स्थानीय तहको चुनावले देशको राजनीतिक माहोल तातेको छ । सबै राजनीतिक दल आफ्ना उम्मेदवारलाई जिताउन हरतरहले लागीपरेका छन् । आफ्नो दलको उम्मेदवारको प्रचार–प्रसारमा देशैभरी स्वयम्सेवी रुपमा सबै दलका कार्यकताहरु अहोरात्र खटिरहेका छन् ।
परिदृष्य एक
‘आए झोलेहरु’ चोकको चिया पसलबाट चिया पिउँदै एकजनाले घृणा भावमा इसारा ग¥ये । बिहानको करिब ७ बजेको थियो । महेन्द्र राजमार्गको उत्तरपट्टिको बाटोमा मोटरसाइकलमा पार्टीको झन्डा बाँधेका हातमा पनि पर्चा र झन्डा बोकेका मान्छेहरु भेला हुँदै गए । छातीमा आफ्नो परिचयपत्र झुन्ड्याएका उम्मेदवारहरु पनि नमस्ते गर्दै समूहमा मिसिए ।
साउन्ड सिस्टम जोडेको एउटा गाडी आयो । त्यसको पछि–पछि मोटरसाइकलको पछाडिपट्टि सिल्भरको अलि ठूलो कित्लीमा कालो चिया र बिस्कुटको पोका आइपुग्यो । प्लास्टिकको गिलासमा थाप्दै चिया र बिस्कुट खाँदै एकछिन कल्याङकुलुङ्ग गर्दै उनीहरु घरदैलोमा निस्किए । आफ्नो पार्टी तय गरेका आधिकारिक उम्मेदवारका पक्षमा मत माग्न चिया बिस्कुट खाएर उनीहरु बिहानैदेखि मतदाताका घर–घरमा पुगे ।
परिदृष्य दुई
महेन्द्र राजमार्गबाट थोरै उत्तर गएपछि एउटा सानो खोल्सीमा बनेको कल्भर्ट छ । त्यसको पश्चिमपट्टि मुसहरहरुको झुरुप्प बस्ती छ । कल्भर्टको डिलैमा बिचारी दाइको सानो होटल छ । बेलुका कार्यालयको काम सकेर फर्किँदा ८ बजिसकेको थियो । कल्भर्टमा १०÷१२ जना केटाहरु मोबाइल चलाउँदै गफिरहेका थिए । बिचारी दाइको पसल अगाडि रोकेर ‘को मान्छे भेला भए हो दाजु त्यहाँ’ –भनेर सोधे । ‘झोलेहरु भोट रुङ्गन आएका रे’ –झर्को मान्दै दाइले जवाफ फर्काए ।
‘अर्को पार्टीका मान्छेले आज यहाँ पैसा बाँड्दै छन् अरे कि दाजु, त्यही भएर अब चुनावभरि त खट्नै प¥यो ।’ एकजना चिनेजाने कै भाइ रहेछन् उनीहरुसँग एकछिन गफ गरेर आफ्नो बाटो लागे ।
घर पुगेर फेसबुक खोले
झोलेहरुले नै यो देश बिगारेका हुन्, देशको यो दुर्दशा र बेथितिको मुख्यकारण नै झोलेहरु हुन भने झैं गरी सामाजिक सञ्जाल झोलेविरुद्ध खनिएको छ । चोक, चिया पसल जताततै राजनीतिक दलका तल्लो तहका पार्टीप्रति प्रतिबद्ध कार्यकर्तालाई ‘झोले’ भनेर गाली गरेको देख्छु/सुन्छु ।
यो लेखमा माथिका परिदृश्यका आधारमा राजनीतिक दलका तल्लो तहका कार्यकर्ता जसलाई मानिसहरु झोले, हनुमान भनेर गाली गरिरहेका छन् उनीहरुसँग सम्बन्धित केही पक्षको विश्लेषण गर्ने जमर्को गरेको छु ।
नेपालमा चुनाव असाध्यै महँगो र विकृत भयो । जसले भोट खरिद गर्न सक्छ उसले मात्रै जित्ने अवस्था छ । चुनावको बेला रक्सी र मासुमा भोट खरिद गर्नेहरुले मात्र चुनाव जित्न सक्ने परिस्थिति छ । कसैले राम्रालाई भोट हाल्दैन हाम्रालाई मात्रै हाल्छन् । यी यावत विकृतिको जड तल्लो तहका कार्यकर्ता मात्र हुन् झैं गरी मानिसहरुले गाली गर्ने गरेका छन् ।
केही प्रश्न र उत्तरबाट यसको चिरफार गरौं
१)झोलेहरुले मत बेच्छन् ? पैसा खाएर अर्को पार्टीको पक्षमा हिँड्छन् ? वा एक गिलास रक्सी र दुई चोक्टा मासु खाएर अर्को पार्टीको उम्मेदवारलाई जिताउँछन् त ?
होइन झोलेहरु विपक्षी उम्मेदवारको एक पैसा पनि खाँदैनन् । आफ्नो दलप्रति बफादार हुन्छन् दलले छानेको उम्मेदवार बाहेक अरुलाई भोट हाल्दैनन् ।
२) झोलेहरु रक्सी र मासुमा जनताको भोट खरिद गर्छन् ?
होइन नेताले किनिदिएको रक्सी–मासु बाँड्न सघाउने मात्र हुन् ।
३) झोलेहरुले चुनावमा सघाए वापत राजदूत वा अन्य त्यस्तै मालदार नियुक्ति पाउँछन् त ?
अँह पाउँदैनन् । उनीहरुको त्यत्रो ठूलो पहुँच हुँदैन ।
४) ठूला–साना ठेक्कापट्टा हात पार्छन् त ?
अहँ त्यो पनि उनीहरुको पहुँच बाहिर कै कुरा हो ।
५) खराब व्यक्तिलाई उम्मेदवारले झोले बनाएको हो ?
होइन । राजनीतिक दलले अशल र योग्य भनेर उम्मेदवार बनाएका व्यक्तिलाई बोकेर हिँडेको मात्रै हो ।
६) त्यसो भए को हुन त झोलेहरु ?
दलीय प्रणालीमा झोलेहरु (बफादार कार्यकर्ताहरु) गड्यौलाहरु हुन् उनीहरुले राजनीतिक दलरुपी जमिनलाई खुकुलो र उर्वरा बनाइराखेका हुन्छन् । पार्टीले गरेका निर्णय स्वीकार्नु र त्यसको पालना गर्नु नै बफादार कार्यकर्ताको अनुशासन हो ।
राजनीतिक दलको नेतृत्वले समग्र राष्ट्रको आवश्यकता र परिस्थितिका आधारमा नीति–निर्माण गर्छ, योजना बनाउँछ । ती नीति र योजनालाई कार्यान्वयन गर्न सक्ने असल व्यक्तिलाई (हाम्रा होइन राम्रालाई)उम्मेदवारका रुपमा छनोट गर्दछ । कार्यकर्ताहरुले पार्टीले तय गरेका नीति योजना र उम्मेदवार बोक्नु पर्दछ । दलीय व्यवस्थामा जे बोक्नु पर्ने हो कार्यकर्ताले त्यही बोक्दा झोले भनेर किन गाली खानुपर्ने ? किन हनुमान भनिनुपर्ने ?
सरकारी जागिर खाएर, पत्रकार, शिक्षक वा वकिलको खोल ओढेर आफ्नो निहित स्वार्थ पूर्तिका लागि चौबीसै घण्टा छानी–छानी नेताको पछि लाग्नेलाई गर्ने गाली एउटा तल्लो तहको निष्ठावान कार्यकर्तालाई गर्नु किमार्थ ठीक होइन ।
एउटा पार्टीका बफादार कार्यकर्ताले पैसा खाएर, चुनावको अघिल्लो दिनको रक्सी र मासुमा मातिएर अर्को पार्टीलाई भोट खसाल्नु हँुदैन । राजनीतिक नियुक्ति र ठेक्कापट्टाको स्वार्थ राखेर रातारात पार्टी परिवर्तन गर्नु हुँदैन ।
राजनीतिक दलको नेतृत्वले गलत नीति लिन्छ वा गलत व्यक्तिलाई टिकट दिन्छ भने त्यो नेताको समस्या हो कार्यकर्ताको होइन । फेरि पनि दलीय प्रणालीमा पार्टीले तय गरेका नीति, योजना दृष्टिकोण र उम्मेदवार बोक्नु बफादार कार्यकर्ताको कर्तव्य हो, जे बोक्नुपर्ने त्यही बोक्दा झोले कहलिन्छ भने झोले नै सही । जय झोले ।