमा पु¥याएर बिक्री गर्न सकिने छ । नगरले बजारको स्तर बृद्धिका लागि साप्ताहिक हाट लाग्ने बजारको टहरा निर्माण गरेको छ । दूधे, माइधार, पाराबारी, मंगलबारे, जनता बजार लगायतका बजारमा टहरा निर्माण भएका छन् ।
शिवसताक्षी नगरपालिका बाढी प्रभावित क्षेत्र हो । पूर्वमा कनकाई र पश्चिममा कमल खोलाको वर्षेनि कटानका कारण कयौं स्थानीय विस्थापित बन्ने गरेका छन् । यो सँगै दूधे, झरना, सतासी, झिलझिले, मकरडुवा, कमल बनियानी खोलाको कटान पनि उत्तिकै छ । विस्थापित परिवारलाई पुर्नस्थापितका लागि नगरले कार्ययोजना बनाएर अघि बढेको वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठले बताए । उनले भने– ‘विस्थापितलाई तत्काल राहतका कार्यक्रम र घरबास नै उठेका परिवारलाई घर दिने कार्यक्रम पनि नगरले अघि सारेको छ ।’
विपन्न तथा भूमिहीनलाई नगरले जनता आवास कार्यक्रम अन्तर्गत पक्की घर बनाएर उपहार दिएको छ । आइतबार मात्रै नगरका ५ विपन्नले घर उपहार पाएका छन् । शिवसताक्षी–११ स्थित बच्चाबगरमा १६ वटा घर नगरपालिकाले निर्माण गरेको छ । एक घर बराबर नौ लाख खर्च गरेर पालिकाले जनता आवासका लागि घर बनाएको हो ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ३ मा नगरको स्वामित्वमा रहेको ३२ बिगाह जग्गामध्ये तीन बिगाह क्षेत्रमा नगरले जनता आवासका लागि घर बनाउने योजना अघि सारेको छ । बाँकी रहेको २९ बिगाहमा फर्नपार्क निर्माण हुने नगर प्रमुख शेर्माले बताए । नगरपालिकाले नगरका विपन्नलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पाँच वर्षमा एक करोड ६७ लाख १६ हजार दुई सय ८२ रुपैयाँ बराबरको रोजगारी समेत दिएको छ । अति विपन्न, दलित तथा आदिवासी जनजाति समुदायका नगरबासीले रोजगारी पाएको नगरको रोजगार शाखाले जनाएको छ ।
नगरले भाषा, धर्म, संकृति, साहित्य उत्थानका लागि पनि रचनात्मक काम गरेको पत्रकारलाई जानकारी गराएको छ । मुलुकका सात सय ५३ स्थानीय तह मध्ये शिवसताक्षी नगरपालिका वित्तीय अनुशासनमा १ नम्बरमा परेको नगर प्रमुख शेर्माले बताए । आर्थिक वर्ष २०७६÷०७७ मा शिवसताक्षी नगरपालिका बेरुजु कम हुने पालिकामध्ये १ नम्बरमा थियो । त्यसताका ०.०६ प्रतिशत नीतिगत बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको थियो ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का त्रिलोकनाथ रिजालले टोल–टोलमा विकास पुगेको बताए । उनले भने– ‘गाउँको विकास हेर्ने हो भने शिवसताक्षीका कुना–कुनामा पुगे हुन्छ ।’ पाँच वर्षअघिको नगरका गाउँ अहिले शहर जस्तो भएको उनले बताए । सडक, बिजुली, कृषि, पशु, पर्यटन क्षेत्रमा नगरले गरेको लगानीले गाउँको मुहार फेरिएको उनले बताएका छन् । विराटनगरबाट १० वर्षअघि सतासीधाम आएकी राधा पौडेलले पनि सताक्षीधाममा आएको परिवर्तन देखेर छक्क पर्दे भनिन्– ‘साच्चै सताक्षीधाम नै आयौं त जस्तो भयो । रुपरंग नै विक्कुल फरक छ । पहिला आउँदा एउटा टहरा, गौंका गोवरको थुप्रा मात्र थियो । अहिले पो धाम जस्तो भएछ ।’